पनौती आट्दै कांग्रेस


काभ्रे । 

चुनाव लक्षित अभियानलाई देशभर तिव्रताका साथ अघि बढाइरहेको नेपाली कांग्रेस ले एमालेको पकड क्षेत्र मानिएको पनौती नगरपालिकामा भित्र पनि शसक्त ढंगले संगठन निर्माण र परिचालन गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनबाट पनौती नगरको नेतृत्व लिने रणनीतिका साथ कांग्रेस ले संगठन विस्तार र परिचालनलाई व्यापकता दिएको छ ।

पनौती नगरसभापति रामशरण भण्डारीले जानकारी दिए अनुसार पनौती नगरको प्रत्येक वडा भित्र घटीमा चार र बढिमा १५ वटा टोल कार्यसमिति गठन गरिएको छ । १४औं अधिवेशन अगावै शत प्रतिशत क्रियाशिल सदस्यता थपेर दुईहजार ६ सय सक्रिय सदस्य पु¥याएको पनौती कांग्रेसले यो चुनावमा शिक्षा, स्वास्थ्य, एकिकृत खानेपानीका साथै नगरपालिका भित्र भएका भ्रष्टाचारको विषयलाई मुल एजेण्डा बनाएर अघि बढ्ने रणनीति अपनाएको छ ।

अघिल्लो निर्वाचनमा १२ वडा मध्य पाच वटा वडामा मात्र नेतृत्व लिन सफल पनौती कांग्रेस ले आन्तरीक एकतामा पनि जोड दिने बताएको छ । अघिल्लो निर्वाचनमा कुल खसेको मत मध्य एमालेका भिम न्यौपानेले १२ हजार २ सय ५७ मतका साथ प्रमुखमा विजयी हुनुभएको थियो । निकटतम प्रतिद्धन्द्धि कांग्रेस का विदुर वञ्जाराले ९ हजार १ सय ९० मत प्राप्त गर्नु भएको थियो । माओवादीले प्रमुखमा १ हजार २ सय ३९ प्राप्त गरेको थियो ।

उपप्रमुखमा पनि एमालेको तर्फबाट गिता वञ्जाराले १२ हजार ९९ मतका साथ विजयी हासिल गर्नु भएको थियो । उपप्रमुखमा काग्रेसको अञ्जु रञ्जितले ९ हजार १ सय २८ मत प्राप्त गर्नु भएको थियो भने माओबादीको जगन्नाथ गिरिले १ हजार ७ सय १९ मत पाउनु भएको थियो । गत निर्वाचनमा माओबादीबाट उपप्रमुख भएका गिरि अहिले नेपाली काग्रेसमा प्रवेश गरि सक्रिय हुनु भएको छ ।
अहिले सत्ता गठबन्धन गरिरहेका दलहरुवीच स्थानिय निर्वाचनमा गठबन्धन हुन्छ की हुदैन भन्ने आम चासो भैरहेको बेला पनौती कांग्रेस एक्लै निर्वाचन लडेपनि जित्ने रणनीति बनाउदै अघि बढिरहेको छ । स्थानिय निर्वाचनमा गठबन्धन र तालमेल हुन्छ की हुदैन भन्ने जिज्ञासामा नगर सभापति भण्डारी भन्नुहुन्छ– यो विषयमा केन्द्रिय निर्णय बमोजिम अघि बढ्छौं ।

सत्ताधारी दल वी केन्द्रिय तहबाटै गठबन्धन भएन र आवश्यक्ता अनुसार स्थानियतहलाई नै तालमेल र गठबन्धन गर्ने अधिकार दिए पछि छलफल गरेर निर्णयमा पुग्ने उहा बताउनु हुन्छ ।अघिल्लो मत परिणामलाई हेर्ने हो भने पनौतीमा एमाले अहिले पनि बलियो नै देखिन्छ । अघिल्लो मतदाताको संख्यामा करिब १० प्रतिशत मतदाता बढेको अनुमान छ । जिल्ला निर्वाचन आयोगले मतदाताको अन्तिम सुची सार्वजनीक गरिसकेको छैन । अघिल्लो मत परिणाम अनुसार पनौती नगरपालिका वडा नं १, २ र ३ मा एमाले बलियो देखिएको छ । वडा नं ४ का वडा अध्यक्ष वुद्धसिह थापा अहिले माधवकुमार नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीमा गएको र यो वडामा माओबादीको पनि निर्णयक मत भएकोले एमालेलाई गा¥हो देखिन्छ । अघिल्लो पटक यो वडामा माओबादीका नरेन्द्र वस्नेतले ३ सय ११ मत ल्याउनु भएको थियो । पनौतीको वडा नं ५ मा अघिल्लो पटक १ सय ६२ मत अन्तरले विजयी हासिल गरेको एमालेलाई अहिले सहज छैन । यो वडामा पनि माओबादीको राम्रो उपस्थिति रहेको छ भने कांग्रेस ले पनि आफ्नो संगठनलाई थप मजवुत बनाएको छ ।

