युद्ध रोक्न असंलग्न अभियानको खाँचो

0
Shares

  • श्रीमन नारायण

रुस–युक्रेनबीच जारी युद्धमा अमेरिकासहितका नाटो देशहरुले बढी सक्रियता देखाएमा नचाहेर पनि तेस्रो विश्वयुद्धको सामना गर्न तयार रहनुको विकल्प छैन । शान्तिप्रिय देशहरुले युद्ध होइन, सहमति र शान्तिको पक्षमा उभिनुपर्छ । वर्तमान अवस्थामा कुनै पक्षमा नलागी असंलग्न अभियानमा लाग्नु विश्वहितमा हुनेछ ।

रुस र युक्रेनबीचको युद्धमा अहिले विश्वभरिकै सहानुभूति युक्रेनसित रहेको छ । वर्तमान युगमा कुनै एउटा देशले अर्को देशमा आक्रमण गर्नु असम्भवजस्तै छ । आफ्नो सामरिक हितको उपेक्षा भइरहेको ठान्दै रुसले अमेरिका तथा नाटोसँग गरेको गुनासो अनुचित होइन । रुसको पश्चिमी सिमानास्थित देशहरुलाई नाटोमा सहभागी गराउने अभियानलाई रुसले मन पराएको थिएन । युक्रेनसित रुसको गहिरो तथा ऐतिहासिक सम्बन्ध रहेका कारण युक्रेनको मामिलामा रुसले एउटा लक्ष्मण रेखा कोरिदिएको थियो, साथै युक्रेनलाई पनि चेतावनी दिँदै आएको थियो । तथापि, रुसद्वारा युक्रेनमाथि गरिएको आक्रमण जायज होइन । अहिलेको अवस्थाले नाटोका देशहरुसामु पनि गम्भीर अन्यौलताको अवस्था उत्पन्न गरिदिएको छ । किनभने एकातिर रुस पनि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्य हुनुका साथै ६ हजारभन्दा पनि बढी एटम बम बोकिराखेको अवस्थामा छ । यस्तो अवस्थामा नाटो देशहरु रुसमा आफ्नो सेना पठाउन सक्दैनन्, किनभने यसबाट युद्ध लम्बिएर जानुको साथै आणविक युद्धको खतरा पनि उत्पन्न हुन सक्नेछ ।

नाटो तीन चरणमा यस युद्धमा आफ्नो भूमिकाको निर्वाह गर्न सक्छ । पहिलो, संयुक्त राष्ट्रसंघको माध्यमबाट रुसमाथि कूटनीतिक दबाब कायम गर्न सक्छ । दोस्रो, युक्रेनलाई हतियारको आपूर्ति गर्न सक्छ र तेस्रो, रुसमाथि कठोर आर्थिक तथा अन्य प्रतिबन्ध लगाउन सक्छ । वर्तमान अवस्थामा युक्रेनका राष्ट्रपति जेलेन्सकीलाई जतिसुकै विदेशी सहायता प्राप्त भए पनि युक्रेन युद्ध जित्न सक्दैन । रुस पनि युक्रेनमाथि पूर्णतः कब्जा गर्नेछैन तर आफ्ना समर्थक नेतालाई त्यहाँको शासनमा काबिज गराउन सक्नेछ । जबकि नाटोले भने यस्तो सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिने प्रयास गर्न सक्नेछ । युक्रेन सहानुभूतिका पात्र भएकै कारण नेपाल र भारतका बामपन्थीहरु पनि आफ्ना घोर विरोधी अमेरिकासहित नाटोको अभियानलाई समर्थन गरिरहेका छन् । जबकि युक्रेनलाई नाटोले उचालेको भन्दै लेनिनको देशलाई चीन र उत्तर कोरियाजस्ता बामपन्थी देशहरुले सहयोग गरिरहेको अवस्था छ ।

