विश्वविद्यालयमा हड्ताल बन्द गर्नुस् : मन्त्री पौडेल



काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हड्ताल गर्ने काम बन्द गर्न प्राध्यापकहरूलाई आग्रह गर्नुभएको छ । नेपाल प्राध्यापक संघका पदाधिकारीसँग बुधबार बिहान मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हड्ताल गर्नु गलत भएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पौडेलले भन्नुभयो–‘लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत पाइन्छ । लामो समयसम्म पढाइ अवरूद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हड्ताल रोक्नुप¥यो । प्राध्यापक संघले गृहकार्य गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुस् ।’ डेढ महिनाभन्दा बढी समय उपकूलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा तालाबन्दी भएपछि आक्रोशित मन्त्री पौडेलले तालाबन्दी खोल्ने जिम्मा प्राध्यापकको भएको बताउनुभयो ।

उहाँले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताउनुभयो । प्राध्यापकका सेवा सुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भन्नुभयो– ‘विश्वविद्यालयहरूले समस्या परेको बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको छ । नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको छ ।’ उहाँले त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिँदै भन्नुभयो– ‘राष्ट्रिय प्रकृतिका विश्वविद्यालयहरू विषयगत विशिष्टिकरणका आधारमा केन्द्रीय विश्वविद्यालयको मातहतमा रहनेगरी तयारी गरेका छौं । उच्च शिक्षालाई नियमन गर्ने गरी ऐनमाथि छलफल भइरहेको छ ।’

छलफलमा नेपाल प्राध्यापक संघको तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादा क्रम २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेको स्मरण गराउँदै कार्यान्वयका लागि पहल गरिदिन आग्रह गर्नुभयो । छलफलमा प्राध्यापकहरूले प्राध्यापकहरूको तलबमान सार्कस्तरीय बनाउने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवृत्तिभरण उपलब्ध गराउने, स्वास्थ्य सुविधा, शिक्षक अस्पतालजस्तै प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने लगायतका माग राखेका थिए ।

लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थीसंगठनहरूले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्