आफैँसँग आफ्नो परिचय

0
Shares

  • प्रेम रावत

जीवनमा सबैभन्दा ठूलो कुरा ‘चिन्नु’ हो । आपूmले आफैँलाई चिन्नु ! तपाईं आफ्ना छेउछाउका धेरैलाई त चिन्नुहुन्छ । तर, के तपाईंले कहिल्यै आफूले आफूलाई पनि चिन्ने कोशिश गर्नुभएको छ ? तपाईंले आफैले आफूलाई नचिनेसम्म तपाईंको जीवन सफल हुँदैन ।

तपाईंभित्र यो श्वास आइरहेको छ र गइरहेको छ । यो तिनै सृष्टिकर्ताले तपाईंमाथि गरेको कृपा हो । यदि तपाईंले यस कृपालाई बुझ्न सक्नुभयो, पहिचान गर्न सक्नुभयो भने तपाईंका लागि यो महत्त्वपूर्ण कुरा हुन्छ । यसै सन्दर्भमा एउटा कथा छ ।

एकजना मानिस थिए । उनले ढुङ्गा फुटाउने काम गर्दथे । उनी हरेक दिन पहाडमा जान्थे । एउटा ठूलो ढुङ्गालाई फुटाउँथे । त्यसबाट स–साना मूर्ति र विभिन्न थरीका चीजहरू बनाएर बजारमा बेच्दथे । त्यसबाट नै उनले आफ्नो घर चलाउँथे । एकदिन उनले पहाडमा ढुङ्गा फुटाउँदै गर्दा सोचे– ‘मेरो जीवन कस्तो बेकामको रहेछ ! मैले कहिलेसम्म यस्तो गर्नुपर्ने होला ! यस्तो तरिकाबाट त मेरो उन्नति कहिले हुन्छ होला र !’

एक दिन उनी कतै जाँदै थिए । उनी निकै धनी मानिसको घरअगाडिबाट गइरहेका थिए । त्यो एकदमै भव्य महल थियो । त्यहाँ ठूलो भोजको कार्यक्रम भइरहेको पनि उनले देखे । धेरैजना पाहुनाहरूको जमघट थियो । गीत घन्किरहेको थियो । उनी मनमनै सोच्दै सृष्टिकर्तासँग प्रार्थना गर्न लागे– ‘यदि म पनि यस्तो धनी भइदिएको भए !’

भगवान्ले तुरुन्तै उनको इच्छालाई पूरा गरिदिए । त्यसपछि उनी धनी भए । अब उनीसँग प्रशस्त धन–सम्पत्ति र नोकरचाकरहरू पनि भए । ठूला–ठूला मानिसहरू उनलाई भेट्न आउन थाले । सबैजनाले उनको आदेश मान्न थाले । उनी त्यस शहरको सबैभन्दा धनी र शक्तिशाली मानिस भए । अब उनी धेरै खुसी थिए ।

भोलिपल्टदेखि नै मानिसहरू आ–आफ्ना समस्याहरू लिएर उनीकहाँ आउन लागे । उनलाई चिन्ता लाग्न थालेको थियो । यत्तिकैमा एकदिन सडकमा हल्ला भइरहेको थियो । उनले त्यहाँ गएर हेर्दा राजाको गाडी गइरहेको थियो । सबैजनाले राजालाई नमस्कार गरिरहेका थिए । उनले सोचे, ‘राजालाई त मभन्दा पनि बढ्ता इज्जत गर्दा रहेछन् । राजा त मभन्दा पनि बढी शक्तिशाली रहेछन् ! त्यसपछि उनले भगवान्सँग प्रार्थना गरे, ‘यदि म राजा हुन पाएको भए !’

त्यस दिन पनि उनको इच्छा पूरा भयो । उनी राजा बने । अब राजा भएपछि त मानिसहरू उनका दायाँ–बायाँ सेवा–टहल गर्न लागे । उनी जहाँ गए पनि मानिसहरूले उनलाई नमस्कार गर्दथे । यस्तो हुँदाहुँदै दिन बित्दै गए । एकदिन सेनापतिले आएर भने, ‘महाराज अर्को राज्यको राजाले हाम्रो राज्यमा लडाइँ गर्न तयारी गरिरहेको खबर छ ।’ उनले सोचे, ‘ओहो ! राजा त बनेँ तर केही फाइदा भएन । यो त झन् झन्झट पो हुने रहेछ !’

