साना कुरा : ठूला प्रभाव

0
Shares

  • पेशल आचार्य

प्राचीन कालमा मानिसहरू सूर्यले पृथ्वीलाई परिक्रमा गर्दछ भन्थे साथै पृथ्वी चेप्टोसमेत भन्थे । यो भनाइलाई युनानी पाइथो गोरसले चुनौती दिँदै भने– ‘सूर्यले पृथ्वीलाई होइन बरू पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ, साथै पृथ्वी थालजस्तो चेप्टो नभएर सुन्तलाजस्तो गोलो छ ।’ यो भनाइले त्यस बेला संसारमा उथलपुथल ल्यायो तर क्रूर शासकले पाइथो गोरसलाई ज्यूँदै जलाउन लगाए । डढेर खरानी नहुन्जेलसम्म पनि उनी यसो भनेर चिच्याउँदै थिए रे, ‘म मर्नुपरे पनि एक दिन तिमीहरूले थाहा पाउनेछौ, पृथ्वी गोलो छ भनेर ।’

भनाइको मतलब नयाँ कुरा जहिल्यै सानो हुन्छ तर त्यो कालान्तरमा प्रभावकारी हुन्छ । अहिले पाइथो गोरसले भनेका सिद्धान्तमा सौर्य मण्डलका ग्रह परिवारको गति मापन गरिन्छ । सिद्धान्तलाई मान्यता दिएरै उनको नाममा ज्यामितीमा ‘पाइथो गोरस साध्य’ नामकरण भएर हाइस्कुल र कलेजका विद्यार्थीहरू पढ्छन् ।

गएको हप्ता बेलायती वैज्ञानिक सर आइज्याक न्यूटनले गुरुत्वाकर्षणसम्बन्धी नियम पत्ता लगाउन बसेको स्याउको रूख आफैँ लड्यो । प्रकृतिको नियम हो, पुरानो लड्छ, मर्छ र नाशिन्छ । त्यसका ठाउँमा नयाँ सृष्टि हुन्छ । ती उनै न्यूटन हुन्, जसले स्याउको रूखमुनि बसेर नयाँ–नयाँ सिद्धान्त पत्ता लगाउँदा लगाउँदै स्याउ झरेर उनको टाउकामा लाग्दा उनले स्याउ किन तलै खस्यो भनेर सोच्दासोच्दै ‘पृथ्वीमा चुम्बकीय तत्व छ, त्यो तत्वले सबै वस्तुहरूलाई पृथ्वीमा तानेर ल्याउँछ’ भन्ने सिद्धान्त पत्ता लगाए । न्यूटनका गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्तले संसारलाई वैज्ञानिक विकासमा फड्को हान्न ठूलो मद्दत गर्यो ।

सोचेर ल्याउँदा संसारमा स–साना कुराले ठूल्ठूला प्रभाव छोड्छन् । दार्शनिकहरू भन्छन्– ‘रूखमा बीज र बीजभित्र रूख छ ।’ दार्शनिक, कवि, कलाकार र लेखकहरूले समेत स–साना कुराहरूबाटै महान्भन्दा महान् तत्वादिका आविष्कार गरेका छन् । भनिन्छ, ‘आवश्यकता नै आविष्कारकी जननी हुन् ।’ जब मानिसलाई खाँचो हुन्छ अनि मानिस त्यो परिपूर्तिका लागि हात धोएर लागिपर्छ । रहर, आवश्यकता र खाँचोले नै संसारमा मानिसहरु तरक्की गर्छन् ।

विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा अहिले नेपाल लगभग ज्ञान, विज्ञान, प्रविधि, सीप र कौशलको त्यो युगमा छ जहाँ स–साना कुराहरूले परिवर्तनका लागि ठूलो माने राख्छन् । नेपाली कांग्रेसकी नेतृ डा. आरुजु राणा देउवाले गतहप्ता ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा एउटा सानो कुरा भनिछन् तर त्यसले ठूलो माने राख्छ । उनले भनिन्– ‘अहिले भएका स्थानीय तहका उपमेयर पदका महिलाहरू आउँदो स्थानीय तह निर्वाचनमा मेयर पदका उम्मेदवार हुन् ।’ यो भनाइमा लुकेको अर्थलाई कार्यरूपमा परिणत गर्ने हो भने र वाक्यको मिहिनरूपले अर्थ केलाउने हो भने पुरुषले आगामी वर्षदेखि ‘पुरुष दिवस’ मनाएर अधिकार माग्नुपर्ने हुन्छ !

