मुम्बईमा ओटीएम ट्राभल मार्ट सम्पन्न



काठमाडौं (नेस) ।

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजना गरिएको ‘आउट वाउन्ड ट्राभल मार्ट’मा सहभागिता जनाएको छ । फागुन ३० देखि चैत्र २ गतेसम्म मुम्बईको बोम्बे एक्जिवेसन सेन्टरमा आयोजित सो कार्यक्रममा नेपालबाट बोर्ड र नेपालका विभिन्न १७ वटा पर्यटनसँग सम्बन्धित निजी संस्थाको सहभागिता रहको थियो ।

सो मार्टमा नेपालसहित मार्टमा २० देशबाट ६ सयभन्दा बढी प्रर्दशक तथा भारतको २९ भन्दा बढी राज्य र सात विभिन्न क्षेत्रबाट पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा माल्दिभ्सका पर्यटन मन्त्री अबदुल्लाह मौसुम, तमिलनाडुका पर्यटन मन्त्री डा.एम.माथिभेन्थन माल्दिभ्सको पर्यटन बजार तथा जनसम्पर्क कर्पोरेसनका प्रबन्ध निर्देशक तोयिब मोहम्मदलगायत विभिन्न देशका सरकारी तथा निजी क्षेत्रका अधिकारीहरूले नेपाली प्याभिलियनको निरीक्षणसमेत गर्नुभएको थियो ।

सो अवसरमा उनीहरूले कोभिडपछिको नेपालको पर्यटनका अवस्था र भइरहेका क्रियाकलापबारेमा जिज्ञासा राख्नुभएको कार्यक्रममा सहभागी नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिनुभयो ।

यस्तै, नेपाल प्याभिलियन भ्रमण गर्ने अन्य सहभागीबाट आएका जिज्ञासासहित नेपालले कोभिडपछि नेपाल करिब पूर्णरूपमा खुला भइसकेको, नेपाल भारत तथा अन्य देशहरूबाट समेत नियमित उडानहरू शुरू भएको र नेपाल पर्यटनको नियमित गन्तव्यबाहेक वेडिङ डेस्टिनेसन, फिल्म छायांङ्कन तथा अन्य माइस पर्यटनका लागि उत्कृष्ट गन्तव्य रहेको कुरा सो अवसरमा जानकारी गराएको थियो ।

भारत नेपालको महत्वपूर्ण पर्यटन स्रोत बजार रहनुका साथै स्थल मार्ग तथा हवाई मार्गबाट नेपाल भ्रमणका लागि थप सहजता बन्दै गएको सो अवसरमा जानकारी गराइएको थियो ।

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भारतका विभिन्न सहरहरूमा सीधा उडान शुरू गरेको सन्र्दभमा नेपाल भारतबीचको पर्यटन प्रर्वद्धनमा थप सहजता थपिने विश्वास गरिएको छ । कार्यक्रमका अवसरमा नेपाल पर्यटन बोर्डलाई डिजाइन एन्ड डेकोरेसन अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्