उत्पीडित जातीय मुक्ति समाजमा तेजको नेतृत्व



काभ्रे ।

एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी काभ्रेको तेस्रो जिल्ला सम्मेलन धुलिखेलमा सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्रले तेज नेपालीको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ ।

बन्द सत्रले बालकृष्ण पुर्कोटी उपाध्यक्ष, गीता सुनार सचिव, मदन बिक र प्रकाश मिजारलाई उपसचिवमा चयन गरेको छ । बन्द सत्रबाट ६५ सदस्य जिल्ला कमिटी सर्वसम्मत चयन भएको इन्चार्ज एवं पूर्व अध्यक्ष खड्गबहादुर पुर्कोटीले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन पूर्व सञ्चार मन्त्री एवं एमाले पोलिट ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटाले गर्नु भएको थियो ।

बास्कोटाले उत्पीडित समुदायलाई राज्यले गर्ने विभेद अन्त्य गर्नु पर्ने बताउनु भयो । ‘एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्ता, बालबालिकाहरूलाई पोषण भत्ताको व्यवस्था गरेको छ’–पोलिट ब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘विभेद अन्त्यका लागि ल्याएका कानुनहरूको कार्यान्वयनको खाँचो छ ।’

अधिवेशनको उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका उपाध्यक्ष तथा पदाधिकारीहरू, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिव रिता ढकाल र राजकुमार सापकोटा, मुक्ति समाजका सह इन्चार्ज चन्द्रबहादुर दिवाकोटी, खड्गबहादुर पुर्कोटी लगायतले दलितहरूको अधिकारका बारेमा धारणा राख्नु भएको थियो । सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी सदस्यहरूले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्