‘हजारौं माइलको यात्रा एक पाइलाबाटै तय हुन्छ’ भनेर सेनेकाले भनेझैँ डा. राणाको भनाइको अन्तर्यलाई नेपाली कांग्रेसले राजनीतिक जोखिम उठाएरै सरक्क कार्य रूपमा लागू गर्ने हो भने आउँदो निर्वाचनमा अन्य पार्टीहरू बढारिन सक्छन् तर यी र यस्ता कुराहरू मूर्तरूपमा लागू हुनका लागि ठूलो पापड बेल्नुपर्छ । भन्न जति सजिलो छ त्यो व्यवहारमा उतार्न कुहिनोले पहाडसँग जोरी खोजेजस्तै हुन्छ । असम्भवै त होइन यी र यस्ता कुराहरू तर गरी देखाउन ‘फलामको च्यूरा चपाउनु’ बराबर हुन्छ ।

नेपाली कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले गएहप्ता एक कार्यक्रममा भनेथे– ‘अब गाउँबाट शहर आउने मानिसलाई गाउँमै रोक्नुपर्छ, जसका लागि गाउँलाई बसूँ–बसूँ लाग्ने बनाउनुपर्छ ।’ यो भनाइको अन्तर्य पूरा गर्न नेपाली कांग्रेस लाग्ने हो भने उसले आगामी बीस–तीस वर्षको चुनावी नारा तय गर्न सक्छ तर पौडेल बाले के सोचेर प्याच्च बोले, त्यो उनैलाई केही दिनपछि हेक्का नहुन सक्छ । किनकि गरिब देशका नेताहरूका बोलीको कुनै ठेगान हुँदैन । अझ नेपालकै कतिपय नेताहरू त बिहान, दिउँसो र बेलुकी तीनथरी बोली बोलेर नागरिकलाई मनोरञ्जन दिन माहिर छन् । यो मामलामा राष्ट्रिय पार्टीका अध्यक्ष, सभापति र सुप्रिमोहरू अगाडि छन् ।

साना कुराकै बिस्कुन सुकाउँदा पनि, भारतमा यतिखेर उत्तराखण्ड, मध्यप्रदेश, गोवा, मणिपुर र पञ्जाबजस्ता राज्यहरूमा विधानसभाको चुनाव गत महिना भैसकेर अहिले प्रारम्भिक मत परिणामहरू धमाधम आउन थालेका छन् । माघ २७ गतेदेखि फागुन २३ गतेसम्म ७ चरणमा राज्य विधानसभा निर्वाचन भएको थियो । मत गणनाको पूरै परिणाम शुक्रबारसम्म आइसक्ने जानकारी त्यहाँको निर्वाचन आयोगले दिएको छ ।

उत्तराखण्डमा भाजपाले बहुमत ल्याउने निश्चित छ भने मध्यप्रदेशमा समेत योगी आदित्यनाथ नै दोस्रो कार्यकालका लागि मुख्यमन्त्री हुने निश्चितजस्तै छ । पञ्जाबमा सत्तारूढ कांग्रेस आईलाई आम आदमी पार्टीले धूलो चटाइदियो । ११७ सिट भएको पञ्जाब विधानसभा चुनावको ९१ स्थानमा अरविन्द केजरीवालको पार्टी आपले दुई तिहाइ सिट ल्याउने देखियो । त्यहाँ बहुमत भनेको ५९ सिट हो । दुई तिहाइका लागि ७८ सिट जित्नुपर्छ तर अहिलेसम्मको मत परिणाममा आम आदमीले दुई तिहाइको सरकार बनाउने निश्चित छ ।

