अनुगमन नहुँदा वृद्धाभत्ताको दुरुपयोग



पोखरा, (नेस) ।

नेपाल सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई प्रदान गर्ने वृद्ध भत्ता तथा नागरिक स्वास्थ्य बीमामा दुरुपयोग बढेको छ । पोखरामा आयोजित जेष्ठ नागरिकको अधिकार कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले यस्तो बताएका हुन् ।

मानव अधिकार आयोगमा वृद्धवृद्धासम्बन्धी काम गर्दै आइरहनुभएको फोकल पर्सन कल्पना आचार्यले जेष्ठ नागरिक बारे गरिएको अध्ययन अनुसन्धानले वृद्ध भत्ताका कारण वृद्धवृद्धामाथि दुव्र्यवहार भएको र बढ्दो शहरीकरणका कारण ग्रामीण भेगमा पानीसमेत तताएर खान नसक्ने अवस्था रहेको सुनाउनुभयो । ‘हामीले गण्डकीका चार जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा अनुगमन तथा अनुसन्धान गरेका थियौं । जेष्ठ नागरिकका अधिकारहरुको कार्यान्वयन कहीं पनि भएको भेटेनौं । जति पनि नीति योजना बनेका छन् ती सबै शहर केन्द्रित मात्रै भेट्यौं’ उहाँले भन्नुभयो– ‘कास्कीकै स्थानीय तहलाई नै ज्येष्ठ नागरिकको अधिकारबारे कुनै जानकारी नभएको देखियो ।’

जेष्ठ नागरिकले पाउने सुविधाका बारेमा निःस्वार्थ भावनाले अनुगमन गर्ने निकाय आवश्यक रहेको ज्येष्ठ नागरिक समाजका अध्यक्ष गुमानसिंह कार्कीले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकका लागि दिवा सेवा, आश्रम तथा मञ्चहरुको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको थियो । ज्येष्ठ नागरिकले यातायातमा पाउनुपर्ने छुट पाइरहेका छैनन् ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सामाजिक सुरक्षा भत्ताका लागि ज्येष्ठ नागरिकको वर्गीकरण गर्न आवश्यक रहेको बताउनुभयो । ‘हामीले लगाउने जनैदेखि मन्दिरमा बाल्ने दियो बालने बत्तीसमेत छिमेकी मुलुकबाट किन्छौँ । ज्येष्ठ नागरिकलाई जो काम गर्न सक्छन् तिनीहरुलाई बत्ती बनाउने, जनै बनाउने काममा प्रयोग गरौं । आम्दानी पनि हुने दिन पनि कट्ने ।’

बढ्दो आधुनिकीकरणले संस्कृतिमाथि ठूलो ह्रास आइरहेको जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर क्षेत्री बताउनुहुन्छ । ‘जसले हामीलाई दुःख गरेर पढाएर योग्य बनाए उनीहरुका लागि अब राज्यले नै प्रत्येकका तलबको २० प्रतिशत आमाबुबाका लागि छुट्याइदिने व्यवस्था गर्ने हो भनेदेखि अरु केहि गर्नै पर्दैन ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्