गुल्मी अस्पतालले फर्कायो घर्तीको खुट्टा



गुल्मी ।

गुल्मी जिल्ला सदरमुकाम तम्घास आर्थिक अभावमा उपचार नपाएर छटपटाइरहेका एक युवाको उपचार भएको छ । एक्कासि खुट्टामा घाउ भई आर्थिक अभावमा उपचारमा नपाएका इस्मा गाउँपालिका–५ का टोपबहादुर घर्तीको जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा गुल्मी अस्पतालले निःशुल्क उपचार गरेको हो ।

जिल्ला सदरमुकाम तम्घासमा ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका घर्ती एक्कासि खुट्टामा घाउ भई आर्थिक अभावमा उपचार पाएका थिएनन् । उनलाई सहारा दिने घरमा कोही नभएकाले पनि उपचारमा समस्या भएको थियो । काम गरेर खाने उमेरमा २६ वर्षीय घर्तीका त्यो घाउले निकै चिन्ता थपिएको थियो ।

दैनिक ज्याला मजदुरी नगरेसम्म बिहान बेलुकी खर्च चलाउँदै आएका थिए । घर्तीको एक्कासि जुत्ताले खुट्टामा सानो घाउ बनाएको थियो । त्यही घाउले पछि ठूलो रूप ल्याएको हो । सानो घाउमा धूलो सिमेन्टका कर्णहरु पस्दै गएपछि घाउले ठूलो रुप लिएको उनको कथन छ । ‘खुट्टा सुनिँदै गयो’, घर्ती भन्नुहुन्छ– ‘घाउ पाक्दै जाँदा मासु खस्दै जान थाल्यो, डर लागेर अस्पताल आएँ । उपचार गराउने पैसा नहुँदा समस्या भएको थियो ।’

उपचार गर्न गुल्मी अस्पताल आएका उनको सकेसम्म अन्यत्र उपचार गर्न पठइए पनि आर्थिक अभावले सम्भव भएन । त्यसलगत्तै यहाँका महिला अधिकारकर्मी तारा पौडेल, जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गुल्मी अस्पताका सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चालाई जसरी हुन्छ उपचार गर्नुस् भनेर आग्रह गरेका थिए । त्यसलगत्तै गुल्मी अस्पतालको टिमले घर्तीको झण्डै ३ महिनासम्म उपचार गरे । घाउ निको हुँदै गयो । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका उनी ७५ दिनपछि गुल्मी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आर्थिक अभावले उपचार पर्खिरहेका घर्ती निःशुल्क उपचार पाएपछि पुनर्जीवन पाएको महसुस गरेको बताउनुहुन्छ । ‘अब काम गरेर खान सक्ने भएको छु’, उहाँको भन्नुहुन्छ– ‘यो अवस्थामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद छ ।’घर्तीको घाउ चुनौतिपूर्ण भए पनि गुल्मी अस्पतालका सम्पूर्ण टिमका कारण उपचार सफल भएको मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चाले बताउनुभयो । घाउको प्रकृति हेर्दा खुट्टा नै काट्नुपर्ने अवस्थामा पुग्न थालिसकेको उहाँको भनाइ छ ।

त्यस्तै, पीडित घर्तीलाई अस्पतालसम्म ल्याई सहयोग तथा दैनिक खटिएर उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले धन्यवाद दिनुभएको छ । विपन्न, तथा आर्थिक अवस्था कमजोर भएकै कारण उपचार नपाई छटपटाएर हिँड्न नपरोस् भनेर राज्यको तर्फबाट पहलकदमी लिएको उहाँको कथन छ । घर्तीको उपचारपश्चात् महिला अधिकारकर्मी, सरकारी तथा राज्यले पनि नागरिकको दुःखमा साहारा दिन्छन् भन्ने गतिलो उदाहरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्