एनआरएनए विभाजनतर्फ उन्मुख गराएको जनसम्पर्क समितिको आरोप



काठमाडौं ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिका सभापतिहरूको बैठकले कुमार पन्तले नेतृत्व गरेको एनआरएनएको वर्तमान समितिले संस्थालाई विभाजनतर्फ उन्मुख गराएको ठहर गरेको छ । गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्न बैठकले प्रतिनिधि विवादका कारण सिर्जना भएको एनआरएनएको आन्तरिक विषयमा सम्भावित विभाजन रोक्न र लोकतान्त्रिक विचार पक्षधर सबैलाई एक ठाउँमा उभिन अनुरोध पनि गरेको छ ।

छलफलमा विभिन्न २० मुलुकका सभापतिको सहभागिता रहेका थियो । छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ – ‘गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनको केन्द्रीय प्रतिनिधि छनौट विवादले निम्त्याएको असहज परिस्थितिलाई बेवास्ता गर्दै एनआरएनएको वर्तमान नेतृत्वले एकतर्फी निर्वाचनको घोषणा गर्दै संस्थालाई विभाजनतर्फ उन्मुख गराएकोप्रति हामीहरूको गम्भीर ध्यानाकर्षण भएको छ । हामी यसखाले गतिविधिप्रति तीव्र विमति जनाउँदै सबै पक्षलाई मिलाएर निर्वाचन गर्न र संस्थालाई विभाजनबाट रोक्न सम्बन्धित सबै पक्षलाई जोडदार अनुरोध गर्दछौं ।’

बैठकमा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य आनन्द विष्ट, ओमानका सभापति शालिकराम चापागार्इं, क्यानडाका सभापति बुद्धिप्रकाश ओली, साउदी अरबका सभापति अर्जुन थापा, यूएईका सभापति भुवानीप्रसाद तिमिल्सिना, कतारका सभापति अजिज अली सहभागी थिए । यसै गरी कुवेतका सभापति राजेन्द्र रसाइली बिरही, इजरायलकी सभापति दिपीका भुसाल, बेल्जियमका सभापति पूर्ण तिमिल्सिना, फ्रान्सका कार्यवाहक सभापति इन्द्र बस्नेत, अस्ट्रियाका सभापति जीवनजंग कुँवर, कोरियाका सभापति भजेन्द्र क्षेत्री, जर्मनीका सभापति शिखर खड्का, जापानका सभापति रोशन केसी, माल्टाका सभापति सन्देश केसी, नेदरल्यान्डका सभापति शालिक गौतम, अस्ट्रेलियाका उपसभापति दिलीप पोखरेल, नर्वेका सभापति जितेन्द्र शाही र साइप्रसकी सभापति सीता अर्याललगायत सहभागी थिए ।

गैरराजनीतिक छवि बनाएको गैरआवासीय नेपाली संघलाई जबर्जस्ती एमालेकरण गर्न खोजिएपछि विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरू एकजुट भएका छन् । संस्थालाई राजनीतिक प्रभाव नपार्न प्रयत्न गरिए पनि एमालेकरण गर्न खोजिएपछि प्रतिवादमा उत्रिनु परेको उनीहरूको ठहर छ । राजनीतिक आस्थाका आधारमा विधानविपरीत काम भएको र त्यसलाई रोक्न र संस्थाको मर्यादा र गरिमा बचाउन सबै एकजुट हुनुपर्ने जनसम्पर्क समितिको निष्कर्ष छ । विश्वका २२ जनसम्पर्क समितिका सभापतिहरूले भनेका छन्– ‘प्रमुख संरक्षक घलेले विधानबमोजिम बोलाएको महाधिवेशन सफल पारौं, संघलाई विवादमुक्त बनाऔं ।’

प्रतिक्रिया दिनुहोस्