पर्सामा चुनावी सरगर्मी बढ्यो



वीरगन्ज ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकिएसँगै पर्सामा पनि दलहरु तीव्र तयारीमा जुटेका छन् । १४ वटा पालिका रहेको पर्सा जिल्लामा बहालवाला जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले चुनावी अभियान शुुरु गरिसकेका छन् ।

स्थानीय तहको निर्वाचनलाइ लक्षित गरी दिनहुँ राजनीतिक दलहरुको पार्टी प्रवेश कार्यक्रम गरिरहेका छन् । स्थानीय तहमा उम्मेदवारी दिने कतिपयले आफ्नो उम्मेदवारी घोषणा नै गरिसकेका छन् । यसअघि निर्वाचित अधिकांश बहालवाला जनप्रतिनिधिले फेरि पनि चुनाव लड्ने मनशाय बनाएका छन् । स्थानीय तहको चुनाव आउन करिब ८ हप्ता बाँकी रहँदा कतिपय बहालवाला जनप्रतिनिधिले फेरि पनि चुनाव लड्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् । उनीहरुले आफूले पहिला गरेको वाचाअनुसार काम गरेको दाबी गर्दै फेरि आगामी चुनाव लड्ने घोषणा गरिरहेका हुन् ।

१४ वटा पालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षले फेरि पनि त्यही पदमा दोहोर्याउने गरी उम्मेदवारी घोषणा गरिरहेका छन् । एक हप्ताअघि मात्र जसपा छाडेर एमाले प्रवेश गर्नुभएका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी फेरि पनि त्यही पदमा चुनाव लड्ने मनशायमा हुनुहुन्छ ।

यस्तै, लोसपा छाडेर एमालेमा प्रवेश गर्ने घोषणा गरेर अब जसपामा प्रवेश गर्ने तयारीमा रहेका राजेशमान सिंहले पनि नगरप्रमुखमा चुनाव लड्ने निश्चित देखिन्छ । वीरगन्ज महानगरको नगरप्रमुखमा कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्ने टुंगो नलागे पनि पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, प्रदेश सरकारका मन्त्री ओमप्रकाश शर्मा, पूर्वजिल्ला सचिव श्याम पटेल, पूर्वसभापति अजय द्विवेदीमध्ये कसलाई उम्मेदवार बनाउने विषयमा कांग्रेसभित्र गृहकार्य भइरहेको छ ।

पर्साको पोखरिया नगरपालिकाको नगर प्रमुखमा लोसपाका नेता निजामुदिन समानीले त विगत एक महिनादेखि नै चुनावी घरदैलो अभियान गरिरहनुभएको छ । बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा कांग्रेसबाट निर्वाचित नीतेन्द्र साहले फेरि त्यही पदमा चुनाव लड्ने बताउँदै आउनुभएको छ । तर, कांग्रेसबाट युवा नेता राकेश यादवले पनि नगरप्रमुखमा आफ्नो दाबेदारी रहेको भन्दै घरदैलो कार्यक्रम गर्दै आउनुभएको छ ।

लोसपा छाडेर एमालेमा प्रवेश गरेका शिव पटेल पनि बहुदरमाई नगरपालिकाको नगरप्रमुखमा चुनाव लड्ने गरी तयारी गरिरहनुभएको छ । यस्तै, समावेशी प्रतिनिधि झल्काउने गरी निर्वाचित भएका कतिपय जनप्रतिनिधिमा आगामी चुनावमा फेरि पनि प्रतिस्पर्धा गर्ने उत्कट चाहना देखिनछ । महिलाको उपस्थितिलाई अरूले स्वीकार्न नचाहेको भए पनि उनीहरुमा स्थानीय तहको प्रमुख भएर काम गर्न सक्ने आत्मविश्वास भने पलाएको छ ।

पर्साको पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले उपप्रमुख भएर काम गर्दा धेरै विषयमा जानकारी भइसकेकाले अब भने नगरप्रमुखमा आफ्रनो दाबी रहने बताउनुभएको छ् । जनता समाजवादी पार्टीबाट चुनाव जित्न सफल खातुनले आगामी चुनावमा पनि सफलता पाउने दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्