एकदिन उनी बिहानै छतमा बसेर माथितिर हेरिरहेका थिए । यसो आकाशतिर हेरे । चम्किरहेको सूर्यतिर आँखा गयो । उनले सोचे, ‘सूर्य त चम्किरहेको छ । सबैलाई उज्यालो छरिरहेको छ । सूर्यलाई त कुनै समस्या पनि छैन । त्यो पो शक्तिशाली रहेछ ।’ उनले प्रार्थना गरे, ‘म पनि सूर्य हुन पाएको भए कति रमाइलो हुन्थ्यो !’
त्यस दिन पनि उनको इच्छा पूरा भयो । अब उनी सूर्य भएर चम्किन थाले ।

एकदिन उनी आकाशमा चम्किरहेका थिए । त्यसै बेला सूर्य र पृथ्वीको बीचमा बादल आइपुग्यो । बादल भएको ठाउँमा छाया पर्न थाल्यो ।
त्यसपछि उनलाई लाग्यो, ‘बादल त सूर्यभन्दा पनि बलवान् हुँदो रहेछ ! यसले त सूर्यको प्रकाशलाई पनि छेक्न सक्ने रहेछ ।’ उनले प्रार्थना गरे, ‘हे ! सृष्टिकर्ता ! मलाई बादलजस्तै बलवान् बनाइदिनुहोस् !’

उनको यो इच्छा पनि पूरा भयो । उनी बादल बने । बादल बनेपछि कहिले वर्षा गराउने, कहिले सूर्यको प्रकाशलाई छेक्ने गर्न थाले । यस्तो गर्दागर्दै उनलाई लाग्यो, ‘म निकै बलवान् भएको छु ! म त सूर्यलाई पनि छेक्न सक्छु ।’ उनी आफू बलवान् भएकोमा असाध्यै खुशी भइरहेका थिए ।
त्यही बेला उनलाई कसैले चलाइरहेको अनुभूति भयो । उनले सोचे, ‘हैन, म बादललाई चलाउने हिम्मत कसले गर्यो ? म त सबैभन्दा शक्तिशाली छु ! म त सूर्य, राजा र धनी मानिसभन्दा पनि शक्तिशाली छु । अनि, कुनचाहिँ यस्तो चीजले म बादललाई पनि चलाइरहेको छ ?’

हावाले आफूलाई चलाइरहेको कुरा उनलाई थाहा भयो । त्यसपछि उनले सोचे, ‘हावा त बादलभन्दा पनि बलवान् रहेछ । उनले फेरि प्रार्थना गरे, ‘ओहो म हावा हुन पाएको भए !’
तुरुन्तै उनी हावा भए । अब उनी सबै ठाउँमा जान थाले । रम्न थाले । उनलाई निकै रमाइलो लाग्न थाल्यो । बहँदै–बहँदै उनी एकदिन पहाडमा अचानक ठोक्किएपछि रोक्किए ! उनले जतिसुकै कोशिश गरे पनि चल्न सकेनन् ।
उनलाई लाग्यो, ‘यो को हो ? कसले मलाई रोकिरहेको छ ?’ अगाडि एउटा ठूलो पहाड उभिएको थियो । उनले सोचे, ‘यो पहाड त हावाभन्दा पनि बलवान् छ । ओहो ! बरु म पहाड हुन पाएको भए !’
त्यस दिन पनि उनको इच्छा पूरा भयो र उनी पहाड बने । उनले उठी–उठी केही सोच्न लागे, ‘अबचाहिँ, मभन्दा शक्तिशाली कोही पनि छैन । कसैले पनि मलाई हल्लाउन सक्दैन ।’
एकदिन उनी आफ्नो विचारमा मग्न थिए । त्यसै बेला उनको तलबाट कुत्रुक–कुत्रुक गर्ने एउटा आवाज आयो । उनलाई कसैले काटिरहेको छ भन्ने कुरा महसुस भयो ।
उनले सोचे, ‘मलाई पनि काट्न सक्ने बलवान् को रहेछ ?’

त्यसपछि उनले तलतिर हेर्दा त उनीजस्तै एउटा ढुङ्गा काट्ने मानिसले पहाडलाई फुटाइरहेको देखे । अनि, उनलाई महसुस भयो, आखिर उनी त पहिल्यै सबैभन्दा बलवान् रहेछन् तर उनी को हुन् भनेर आफूले आफूलाई चिन्न सकेनन् ! यदि आफूले आफूलाई चिनेका भए उनले यो सबै झन्झट व्यहोर्नुपर्ने थिएन । त्यस्तै सोचले हामी पीडित हुन्छौँ । सबैभन्दा धेरै शक्ति त हामीभित्रै छ । बाहिरको शक्ति त केही पनि होइन । शक्ति त हामीभित्रै हुनुपर्दछ । शान्ति पनि हामीभित्रै हुनुपर्दछ, बाहिर होइन । तपाईंले त्यसलाई अनुभव नगरेसम्म ‘तपाईं को हुनुहन्छ’ भनेर आफूले आफूलाई पूर्ण तरिकाले चिन्न सक्नुहुन्न ।

