बजार अनुगमन नहुँदा मूल्यवृद्धि अत्यधिक



काठमाडौं ।

दैनिक उपभोग्य सामग्रीको मूल्य अत्यधिक बढेको छ । सरकारले बजार अनुगमन नगर्दा ती सामानको मूल्य अत्याधिक बढेको उपभोक्तहरूले गुनासो गरेका छन् । पछिल्लो समय खाने तेलको मूल्य अत्याधिक बढ्दा पनि सरकार मुक दर्शक भएको आरोप उपभोक्ताहरूले लगाउन थालेका छन् । दुई महिना अघिसम्म खाने तेलको मूल्य २सय २० रुपियाँ हाराहारीमा रहेको थियो । अहिले त्यो मूल्य बढेर लिटरको २ सय ७० रुपियाँ पुगेको छ ।

न्यून आय भएका मानिसहरू अहिले बजारमा अत्यधिक मूल्यवृद्धि भएपछि जीवन यापनमा समस्या भएको गुनासो गरिरहेका छन् । दाल चामललगायतका खाद्य सामग्रीको मूल्य बढेको व्यवसायी खुले आम बताउँदा पनि सरकारी निकाय भने मौन रहेको छ ।

सवारी इन्धनको रूपमा प्रयोग हुँदै आएको डिजल पेट्रोलको मूल्य हरेक दिन बढी रहेको छ । रूस युक्रेन युद्ध शुरू भएपछि तेल उत्पादक राष्ट्रहरूले कच्चा तेलको मूल्य वृद्धि गरेपछि अहिले न्यून आय भएका देशहरू नराम्रोसँग प्रभावित भएका छन् । इन्धनको मूल्यवृद्धि भएसँगै हरेक सामानको मूल्य बढेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले युद्धको कारण देखाएर खाने तेलमा व्यापारीहरूले प्रतिलिटर ६० रुपियाँसम्म बढाएको भन्दै त्यस्ता व्यापारीलाई कारबाहीको दायरामा ल्याउन नसक्नु सरकारको लाचारी भएको बताउनुभएको छ ।

देशको प्रशासनिक कमजोरी र नियमन गर्ने निकायको उदासीनताको कारण केही उद्योगीहरूले बजारमा दादागिरी नै देखाइरहेका कारण खाद्य तेल मात्र होइन चिनी, चामललगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ति व्यवस्था प्रणालीलाई खलबलाउने र बजार कब्जा जमाउने काम केही कुत्सित नियत राख्ने उद्योगी व्यापारीले गर्दै आएको उहाँले बताउनुभयो ।
गत असोज महिनासम्म खाद्य तेलको मूल्य अचाक्ली बढेर भुटेको तोरीको तेल प्रतिलिटर ३४०, काँचो तोरीको २६०, भटमासको तेल २४०, सनफ्लावर तेल २५० पुगेकोमा अहिले २७०, २००, १७० र १८० रूपियाँमा सहज रूपमा बजारमा पाउने गरेकोमा युक्रेन युध्द शुरू हुनासाथ प्रतिलिटरमा करिब ६० रूपियाँसम्म मूल्य बढाउने काम व्यवसायीहरूले गरेको जानकारी सरकारलाई गराउँदा समेत कुनै कारबाही नभएको उहाँले बताउनुभयो ।

त्यस्तै अहिले बजारमा फलामे डण्डीको मूल्यमा उच्च वृद्धि भएको छ । एक महिनामा प्रतिकिलो ३६ रूपियाँसम्म मूल्य बढाइएको हो ।
गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुमगनमा डण्डीको मूल्य प्रतिकिलो ८८ रूपियाँ थियो । तर, फागुनको तेस्रो साता सकिँदा बजारमा डण्डीको मूल्य १२४ रूपियाँ पुगेको छ ।

एक महिनाको बीचमै डण्डीको मूल्य प्रतिकिलोमै ३६ रूपियाँले बढ्दा पनि सरकारी अनुगमन र बजार हस्तक्षेप भने शून्यजस्तै देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा डण्डीको मूल्य उत्पादकले बढाएको बिक्रेताहरूले आरोप लगाएका छन् । बजारमा डण्डीको मूल्यमा केही उद्योगीले मनपरी गरिरहेको नेपाल फलामे छड उत्पादक संघका वरिष्ठ उपाध्यक्ष किरणप्रसाद साखले बताउनुभयो । सरकारी अनुगमनकारी निकाय भने बजार अनुगमन गर्ने तयारीमा रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्