अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी पक्राउ



बैतडी, (नेस) ।

बैतडीमा अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई प्रशरीले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अस्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुख्खा फलफूल विकास केन्द्रको डाँडाबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

उनले कानुनविपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौडी क्षेत्रमा प्याराग्लाइडिङ गरेका थिए । प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकोले नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो । ‘नियन्त्रणमा रहेका उनले पोखराबाट बसमा आएको भनेर भनेका छन्, बसमा आएको टिकट छैन्, पासपोर्ट पनि पोखरामै छ भनेका छन् ।’ –उहाँले भन्नुभयो ।

नियन्त्रणमा लिइएको जेल्नरसँग अस्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको भए पनि नेपालका लागि अनुमति नरहेको भारतीको भनाइ छ । मार्च ३० सम्म नेपालमा रहने पर्यटक भिसा रहेका उनलाई आवश्यक कारबाहीका लागि नागरिक उडड्यन कार्यालय धनगढी पठाइएको छ । प्याराग्लाइडिङ पर्यटन मन्त्रालय नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनबाट अुनमति लिनुपर्ने हुन्छ । अनुमतिबिना प्याराग्लाइडिङ गरेमा २५ हजारसम्म जरिवाना हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्