विगतका तिता कुरा बिर्सन्छौं, त्रुटि सच्याउँछौं : कमल थापा 



काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तिता कुरा बिर्सने र त्रुटि सच्याएर आगामी दिनमा सशक्त रूपमा अघि बढ्ने बताएका छन् । मंगलबार जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने बिचार भएको बताउँदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताए ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खलबलिनेतर्फ चिन्ता व्यक्त गर्दै थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे । राप्रपा नेपाललाई कांग्रेस कम्युनिस्टको विकल्पको रूपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनीति एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाए ।

बैठकमा पार्टीका महामन्त्री त्रय सुशील श्रेष्ठ ,भास्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण ,सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो-आफ्नो  प्रस्तुति दिएका थिए । बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवं केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको थियो । बाँकी जिल्ला अध्यक्षहरूको बैठक चाडै नै गरिने राप्रपा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्