सोही समयमा सम्पन्न भएका निर्वाचनमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भाजपाका उम्मेदवारहरू अगाडि लागेका छन् । आम आदमीको पञ्जाबको अभूतपूर्व जित दिल्लीमा केजरीवालले गएको आठ वर्षदेखि गरेको नागरिकहरूको जनजीवन सुधारको सङ्केत हो । अहिले दिल्ली सुध्रिएको मात्र छैन वर्षौंदेखि कांग्रेसकी मुख्यमन्त्री शिला दीक्षितको एकछत्र शासन तोडिएपछि त्यहाँ गरिब, किसान, न्यून वेतनभोगी र आम आदमीका हकमा आमूल परिवर्तनहरू भएका छन् । जीवनसँग जोडिएका खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत् र सामाजिक सुरक्षा भत्तालगायतका क्षेत्रमा गरेका केजरीवालका कामहरू जनप्रिय छन् ।

केजरीवाल सगौरव भन्छन्– ‘मैले केही गरेकै छैन । होइन । मात्र दिल्लीका विकासे काममा हुने वैध/अवैध भ्रष्टाचार र कमिसनको चक्करमा घुमिरहने पैसालाई घुमाएर गरिबका हितमा लगाएको मात्र हो । विकासै गर्ने हो भने योभन्दा दश गुना सहुलियत पब्लिकलाई दिन सकिन्छ ।’ दिल्लीमा हाल बीस हज्जारसम्म मासिक खपत हुने खानेपानीका ग्राहकलाई शून्य लागतमा पानी खुवाइन्छ । त्यसै गरी बिजुली १२० युनिटसम्म निःशुल्क छ । दिवाखाजा, छात्रा छात्रवृत्ति र साइकलको अनुदानले सरकारी स्कुलहरूको कायापलट मात्र भएको छैन कि शिक्षामा आश लाग्दो गुणस्तरीयता आउन थालेको छ । दिल्लीभर महिलालाई गाडीभाडा निःशुल्क मात्र गरिएको छैन कि उनीहरूका आयआर्जनका खातिर सयौं तालिम र सीप विकास योजना लागू छन् ।

यी कार्यहरू साना सोचले मात्र सम्भव भएका हुन् । यसै पटक पञ्जाब विधानसभाको चुनावअघि सबै राजनीतिक दलहरूले पहुँच, नाम र पैसाका भरमा टिकट बाँडेको आरोप छ तर आम आदमी पार्टीले चुनावअघि कुन–कुन उम्मेदवार लोकप्रिय रहेका छन् भनेर सर्भे नै गरेछ । सो सर्भेमा देखिएका अति लोकप्रिय नेता र कार्यकर्ताहरूलाई टिकट दियो, फलस्वरूप अहिले दुई तिहाइनजिक सिट जितेर राज्य सरकार बन्ने पक्काजस्तै भएको छ ।

उसो त युरोप, अमेरिकालाई सिस्टममा चलेका देश भनिन्छ । इन्डियालाई बिग्रेको सिस्टमभित्र सिस्टमको खोजी गर्ने देश भनिन्छ भने नेपालजस्ता देशलाई सिस्टम नभएको देशमा गनिन्छ । यहाँ निर्वाचन सन्दर्भमा ईभीएस (इलेक्ट्रोनिक भोटिङ मेसिन) बाट भोट खसाल्ने प्रविधि अझ आइसकेको छैन । नेताहरू भोटरलाई मासुभात खुवाएर अझै चुनावमा भोट कुम्ल्याउने सपना देख्दै छन् । भोटिङ मेसिनबाट भोट हाल्न नसकिने होइन तर धाँधली गर्न नसकिने ठानेर प्रविधिलाई भित्र्याउँदैनन् । विशाल भारतमा समेत मेसिनबाट भोट हाल्ने कुरा सुलभ भयो । त्यसै गरी विदेशमा बस्ने नेपालीले नेपालको चुनावमा भोट हाल्न सक्दैनन् । कि यहीँ आएर आफ्नो मतदाता नामावली भएका ठाउँमा गएर भोट खसाल्नुपर्छ, कि विदेशबाटै टुलुटुलु हेर्न बाध्य हुनुपर्छ ।