युद्धमा नेपालको प्रतिक्रिया संवेदनशीलताको हिसाबले स्वाभाविक देखिए पनि कूटनीति तथा दूरदर्शिताको हिसाबले तटस्थता अथवा निरपेक्षता विपरीत अमेरिकी समूहमा प्रत्यक्ष रुपमा सहभागी भएको जस्तो देखियो । यस युद्धलाई रुसले आफ्नो देश तथा युक्रेनबीचको युद्ध नठानी दुई महाशक्तिहरु अमेरिका र रुसको युद्धमा परिभाषित गर्न खोजिरहेको छ । असंलग्न राष्ट्रहरुको अभियानमा सहभागी भइसकेको नेपालले आफ्नो पुरानो अडान विपरीत निरपेक्ष नभई एउटा पक्षमा उभिएको छ । जबकि नेपालकै दुई छिमेकी राष्ट्रहरु उत्तरी छिमेकी चीन यसपालि खुलेरै रुसको समर्थन गरिरहेको पाइएको छ भने भारतले निरपेक्षताको नीतिलाई आत्मसात् गरेको देखिन्छ । नेपालको अहिलेको नीतिले आफ्ना छिमेकी राष्ट्रहरुसहित विश्व जगत्लाई नै आश्चर्यचकित पारेको छ । यसबाट नेपालले पाउन सक्ने लाभ तथा उठाउन सक्ने घाटाको हिसाबकिताब हुँदै गर्ला तर हाल नेपालको नीति सन्तुलित एवं निरपेक्ष देखिएन । युद्ध रोक्न असंलग्न राष्ट्रहरुको अभियानलाई बढाउनुपर्ने आवश्यकता देखिन्छ ।

रुस–युक्रेन युद्धको विषयमा नेपालले अख्तियार गरेको नीतिमा पनि उसलाई कुनै समस्या नहुनुपर्ने हो तर विगत एक–डेढ दशकदेखि नेपालको आन्तरिक राजनीतिमा गहिरो चासो राख्दै आएको र आफ्नो सक्रिय भूमिकाको निर्वाह गर्दै आएको उत्तरी छिमेकी चीनले अवश्य पनि हाम्रो नीतिलाई सामान्य रुपमा नलिएको पनि हुन सक्छ । किनभने स्वयं चीन रुसको पक्षमा उभिएको छ । नाटोका देशहरु खुलेरै युक्रेनको पक्षमा उभिएको तथा त्यसलाई आफ्नो सैन्य सहयोगसमेत उपलब्ध गराइरहेको अवस्थामा नेपालले पनि आफूलाई रुसको विपक्षमा देखाउनु अवश्य पनि चीनलाई दुःखी पारेको हुन सक्छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सामिल गठबन्धनका दलहरुमा नेपाली कांग्रेसबाहेकका प्रायः सबै दलहरु कम्युनिस्ट नै हुन् । सम्भवतः पहिलोपटक नेपालका कम्युनिस्टहरु पूर्व–कम्युनिस्ट राष्ट्र रुस तथा वर्तमान कम्युनिस्ट राष्ट्र चीनको चाहना विपरीत उभिएका छन् । एउटा स्वतन्त्र, सार्वभौम तथा लोकतान्त्रिक देश नेपालले लिएको नीति अस्वाभाविक पनि होइन । देउवा सरकारको निर्णयलाई अमेरिकासहित युरोपेली राष्ट्रहरुले पनि सराहना नै गरेको हुनपर्छ तर यो अदूरदर्शिता अवश्य पनि हो । हामी निरपेक्ष बस्नुपर्दथ्यो ।

शीतयुद्धका बेला विश्व राजनीति दुई ध्रुवमा विभाजित थियो । सोभियत संघको नेतृत्वमा एक पक्ष र अमेरिकाको नेतृत्वको अर्को पक्ष थियो । विश्वका अधिकांश देशहरु यी दुई समूहमा विभाजित थिए तर विश्व शान्तिका लागि भारतका तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु, इजिप्टका नासिर र युगोस्लाभियाका जोसेफ ब्रज टिटोले असंलग्न राष्ट्रहरुको एउटा छुट्टै समूह गठन गरे, जसलाई असंलग्न राष्ट्र अभियानको संज्ञा दिइयो । हाम्रो देश नेपाल पनि यस समूहको संस्थापक सदस्यहरुमध्येकै एक हो । नेपाल पनि शुरुदेखि नै विश्व शान्तिको पक्षमा रही आएको छ तथा युद्धको विपक्षमा उभिँदै आएको छ । वर्तमान अवस्थामा युक्रेन पीडित अवश्य पनि देखिन्छ तर अमेरिका तथा उसको नेतृत्वमा नाटो समूह रुसको छेउमा (युक्रेनमा) आफ्नो प्रभाव विस्तार गर्नुले रुसलाई आक्रोशित पार्नु अस्वाभाविक होइन । पूर्व सोभियत संघबाट अलग भएका राष्ट्रहरुमध्ये एकपछि अर्को राष्ट्रलाई नाटोमा सहभागी गराउने अभियान भनेको जानी–जानी रुसलाई भित्तामा पुर्याउन खोज्नु हो । सोभियत संघको विघटनपश्चात् अमेरिकाले रुसलाई महाशक्ति मानिरहेको थिएन, जबकि रुस भने आफूलाई पुरानो जमिनदारजस्तो धन–जग्गा र वैभवमा ह्रास आए पनि आफ्नो फणाटोप (फण काढ्न) बन्द गरेको छैन । ऊ अहिले पनि आफूलाई ७ हजार एटम बम राखेको देशका रुपमै परिभाषित गर्न खोजिरहेको छ । प्रत्येक पाइलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी निर्णयको विरोध गर्नु यसैको संकेत हो ।

