प्रधान सेनापति शर्माद्वारा विभिन्न बाहिनी अड्‍डा र गुल्म निरीक्षण



काठमाडौं ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले मंगलबार दाङको घोराहीस्थित श्री नं.१९ बाहिनी अड्‍डा, बझाङ्ग जिल्लास्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटीको दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।

भ्रमणको क्रममा बाहिनी अड्‍डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षको जानकारी लिनुभएको थियो । उनले नेपाली सेनाले बझाङ जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण समेत गर्नुभएको थियो ।

मध्य कमाण्ड हेडक्वार्टर र पश्चिम कमाण्ड हेडक्वार्टर अन्तर्गतका युनिटहरुको तीन दिने निरीक्षण भ्रमणको क्रममा रहनु भएका प्रधान सेनापति महारथी शर्माले आज बाजुरा जिल्लास्थित श्री दुर्गाभञ्‍जन गुल्मको निरीक्षण भ्रमण र श्री नं. ५ बाहिनी अड्‍डामा संचालन हुने “भू.पू. सैनिक सम्मेलन-२०७८” को उद्‍घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

प्रधान सेनापति महारथी शर्माले भोलि बिहीबार डोटी जिल्लास्थित रुद्रध्वज गणको निरीक्षण भ्रमण र धनगढीस्थित श्री भवानीदल गणमा संचालन हुने “भू.पू. सैनिक सम्मेलन-२०७८” मा सहभागी हुनुहुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्