यो संसारमा रहेर तपाईँ आफ्नो जीवनमा जे–जे प्राप्त गर्न चाहनुहुन्छ, तिनलाई प्राप्त गर्नुहोस् । तर, तपार्इँको वास्तविक स्वरूपलाई पनि चिन्नुहोस् । तपाईँको वास्तविक स्वरूप तपाईँभन्दा पृथक् छैन । त्यो वास्तविक स्वरूप हो– शान्ति । वास्तवमा जीवनको लक्ष्य नै आनन्द र शान्ति प्राप्त गर्नु हो । हामी जति पनि कार्य गर्दछौँ, शान्तिका लागि नै गर्दछौँ । मानिसहरू घर बनाउँछन् । त्यसको साजसज्जामा लाग्छन्, ताकि सौन्दर्य बढोस् । तर, जीवनलाई सफल तुल्याउने सबैभन्दा पहिलो खुड्किलो हामीभित्रै छ । म जुन शान्तिका बारेमा चर्चा गर्छु, त्यो शान्ति सबैको हृदयभित्र अवस्थित छ । यो सबैका लागि एक समान हुन्छ । शान्तिका लागि आफ्नो हृदयमा लागेको प्यासलाई जुन दिन हामी बुझ्न शुरु गर्छौँ, त्यस दिन शान्तिका लागि हाम्रो खोजको पनि प्रारम्भ हुन्छ ।

जब तपाईँसँग सोधिन्छ, ‘तपाईँ को हुनुहुन्छ ? तपाईँको आफ्नो परिचय दिनुहोस् ।’ तब, कसैले आफ्नो नाम बताउन थाल्छन्, कसैले आफ्नो पद के हो भन्छन् त कसैले अरू कुरा बताउँछन् । तपाईँको वास्तविक परिचयचाहिँ त्यो होइन । के तपाईँले कहिल्यै सोच्नुभएको छ– तपाईँ वास्तवमा को हुनुहुन्छ ? के कहिल्यै तपाईँ स्वयंसँग परिचित हुनुभएको छ ? तपाईँ आफ्नो आँखाले सबैलाई देख्न सक्नुहुन्छ तर आफूले आफैँलाई हेर्नका लागि ऐनाको आवश्यकता पर्दछ ।

तपाईँले ऐनामा हेर्दा के त्यहाँ तपाईँको वास्तविक स्वरूप देखिन्छ ? ऐनामा हेर्दा तपाईँको वास्तविक स्वरूप देखिँदैन, किनकि तपाईँले नकाब (मखुन्डो) लगाउनुभएको छ । सबैभन्दा पहिला आफ्नो मखुन्डोलाई निकाल्नु आवश्यक छ । तपाईँको क्रोध, माया, घमण्ड अनि अज्ञानताको मखुन्डो हटेपछि मात्रै तपाईँले आफ्नो वास्तविक स्वरूपलाई देख्न सक्नुहुनेछ । यो मखुन्डो तब मात्र हट्नेछ जब तपाईँसामु ‘साँचो ज्ञानरूपी दर्पण’ राखिनेछ । यदि नकाब लगाएर तपाईँले ऐनामा हेर्नुभयो भने ऐनामा त्यही नै देखिनेछ । साँचो मानवता तब देखिनेछ जब नकाब हट्नेछ । मखुन्डोलाई निकालेर वास्तविक ज्ञानको ऐनामा हेर्नुभएपछि मात्र तपाईँलाई ज्ञात हुनेछ– यो संसारका सृष्टिकर्ता तपाईँकै हृदयमा विराजमान छन् ।

सबैभन्दा ठूलो खोज त आफूभित्रको वास्तविक स्वरूपलाई चिन्नु हो । कोही हामीसँगै हरेक क्षण हुन्छन् भन्ने कुरालाई बुझ्नु हो । भलै हाम्रो यो शरीर उमेरअनुसार बदलिँदै जान्छ तर त्यो कहिल्यै पनि बदलिँदैन । यदि जीवनमा यो कुरालाई बुझ्नुभएन भने पनि निःसन्देह यो जीवन त बित्नेछ । तर, सृष्टिकर्ताले तपाईँलाई जुन अनमोल उपहार दिएका छन्, त्यसबाट वञ्चित रहनुहुनेछ । तपाईँलाई त्यसको सबैभन्दा बढी आवश्यकता रहन्छ । तसर्थ, के आवश्यक छ भने हामी आफूभित्र भएको शान्तिको अनुभव गरौँ अनि आफ्नो आत्मविश्वासलाई अझैँ दृढ बनाऔँ । तपाईँले स्वयंलाई चिन्नुभएपछि आफ्नो वास्तविक स्वरूपलाई पनि पहिचान गर्नुहुनेछ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)