तराई ठगी खाने भाँडो बन्यो : ओली



काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई विभिन्न बहानामा ठगी खाने भाँडो भएको टिप्पणी गर्नुभएको छ । मंगलबार राजधानीमा अयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने गरेको आरोपसमेत लगाउनुभएको हो ।

अध्यक्ष ओलीले तराई–मधेसमा एमालेविरुद्ध फैलाइएको भ्रम निवारण भएको बताउँदै मधेसको विकासमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै भन्नुभयो– ‘मधेसमा द्वन्द्व उद्योग स्थापना गरिए पनि त्यो सफल हुन पाएन । हुलाकी राजमार्ग र काठमाडौं–मधेस दु्रतमार्ग निर्माणको काम हाम्रै नेतृत्वको सरकारले गरेको हो ।’

तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, बाटोलगायतका विषयमा प्रशस्त काम गरेको दाबी गर्दै भन्नुभयो– ‘जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने एमालेले हो । जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ । ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।’

पछिल्लो समय मधेसका ठूला र प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेका बेला ओलीले अब मधेसको नेतृत्व एमालेले गर्ने दाबी गर्नुभयो । आफ्नो सरकार विस्थापित गरेर बनेको अहिलेको सरकारले विकास निर्माणको काम अघि बढाउन नसकेको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास एमालेले मात्र गर्न सक्ने दाबी गर्नुभयो ।

देशमा काम गर्ने मान्छे नपाएको अवस्थामा युवालाई स्वदेशमै बस्न आग्रह गर्दै उहाँले देश विकासको काममा युवालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने पनि बताउनुभयो । कार्यक्रममा उहाँले परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतसहित फर्किने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्