अहिले सत्ता र प्रतिपक्षमा रहेका पाँच बूढा नेताहरू (सत्तासीन देउवा, दाहाल र नेपाल तथा विपक्षी चित्रबहादुर र केपी) का बुद्धि र सीपले अब देशको लोकतन्त्र सुदृढ हुनेवाला छैन तर तत्–तत् पार्टीका युवा र होनहार नौजवानका कारण मुलुकको कायापलट हुन्छ कि भन्ने झीनो आशाचाहिँ नागरिकमा छ । यहाँ अब मतपत्रमा ‘नो भोट सिस्टम’, विद्युतीय भोटिङ मेसिन र कडा कानुन बनाई चुनावी खर्चको कटौती गर्ने हो भने चुनाव सुन्दर हुन्छ । जति चुनाव सजिलो, कम खर्चिलो र सुन्दर हुन्छ त्यति लोकतन्त्रको मुहार क्रमशः उज्यालिँदै जान्छ ।

देख्दा, सुन्दा यी कुराहरू साना लाग्छन् तर व्यवहारमा उतार्ने हो भने यिनीहरूले पार्ने प्रभाव समाज, सिस्टम र देशमा व्यापक हुन्छ । मात्र यसमा कसले नेतृत्व लिएर बेथितिको जरैदेखि समूल अन्त्य गर्ने भन्ने हो । अहिलेसम्म नेपालका नेताहरू तेरो पार्टीभन्दा मेरो पार्टी राम्रो भन्दै अरूका पार्टी, नेता र कार्यकर्तालाई भद्दा गाली गर्न समय बिताइरहेका छन् । यो घटिया पारा र दुःखको कुरा हो ।

अहिले नेकपा एमालेका अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी ओलीले निर्वाचन आयोगले प्राविधिक कारणबस स्थानीय तह निर्वाचनको मतपत्र हल्का हरियो बनाएको इस्युलाई केटाकेटी पारामा उठाइरहेका छन् । भोलि अर्को पार्टीको नेताले त्यसमा डिफेन्स नगर्ला भन्न सकिन्न । कुरा नचपाई भन्ने हो भने, एमाले त्यो पार्टी हो जसले २०५१ सालको मध्यावधि निर्वाचन जितेर नेता मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको अल्पमत सरकार र उसले ल्याएका दुईवटा सामाजिक कार्य ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ र ‘महिनाको १०० रूपियाँ वृद्धभत्ता’ विनियोजन यी दुईवटा कामलाई प्रचारप्रसार गरेर अहिलेसम्म त्यसको राजनीतिक ब्याज खाइरहेको छ ।

अब हुने चुनावका केही सनातन कुरालाई गठबन्धन सरकारले ‘ब्रेकथ्रु’ गर्न सक्यो भने राजनीतिक सिनारियो केही मात्रा हेरफेर हुन सक्छ । नत्र फेरि जनताले यिनै पाँच÷सात पार्टीलाई रोज्नुको विकल्प हुने छैन । भारतमा जस्तै नयाँ पार्टी र केही बौद्धिक स्वतन्त्र व्यक्तिहरूले चुनावमा बौद्धिक हस्तक्षेप गरेर चुनाव जिते भने लामो खडेरीपछि परेको एक झर पानीझैँ हुनेथियो आउने नेपाली राजनीति, तर त्यो हुने सम्भावना एकदमै कम देखिन्छ । भारतमा झैँ साना कुराले मतदाताको मन जितेर जनअनुमोदन भई सत्ता चलाउने दिन नेपालमा कहिले आउने होला भन्दै मतदाताहरू सोचिरहेका छन् ।