रियल मेड्रिड क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) ।

सनसनीपूर्ण पुनरागमन जित निकाल्दै स्पेनिस क्लब रियल मेड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुपरस्टार खेलाडीहरूले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई अन्तिम १६ को दोस्रो लेगमा ३–१ गेलअन्तरले हराउँदै रियल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । रियल यस प्रतियोगिताको सर्वाधिक १३औं पटकको च्याम्पियन टिम समेत हो ।

रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउ रंगशालामा पाहुना टोली पीएसजीले खेलमा पहिले अग्रता लिए पनि रियलले दोस्रो हाफमा अविश्वसनीय ढंगले पुनरागमन गर्न सफल भयो । रियलको रवाफपूर्ण जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा नायक बने । उनले टिम गर कि मरको अवस्थामा रहेका बेला पीएसजीविरुद्ध ह्याट्रिक गोल गरेर टिमलाई जिताए ।

यसअघि, पीएसजीले आफ्नो घरेलु मैदान पेरिसमा भएको पहिलो लेग १–० ले जितेको थियो । बुधबार राति दोस्रो लेगको खेलको ३९औं मिनेटमा पुग्दा पीएसजीले समग्रमा २–० को अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा पीएसजीले रियलको चर्को दवाब थाम्नै सकेन । रियलले खेलाडी परिवर्तन गरेर लगातार आक्रामक खेल्दा पीएसजी जितबाट वञ्चित बन्यो । पीएसजीका लागि खेलको ३९औं मिनेटमा क्लियन एमबाप्पेले गोल गरेर घरेलु टोलीलाई झट्का दिएका थिए । नेयमारले चलाखीपूर्वक दिएको पासमा एमबाप्पेले कुनै गल्ती नगरी बललाई जाली चुमाएका थिए ।

सो गोल गर्नुअघि एमबाप्पेको दुईवटा गोल रद्द भएको थियो । एमबाप्पे दुबै गोल अफसाइडका कारण नै रद्द भएका थिए । खेलको ६०औं मिनेटसम्म पएिसजी एग्रीगेटमा २–० ले अघि नै थियो । तर, ६१औं मिनेटमा पीएसजीका गोलकिपर जियानलुइजी डोनारुम्माको गल्तीको फाइदा उठाउँदै रियलका फरवार्ड करिम बेन्जेमाले पहिलो गोल गरे । रियलका भिनिसियस जुनियरले बल नियन्त्रणमा लिएर बेन्जेमातिर गरेको पासमा अनमार्कमा रहेका बेन्जेमाले सजिलै गोल गरे ।

पहिलो गोल गरेपछि खेलाडी परिवर्तन गरेर रियलले लगातार पीएसजीविरुद्ध आक्रामक खेल्यो । त्यसैक्रममा ७६औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । लुका मोड्रिचले दिएको सुन्दर पासमा बेन्जेमाले कठिन स्थितिबाट उत्कृष्ट गोल गरे । दोस्रो गोल बेहोरेपछि पिएसजीका हातबाट खेल फुत्किएको थियो ।

दोस्रो गोल गरेको दुई मिनेटमै बेन्जेमाले तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक मात्रै पूरा गरेनन्, टिमलाई समेत जितको बाटो देखाए । उनको गोलपछि रियल खेलमा ३–१ अघि भयो र सोही अग्रता बचाएर खेल रियलले जित्यो । पहिलो र दोस्रो लेग सकिँदा रियल समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भयो भने पीएसजीको यात्रा सकियो ।

त्यसैगरी इंग्लिस क्लब म्यानचेस्टर सिटी पनि युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गर्यो । बुधबार राति नै भएको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा पोर्चुगलको क्लब स्पोर्टिङसँग गोलरहित बराबरी खेल्दै सिटी अन्तिम आठमा प्रवेश गरेको हो । दोस्रो लेगमा सिटीले एक गोल पनि गर्न सकेन । यसअघि स्पोर्टिङको घरमा भएको पहिलो लेगमा सिटीले ५–० को जित निकालेको थियो । सोही जितको आधारमा सिटी एग्रीगेटमा ५–० को एकपक्षीय र फराकिलो जित निकालेको थियो । यससँगै सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने चौथो टिम बनेको छ । रियल मेड्रिड, लिभरपुल र बार्यन म्युनिख पहिल्यै अन्तिम आठमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्