ती पात्रहरुको ढाडस पाएँ अनि लेख्न थालेँ

0
Shares

  • चिरञ्जीवी मास्के

लेख्ने कुरा कठिन छ । कसरी लेख्छन्, के लेख्छन्, किन लेख्छन् ? यसको व्याख्या लेखककै पिच्छे फरक– फरक छ । एउटा सत्य केचाहिँ हो भने, हरेक व्यक्तिले पहिलो लेखन घरबाटै शुरु गरेको हुन्छ ।

मेरो एकजना भाइ छन्, चिरन मानन्धर । चरिकोटमा छिमेकी पनि हुन् उनी । अहिलेचाहिँ काठमाडौँतिरै बस्छन् । डेमोक्रेसी रिसोर्स सेन्टर नेपालको लेखन अभियानकै क्रममा एदाकदा चरिकोट झुल्कन्छन् । अनि भेट्नासाथ सोधिहाल्छन्– ‘तपाईंले लेख्नचाहिँ कसरी शुरु गर्नुभयो ?’

पाँच महिनामा आमाको मृत्युपछि मेरो पालनपोषण मामाघरमा भयो । मलाई जन्म दिने आमाकी बहिनी विष्णुलक्ष्मी श्रेष्ठले अविवाहित भएर आमाको रुपमा मेरो पालनपोषण गर्नुभयो । र, मेरो वास्तविक आमा उनै विष्णुलक्ष्मी श्रेष्ठ बन्नुभयो । किनभने मैले जन्म दिने आमा तुलसीमाया श्रेष्ठलाई त देखेर पनि न पहिल्याउन सकेँ, न महसुस गर्न सकेँ ।

मेरी आमा (विष्णुलक्ष्मी श्रेष्ठ) फूलको माला असाध्य राम्रोसँग उन्नुहुन्थ्यो । लाहुरे फूल, गोदावरी फूल, घोगे फूललाई धागोमा उनेर बनाइएको माला मोटो र निकै आकर्षक हुने गथ्र्यो । चरिकोटको पशुपति डाँडामा रहेको पशुपति मन्दिर परिसरमा हरेक वर्ष भनिने चतुरमासा पुराणमा माला बोकेर आमा पुग्नुहुँदा म पनि उहाँसँग जाने गर्थें । यो २०३९/०४० साल ताकाको कुरा हुनुपर्छ । शङ्कर गुरुले भाका हालेर रामायण, महाभारत, भागवत गीता आदिका कथाहरु सुनाउनुहुँदा म बडो चाख मानेर सुन्ने गर्थें ।

तिनै कथाहरुले मलाई लेख्ने कुरामा थोरै काउकुती लगायो । श्रीकृष्ण भगवान्को राजनीति, राम– सीताको आदर्श, भिष्मपितामहको त्याग, युधिष्ठिरको सत्य, भीमको बहादुरी, अर्जुनको निशाना, लक्ष्मणको सत्कार मेरा लागि रोमाञ्चक कथाको विषयवस्तु मात्र भएनन्, लेखनको शुरुवाती बिट पनि बने ।

कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) ले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म बाचन गर्ने गरेको स्वस्थानी व्रत कथाले पनि मलाई लेख्ने कुरामा प्रेरणा दिएको छ । पौष शुक्ल पूर्णिमामा शुरु भएपछि हरेक बेलुका घरधन्दा सकेर परिवारका सबै सदस्य जम्मा हुन्थ्यौं । श्याम मामा लय हालेर स्वस्थानी व्रत कथा बाचन गर्नुहुन्थ्यो । हामी चाख मानेर सुन्थ्यौं । धार्मिक नियम अनुसार एक महिनासम्म बाचन गर्नुपर्ने ३१ अध्यायको स्वस्थानी व्रत कथा कि एकपटक, कि तीनपटक पढ्नुपथ्र्यो । मामाको बाचन शैलीले कथा असाध्यै रोचक लाग्दो हुने भएकोले हामीलाई दिनमा ३–४ अध्याय नसुनी नहुने । अनि त हरेक वर्ष मामाले स्वस्थानी व्रत कथाको किताब तीनपटक पढ्नै पथ्र्यो ।

स्वस्थानी व्रत कथामा आउने हरेक प्रसंगले मलाई अनौठो कम्पन दिइरहेको हुन्थ्यो । गणेश र कुमारले तारकासुर दैंत्यको वध गरेको, सात वर्षकी हुँदा ७० वर्षको वृद्धसँग विवाह हुन लागेपछि चिन्तित आमा– बाबालाई गोमा ब्राह्मणीले सम्झाएको, पतिको अपमान सहन नसकेर सतीदेवीले यज्ञकुण्डमा देहत्याग गरेको, महादेव छल गरेर वन विहारमा निस्किएपछि पार्वतीले शिवलिङ्ग बनाएर पूजा गरेको जस्ता कथाले मलाई लेखक बन्ने लहड पैदा गरिदिएको थियो । अनि मधु–मालतीको कथाले त झन् मलाई लेख्न सकिन्छ भन्ने विश्वास जगायो । मधुले मालतीलाई वायुपङ्खी घोडामा राखेर सुटुक्क लगेको प्रसंग आउँदा मेरो शरीरका रौं सिरिङ्ग हुन्थे र यस्तै एउटा कथा लेख्छु भन्ने हुटहुटी पैदा गरिदिन्थ्यो ।

यति मात्र हैन, हामी स–साना हुँदै श्याम मामाले चरिकोटमा भूतले दुःख दिने गरेको आफ्नो भोगाइ र आफूभन्दा ज्येष्ठजनहरुको कथनलाई एउटा रोचक घटनाको रुपमा हरेक रात सुनाउने गरेर पनि लेखनको लागि खुराक मिल्यो । मामाले भूतको कथा भन्दा उठेर कोठासम्म जान पनि डर लाग्ने, राति उठेर शौचालय जाने कुरा त कता हो कता !

