कोरिया जान आन्दोलन : छनोट प्रक्रिया नै गलत भएको आरोप



इलाम ।

इलामको फाकफोकथुम गाउँपालिकाबाट दक्षिण कोरियामा मौसमी कामदार लैजाने विषयमा विवाद भएको छ । कामदार छनोट प्रक्रिया नै गलत भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले आपत्ति जनाएपछि विवाद भएको हो ।

छनोटमा परेका व्यक्तिहरुको नामावली नै प्रकाशन नगरी चैत ३ र ४ गते पालिकाले केही व्यक्तिलाई मेडिकल गर्न गोप्य रूपमा झापाको विर्तामोड पठाउन थालेपछि आन्दोलन गर्न बाध्य भएको हाङ्सरुम्बा थेगिमले बताउनुभयो । गत पुस २४ गते पालिका र दक्षिण कोरियाको इन्जे काउन्टी र मौसमी ट्रेनीसँग कामदार लैजाने सम्झौता भएको थियो ।

सम्झौतापश्चात् फागुन १६ गतेदेखि २६ गतेसम्म योग्यता पुगेका इच्छुक ३० देखि ४५ वर्षसम्मका नागरिकलाई दरखास्त आह्वानका लागि पालिकाले सूचना प्रकाशन गरेको थियो । आवश्यक प्रक्रिया पूरा नगरी छनोट गरेको जनाउँदै असन्तुष्ट पक्षले विज्ञप्ति जारी गरेर आन्दोलनमा उत्रिएका हुन् ।

पालिकाले मनोमानी ढंगबाट निवेदन लिँदै मेडिकल रिपोर्ट बनाउन आफ्ना मान्छे मात्रै बोलाएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । निष्पक्ष र पारदर्शी ढंगले योग्य उम्मेदवार छान्नुपर्ने माग राख्दै पुनः छनोट प्रक्रिया अघि बढाउन र यसभन्दा पहिले गरिएको कार्य खारेज गर्न विज्ञप्तिमा भनिएको छ ।

स्थानीय दुई दर्जन बढी युवाले हस्ताक्षर गरेको विज्ञप्ति पालिका कार्यालयमा बुझाएका थिए । असन्तुष्ट पक्षले शुक्रबार गाउँपालिकाको केन्द्र आमचोकको प्रशासनिक कार्यालयमा धर्ना, नाराबाजी गरेको थियो ।

पालिकामा ताला लगाउनेसम्म कार्यक्रम बनाएपछि कामदारको मेडिकल लगायत अन्य कार्य स्थगित गरेको र सोमबार कार्यपालिकाको बैठक बसेर समाधान निकाल्ने पालिकाले जनाएको छ । पालिका उपाध्यक्ष सरस्वती राई, प्रमुख प्रशासकीय अधिकृत शिवनाथ यादव र ५ नम्बर वडाका अध्यक्ष हरिप्रसाद दंगालीले सहमतिपत्रमा हस्ताक्षर गरेपछि सोमबारसम्मका लागि आन्दोलन रोकिएको हाङ्सरुम्बाले जनाउनुभएको छ । ६ महिनाका लागि काम गर्न पहिलोपटक १ सय ५ जनालाई कोरिया पठाइन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्