मीन भवन सेवा सदन उद्घाटन, संयुक्त लगानीमा निर्माण सम्पन्न 

सुखमा साथ दिने धेरै हुन्छन्, दुःखमा साथ दिने नै सच्चा सहयोगी हो : मेयर शाक्य 



काठमाडौं । 

संघ, प्रदेश, स्थानीय तह र स्थानीयवासीको संयुक्त लगानीमा सामुदायिक भवन निर्माण भएको छ । काठमाडौँ महानगरपालिका वडा ३१ मीन भवन मार्गमा निर्माण भएको भवन महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायण भण्डारीसहित अधिकारीहरूले उद्घाटन गर्नुभएको हो । १३ आना जग्गाभित्रको करिब ५ आना जमिनमा ३ तले भवन निर्माण भएको छ ।

भवन निर्माणका लागि संघीय संसद् सदस्य प्रकाशमान सिंह, प्रदेश सभा सदस्य गणेश दुलाल, पूर्व संसद् सदस्य राधेश्याम अधिकारी, संविधान सभा सदस्य कल्याणी रिजाल र सावित्री भुसाल, पूर्व संसद् कृष्णा अमात्यले संसद् कार्यक्रमअन्तर्गत सहयोग गर्नुभएको छ । यसै गरी स्थानीय सामाजिक संघ संस्था र व्यक्तिगत रूपमा दाताहरूले चन्दा दिनुभएको छ ।

उद्घाटन कार्यक्रमपछि बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, सुखका बेला धेरै र दुःखका बेला कम व्यक्तिको साथ हुने सामाजिक अवस्थाका विषयमा कुरा गर्दै दुःखमा साथ दिने नै सच्चा सहयोगी भएको उल्लेख गर्नुभयो । ‘किरिया पुत्री भवन दुःख व्यवस्थापनमा साथ दिने ठाउँ हो । यस प्रकारका ठाउँको सञ्चालन र व्यवस्थापनमा संवेदनशील हुनुपर्छ ।’ मेयर शाक्यको भनाइ थियो ।

‘व्यक्ति मरिसकेपछि उसका गुण खोज्न थालिन्छ । यदि कोही गुणी छ । प्रतिभाशाली छ । योग्य छ । क्षमतावान् छ भने यसको क्षमतालाई ऊ जीवितै भएका बेला सम्मान गरौँ । मृत्युपश्चात् गरिने प्रशंसाभन्दा मृत्यु अघि नै गरिएको सम्मान धेरै प्रभावकारी हुन्छ ।’ शाक्यले भन्नुभयो, ‘सामाजिक व्यवस्थापनका लागि गरिने रचनात्मक तथा सिर्जनात्मक कामका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’

त्यस अवसरमा प्रदेश सभा सदस्य गणेश दुलालले, सामुदायिक भवन बहुउपयोगी भएकोले यसको व्यवस्थापन पनि त्यसैबमोजिम गरिने धारणा राख्नुभयो । ‘भवन निर्माणको अवधारणा आउँदा सामाजिक सेवा पहिलो शर्त भएकोले भवनको उपयोग सामाजिक उद्देश्यका लागि गरिनुपर्छ ।’ प्रदेश सभा सदस्य दुलालको भनाइ थियो । त्यस्तै पूर्व संसद् कल्याणी रिजालले, चुनावको प्रतिस्पर्धा भए पनि विकास निर्माण तथा सार्वजनिक महत्त्वका सेवामा सहकार्य हुनुपर्ने बताउनुभयो ।

किरिया बस्नु भनेको संवेदनशील अवस्था हो । यो अवस्था पार लगाउन व्यक्तिगत र सामाजिक सद्भाव आवश्यक हुन्छ । कार्यक्रममा बोल्दै वडाध्यक्ष नारायण भण्डारीले, भवन प्रयोग गर्दा यही संवेदनशीलता अपनाउनु पर्ने बताउनुभयो ।

क्षेत्रगत तथा तहगत सहभागिताबाट उद्घाटन गरिएको भवन क्षेत्रगत र तहगत समन्वयको नमुना हो । कार्यक्रममा सेवा सदनका अध्यक्ष रामकृष्ण थापा मगरले यो सिकाइ प्रवर्धन योग्य भएको धारणा राख्नुभयो । भवनमा आवश्यक पर्ने फर्निचर, भाँडाकुँडा, लत्ताकपडा, ग्याँस, हिटर, चुलो लगायतत करिब १६ लाख रुपैयाँ बराबरका भौतिक सामग्री महानगरले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्