पनौती वडा नं ६ मा अघिल्लो पटक कांग्रेसका श्रीधर सापकोटाले एमालेका उमेद्वार भिम प्रसाद आचार्यलाई १ सय १६ मत अन्तरले पराजित गरेको भए पनि अहिले यो वडामा स्वतन्त्र उमेद्वार बनेर १ सय १६ मत प्राप्त गर्ने कुमार बोगटी एमालेमा गएकोले काग्रेसलाई गा¥हो छ । यो वडामा माओबादीका कमल सापकोटाले १ सय ७५ मत प्राप्त गर्नुभएको छ । यो वडाका काग्रेसका सक्रिय नेता रामकुमार बस्नेत पार्टीभित्र असन्तुष्टि राख्दै हिडेकोले पनि काग्रेसलाई यो वडामा नेतृत्व जोगाउन हम्यहम्य पर्ने देखिन्छ । पनौतीको बजार क्षेत्रभित्र पर्ने वडा नम्बर ७ मा ५४ मत अन्तरले मात्र जितेको काग्रेसलाई यो वडा जोगाउन पनि गा-हो छ । काग्रेस एमाले बाहेक अन्य दलले एकसय मत पनि नल्याएको यो वडामा एमाले अघिल्लो परिणाम उल्टाउने रणनीतिमा छ ।

पनौतीको वडा नं ८ पनि अहिले एमाले बलियो देखिएको छ । कांग्रेस ले जितेको यो वडामा तेस्रो धेरै मत ल्याउने राप्रपाका राजेन्द्र केसी एमालेमा प्रवेश गरि सक्रिय छन् । अघिल्लो निर्वाचनमा यो वडामा कांग्रेस का केशव वञ्जाराले ६ सय ६ मत ल्याउनु भएको थियो भने एमालेका वेदप्रसाद वञ्जाराले ५ सय ५८ मत ल्याउनु भएको थियो । तत्कालिन अवस्थामा राप्रपाको तर्फबाट राजेन्द्र केसीले ४ सय ४२ मत प्राप्त गर्नु भएको थियो । वडा नम्बर ९ काग्रेसलाई अहिले पनि सहज देखिन्छ । ७ सय ४६ मतको विरुद्ध १ हजार १ सय ८१ मत ल्याएर वियी प्राप्त गरेको कांग्रेसले यो वडामा प्रतिस्पर्धी खासै देखेको छैन । गत निर्वाचनमा अन्य दलको सयमत भन्दा कम मात्र ल्याएका थिए ।

अघिल्लो मत परिनाम हेर्ने हो भने पनौतीको वडा नं १० काग्रेसको लागि चुनौती छ । यो वडामा काग्रेसका मोहन भण्डारीले १ हजार २७ मत प्राप्त गर्नु भएको थियो भने एमालेका दिवाकर प्रजापतिले ९ सय १९ मत प्राप्त गर्नु भएको थियो । माओबादीका ज्ञानवहादुर लामाले १ सय ७५ मत प्राप्त गरेको यो वडा जित्न एमाले सक्रियतापुर्वक लागेको छ । थोरै मत अन्तरले विजयी हासिल गरेको वडा नम्बर ११ पनि काग्रेसको लागि चुनौती छ । काग्रेसको ५ सय १७ मतका विरुद्ध १ हजार १ सय १८ मतका साथ विजयी भएका वडा नं १२ मा अन्य दलको सयमत पनि कटेको देखिदैन । प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईको यो वडामा एमाले फुटेर एकिकृत समाजवादी बलियो बन्दै गएको फाइदा उठाउने दाउमा काग्रेस रहेको पाहिन्छ ।

अघिल्लो निर्वाचनको मत परिणाम

प्रमुख एमाले १२२५७
कांग्रेस ९१९०
माओवादी १२३९

उपप्रमुख एमाले १२०९९
कांग्रेस ९१२८
माओबादी १७१९
वडा नं १ एमाले १४१९
कांग्रेस १०२४
वडा नं २ एमाले ९८७
कांग्रेस ६३४
वडा नं ३ एमाले १४२५
कांग्रेस ४९६

वडा नं ४ एमाले ९९४
कांग्रेस ९६५
माओबादी ३११

वडा नं ५ एमाले ७९५
कांग्रेस ६३३
माओबादी २३६

वडा नं ६ कांग्रेस ४६७
एमाले ३५१
माओवादी १७५
स्वतन्त्र ११६
वडा नं ७ कांग्रेस १२५२
एमाले ११९८

वडा नं ८ कांग्रेस ६०६
एमाले ५८८
राप्रपा ४४२

वडा नं ९ कांग्रेस ११८१
एमाले ७४६

वडा नं १० कांग्रेस १०२७
एमाले ९१९
माओवादी १७५

वडा नं ११ कांग्रेस ७९४
एमाले ७११

वडा नं १२ एमाले १११८
कांग्रेस ५१७