रुसले युक्रेनसित गरेको अथवा गरिरहेको व्यवहार अवश्य पनि संयुक्त राष्ट्र संघको सिद्धान्त विपरीत रहेको छ तर के अमेरिका र रुसको सहयोगी राष्ट्रहरुले गरिरहेको व्यवहार पनि यस नीतिको कति नजिक छ ? यसको समीक्षा हुनु पनि आवश्यक छ तर यस्तो कहिल्यै हुने छैन । युद्धको अवस्था त्यति बेला मात्रै निम्तिन्छ जब प्रत्येक पक्ष आफूलाई मात्रै जायज र अर्को पक्षलाई गलत ठानिरहेका हुन्छन् । अतः विश्वका प्रत्येक देशहरु यस संकुचित परिभाषाभन्दा बाहिर आउनु आवश्यक छ ।

दक्षिणी छिमेकी भारतको धारणा निकै संवेदनशील र सन्तुलित रहेको पाइयो । भारतले रुसी आक्रमणको आलोचना त प्रत्यक्ष रुपमा गरेन तर रुसी आक्रमणको समर्थन पनि गरेन । उसले युक्रेनको स्वतन्त्रता र सम्प्रभुताको रक्षाको माग अवश्य पनि गर्दै आएको छ । आफ्ना छिमेकी राष्ट्रहरुसित शान्तिपूर्ण सम्बन्ध कायम राख्नुपर्छ भन्ने पश्चिमी राष्ट्रहरुको तर्कलाई यसपालि भारतले पनि कपी पेस्ट गरेको छ र पश्चिमी देशहरुलाई आफ्ना छिमेकी राष्ट्रहरुसित शान्तिपूर्ण एवं मित्रवत् सम्बन्ध राख्न सुझाव दिएको छ । विश्व शान्ति, विश्व बन्धुत्व, विश्व कल्याण र प्रत्येक प्राणीको भलाइको कामना गर्ने सनातन धर्मका अनुयायी भारत र नेपालले कुनै पनि किसिमको आक्रमणको समर्थन गर्ने प्रश्न नै उठ्दैन । यसपालि नेपालले त खुलेरै यस आक्रमणको आलोचना गरेको छ । भारतले सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आह्वान गर्दै हिंसा र शत्रुतालाई तत्काल समाप्त गर्न युद्धरत दुवै देशसित आग्रह गरेको छ । युक्रेन–रुस युद्धमा युक्रेनलाई हतियार दिने राष्ट्रहरु आगोमा घिउ हाल्ने काम गरिरहेका हुन् र तेस्रो विश्वयुद्धको वातावरण तयार गरिरहेका हुन् भन्दा अतिशयोक्ति नहोला । रुसलाई बढी क्षति हुनुको अर्थ विश्वकै विनाश हुनु हो भन्ने यथार्थलाई बुझनु पनि आवश्यक छ । युद्ध रोक्नु तत्कालको आवश्यकता हो । पक्ष र विपक्षमा नलागेर तटस्थ भई शान्ति एवं वार्ताको वातावरण मिलाउनु आजको आवश्यकता हो । एकपटक फेरि पनि भारत र नेपालजस्ता देशहरुले असंलग्न आन्दोलनलाई तीव्रता प्रदान गर्ने बेला आएको छ । निरपेक्ष देशहरुलाई एउटै थलोमा ल्याउनु आवश्यक छ । निरपेक्ष देशहरुले मात्रै दुवै देशलाई शान्तिपूर्ण वार्ताको टेबुलमा ल्याउन सक्छन् ।