छोरी शिक्षा कार्यक्रम शुरू



पाल्पा ।

छात्राहरूलाई अध्ययनप्रति थप हौसला दिनका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम शुरु गरेको छ । आधारभूत तहसम्म अध्ययन गरी सोभन्दा माथि अध्ययन गर्ने हैसियत नभएका छोरीहरुलाई लक्षित गरी नगर पालिकाले छोरी शिक्षा कार्यक्रम लागू गरेको हो ।

चालू आर्थिक वर्षबाट शुरु भएको कार्यक्रमा कक्षा ८ मा ७० जना, कक्षा ९ मा ७० जना र कक्षा १० मा ७० जना गरी २ सय १० जना छोरीहरुलाई नगर सरकारले छोरी शिक्षा कार्यक्रममा समावेश गरिएको छ । पढ्ने इच्छा भएका तर आर्थिक अभावका कारणले वीचमै पढाइ छोडनुपर्ने बाध्यतामा रहेका छोरीका लागि यो कार्यक्रमले समेटने नगर पालिकाले जनाएको छ ।

दलित, जनजाति, अल्पसंख्यक तथा अन्य समुदायका अधिकाश छात्रा आधारभूत तहसम्म अध्ययन गरी छोड्ने प्रवृत्ति रहेकाले यो छोरी शिक्षा कार्यक्रम लागू गरिएको हो । छोरीको सम्मानमा, छोरीको शिक्षा, रोजागार, असल सभ्य समाज निर्माणका लागि दीर्घकालीन सोचका साथ छोरी शिक्षा कार्यक्रम शुरु गरेको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो । छोरी शिक्षा कार्यक्रम लागू गर्ने तानसेन सरकार मुलुककै पहिलो नगरपालिका भएको उहाँको भनाइ छ ।

नगरपालिकाभित्र रहेका १४ वटा वडाबाट पाँच/पाँच जनाका दरले छोरी शिक्षा छात्रवृत्तिका लागि छनोट गरेको छ । प्रत्येक वडाबाट जनजाति २ जना, २ जना दलित र अन्य १ जना गरी ५ जना छोरी छात्रवृत्ति कार्यक्रममा समावेश भएका छन् । छोरी शिक्षा कार्यक्रम देशकै नमुना कार्यक्रम भएको प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले बताउनुभयो । नगरपालिकाका अनुसार छोरी शिक्षा छात्रवृत्तिमा सहभागी छात्राहरुलाई अध्ययन तथा शैक्षिक सामग्रीका लागि मासिकरूपमा १ हजार रुपियाँको दरले रकम सहयोग गरेको उहाँको कथन छ ।

मासिक १ हजार रकम सानो देखिए पनि नगर सरकारले विपन्न परिवारका छोरीको शिक्षामा अभिभावकत्व देखाउनु महत्वपूर्ण रहेको शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपाने बताउनुहुन्छ । ‘१० जना छोरीलाई नर्सिङ शिक्षा प्रदान गर्ने गरी सम्झौताको तयारी भइरहको छ’, उहाँले भन्नुभयो– ‘आगामी वर्ष कक्षा १२ सम्म छोरी शिक्षा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’

तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले परिवार समाज परिवर्तनमा छोरीहरुको महत्वपूर्ण भूमिका हुने भएकाले दलित जनजातिका छोरीलाई पढाइमा टिकाइराख्न छोरी शिक्षा कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, अविभावक बमबहादुर सुनारले नगर पालिकाले दलितका छोरीहरुलाई केन्द्रित गरेर तीन वर्षसम्म लगातार छात्रवृत्तिले परिवारकै भविष्य उज्ज्वल हुने विश्वास बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्