मकवानपुरमा देखियो बर्डफ्लु



हेटौंडा, (नेस) ।

मकवानपुरमा पनि बर्डफ्लु संक्रमण देखिएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर–२ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । ल्याब परीक्षण गर्दा बर्डफ्लु संक्रमण भएको पुष्टि भएको हो । बर्डफ्लु देखिएको क्षेत्र प्रशासनको नियन्त्रणमा रहेको र उक्त स्थानमा पालिएका कुखुराहरू नष्ट गर्ने तयारी भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा सोमबार बसेको बर्डफ््लु नियन्त्रण समितिले तीन बुँदे निर्णय गर्दै बर्डफ्लु नियन्त्रणका प्रयासका लागि तयारी अघि बढाएको हो । प्रजिअ पाण्डेले बर्डफ्लु संक्रमण देखिएको स्थानमा टोली खटाएर काम अघि बढाइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘नाकामा कुखुरा चेकलाई तीव्रता दिने, संक्रमित स्थानमा रहेका व्यक्तिको स्वास्थ्य जाँच गर्ने, बर्डफ्लु संक्रमण पुष्टि भएको इलाकाभित्र चेकलाई तत्काल अघि बढाउने निर्णय भएका छन् । आँपचौरस्थित लीला थिङको खोरमा रहेका टर्की ४३, लोकल कुखुरा १८, लौकाट ६, ब्रोइलर १४ र परेवा २० वटा मरिसकेका छन् ।

मकवानपुरमा यस वर्ष पहिलोपटक बर्डफ्लु संक्रमण देखिएको हो । मकवानपुरमा २०६९ र २०७५ सालमा पनि बर्डफ्लु देखिएको थियो । जिल्लामा करिब १ हजार ३ सय कुखुरापालक किसान छन् । पछिल्लो समय देशको विभिन्न स्थानहरूमा बर्डफ्लु रोग पुष्टि भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्