‘विद्युतीय राहदानी वितरण सेवालाई थप प्रभावकारी बनाउन जनशक्ति अभाव’



काठमाडौं ।

राहदानी विभागले विद्युतीय राहदानी वितरण सेवालाई प्रभावकारी बनाउन सबै नियोग, जिल्ला प्रशासन, ईलाका प्रशासन र विभागबाट उत्पादन भएका राहदानीको विवरण साप्ताहिक रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ ।

राहदानी विभागले सोमबार काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरी उक्त निर्णय गरेको हो । राहदानी विभागका महानिर्देशक, निर्देशक तथा प्राविधिक कर्मचारीहरू र सम्बन्धित जिल्लाका राहदानी शाखाका कर्मचारीहरूसहित सम्मिलित उक्त बैठकले जिल्ला प्रशासन कार्यालयहरूले आफ्नो बुकिङ आफैंले व्यवस्थापन गर्ने, प्राविधिक सहयोग चाहिएमा राहदानी विभागले उपलब्ध गराउने, बुकिङ फुल भएको अवस्था नगर्ने, यसको प्रत्यक्ष निगरानी प्रमुख जिल्ला अधिकारीले गर्ने साथै बुकिङ कार्यालय समयभित्र मात्र खोल्नेलगायतका निर्णय पनि गरेको छ ।

त्यसै गरी बैठकमा हाल विभिन्न मुलुकहरूमा रोजगारी खुलेको, सन् २०१३ देखि २०१६ सम्म धेरै संख्यामा जारी गरिएको यन्त्रवाचक राहदानीको नवीकरण गर्ने समय भएको, विदेशमा अध्ययनका लागि सहज भएको आदि जस्ता कारणले राहदानीको माग अत्यधिक बढेको र यसको माग केही वर्षसम्म उच्च रहने आंकलन गरिएकोले यथासमयमा यसको व्यवस्थापनका लागि थप कदम चाल्नुपर्ने देखिएको सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा राहदानी विभागका महानिर्देशक श्री डोरनाथ अर्यालले विभागबाट यन्त्रवाचक राहदानीको तुलनामा आवेदकको संख्या दोब्बर गरिएको तर कर्मचारीको अभाव, प्राविधिक उपकरण आदिजस्ता कारणले सोभन्दा बढी विभागबाट ‘लाइभ इनरोलमेन्ट’ गर्न कठिन हुने देखिएकोले यसको विकल्पमा जिल्ला प्रशासन कार्यालयहरूबाट उत्पादन बढाई वितरण प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोविन्दप्रसाद रिजालले भने आवश्यकता अनुसार कर्मचारीहरूको अभाव भएकाले धेरै संख्यामा राहदानीको निवेदन संकलन अर्थात् लाइभ इनरोलमेन्ट हुन कठिन भएको जानकारी दिनुभएको थियो । त्यसै गरी ललितपुरका प्रमुख जिल्ला अधिकारी श्री घनश्याम उपाध्यायले पनि कर्मचारी अभाव सबैभन्दा ठूलो समस्या भएको तर पनि गत हप्तादेखि निवेदनको संख्या दोब्बर गरिएको जानकारी दिनुभएको थियो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि कर्मचारीको कमीले मागअनुसारको सेवा दिन कठिनाई भएको र समय समयमा आउने प्राविधिक समस्यालाई समाधान गर्दै सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्