विभेद अन्त्यका लागि सांस्कृतिक महोत्सव



बैतडी ।

महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न स्थानीय तहहरूमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाको आयोजना महोत्सव आयोजना गरिएका हुन् ।

सांस्कृतिक महोत्सवमा लोक तथा ड्यौडा गायिका तथा मर्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशी गीतमार्फत जनचेतना सन्देश दिनुभएको छ । आठ सयभन्दा बढी गीतमा स्वर दिएकी गायिका जोशी पछिल्लो समयमा समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि सांगीतिक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गायिक जोशीलाई मर्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत नियुक्त गरेको थियो ।

सांस्कृतिक महोत्सवमार्फत समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि गायिका जोशीलाई सद्भावना दूतका रूपमा अगाडि सारेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘खानेपानी र सरसफाइको क्षेत्रमा हामी काम गरिरहेका छौं । तर, महिनावारी भएको बेलामा हुने विभेद अझै कायमै रहेकोले सांस्कृतिक महोत्सवमार्फत जनचेतना र परिवर्तन गर्न खोजी रहेका छौं ।’

महिनावारीका बेला अझै पनि हाम्रो समुदायका महिलाहरूले चर्पी प्रयोग गर्न नहुने, खानेपानीका धारा छुन नपाइने, दूध दही खान नहुनेलगायतका हानिकारक प्रचलन रहेका छन् ।

महिनावारीको समयमा गरिने विभेद अन्त्यका लागि गीतमार्फत जागरण फैलाइरहेकी गायिका जोशीले बताउनुभयो । महिनावारी भएको समयमा गरिने भेदभावले महिलामाथि हिंसा हुने भएकाले त्यस्ता खालका हिंसा न्यूनीकरणका लागि समाजमा रहेका हानिकारक प्रचलन अन्त्य गरिनुपर्ने गायिका जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘महिनावारी भएको बेला गरिने विभेदले ठूलो समस्या निम्त्याउने गरेको छ, त्यसको अन्त्यका लागि मैले गीतमार्फत सचेतना फैलाइरहेकी छु । यसले केही परिवर्तन ल्याउनेछ ।’

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले स्थानीय तहहरूसँग मिलेर सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा र बझाङमा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा यस्तै लोक तथा ड्यौडा गायिका रेखा जोशी, गायक महेशकुमार औजी, मनोहर परियार, गोपाल दयाललगायतका कलाकारहरूले जनचेतनामूलक सांस्कृतिक झलक प्रस्तुत गर्नुभएको छ ।

महिनावारी भएको समयमा महिलाहरूले अझै पनि दूध दही खान नपाउने, चर्पीको प्रयोग गर्न नपाउनेलगायतका समस्याहरू रहेकाले त्यस्ता खालका समस्याहरू हटाउन सबैले जागरुक हुनुपर्ने महोत्सवका सहभागीहरूले समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्