भूतको कथाले पैदा गरिदिएको डर अनौठो थियो । जतिपटक डराए पनि त्यो कथा सुन्नचाहिँ कहिल्यै कम नहुने । आज डरायो भोलि फेरि त्यही कथा सुन्न मामासँग गनगन ।
यस्तै हुँदाहुँदै ६–७ कक्षामा पढ्दासम्म स्वस्थानी, महाभारत, रामायण, भागवत गीता र मधुमालतीका कथा सुन्ने कुरामै समय बिते । कक्षा ८ मा पुगेपछि भने साहित्यिक पुस्तक पढ्ने रहर जाग्न थाल्यो । २०४२ सालमा कक्षा ८ मा पढ्थेँ । त्यति बेला मैले अग्नि दीक्षा नामको रसियन उपन्यास पढेँ । निकोलाई आस्त्रोवस्कीको आफ्नै कथा भएको यो उपन्यासले लेख्नुपर्छ भन्ने दृढतालाई थप मजबुत गरिदियो ।

२०४४ सालमा टेस्ट परीक्षा सकिएपछिको अधिकांश समय एसएलसीको तयारी गर्ने कुरामा भन्दा पनि प्रकाश कोविद, युधिर थापा, इन्द्रबहादुर राई, दौलतविक्रम विष्ट, ध्रुवचन्द्र गौतम, पारिजातजस्ता सदावहार लेखकका उपन्यासहरु पढेरै बिताएँ । र, अब म पनि लेख्नको लागि परिपक्व भएँ भन्ने कुरामा पूर्ण विश्वस्त बनेँ ।

एउटा उमेर समूहको लहड र एउटा समयमा हरेकले कविता कोर्ने गर्छन रे ! मैले पनि केही कविताहरु समयभन्दा अघि या पछि कोरेँ होला तर वास्तविक लेखनचाहिँ २०४६ पछि शुरु भयो । मेरो लेखनको शुरुवात व्यङ्ग्य विधाबाट भएको हो । रित्तो गोजी जागिरको खोजी, दंग र जंग ! यस्तै–यस्तै थिए मेरा व्यङ्ग्य लेखनका शीर्षकहरु ।

साहित्य एक शब्दको छ । यसले अनेक अर्थ जन्माएको छ । परिवेश अनुसार, परिस्थिति अनुसार, पहिरन अनुसार, परिवार अनुसार, परम्परा अनुसार, प्रहर र प्रताडन अनुसार साहित्यको विषयवस्तु फरक– फरक हुन्छन् । खुशीमा लेखिने साहित्य र पीडामा लेखिने साहित्य एउटै भयो भने यसको अर्थै पनि हुँदैन थियो होला । अनि तथ्य, तथ्याङ्क, रिपोर्ट, सूचना, सन्देशबाहक लेखनमा साहित्य पस्कन सकिएन भने त्यो लेखनी सीपको नजरबाट पूर्ण पनि हुँदैन ।

म साहित्यकार हैन, शुद्ध पत्रकार हो । तर साहित्यमा रुचि छ र लेखनमा साहित्यकला आवश्यक हुन्छ भन्ने मान्यता राख्दछु । मैले जुन धरातलबाट लेखनको पदचाप पहिल्याएँ त्यो सुस्त र मधुर थियो तर त्यसको छाप मेरो मस्तिष्कमा यसरी परेको छ कि म लेखन कर्मबाट कहिल्यै अलग हुन सक्दिन होला ।

मेरो हरेक लेखनमा कहीँ न कहीँ शङ्कर गुरुले बाचन गर्नुभएको भागवत पुराणका कथामा तन्किएका शब्दहरु सापट परेका हुन्छन् । श्याम मामाले सुनाउनुभएको भूतको कथा र स्वस्थानी व्रत कथाका भयङ्कर रसिला खण्डहरु साभार भएका हुन्छन् ।

म लेखनमा क्रान्तिको बीजारोपण गर्न भ्याउँछु । किनभने मैले निकोलाई आस्त्रोवस्कीको अग्नि दीक्षा पढेको छु । सुखद मिलन र पीडादायी विछोड, यौवनका उन्मादहरु, शब्दका क्लिष्टता पनि पछ्याउन सक्छु । किनभने मेरो लेखनमा प्रकाश कोविद, युधीर थापा, ध्रुवचन्द्र गौतम, दौलतविक्रम विष्ट, पारिजातजस्ता सदावहार लेखकको पनि प्रभाव छ ।
हरेक परिवेशमा एउटा माहोल हुन्छ । त्यो धार्मिक, सांस्कृतिक, सामाजिक, पारिवारिक, बहसमूलक, विवादास्पद, हास्यास्पदजस्ता गतिविधिहरुले तयार गरिदिएको हुन्छ । र, हरेक मानिसले त्यही परिवेशमा रहेर तिनै माहोलहरुबाट सिक्दै जान्छन्, आफूलाई परिष्कृत र परिपक्व बनाउँदै लान्छन् ।

त्यही परिवेशमा कोही कलाकार हुन्छन्, कोही डाक्टर हुन्छन्, कोही समाजसेवी हुन्छन्, कोही राजनीतिज्ञ हुन्छन्, कोही पत्रकार हुन्छन्, कोही लेखक हुन्छन् अनि कोही विशुद्ध किसान मात्र पनि हुन्छन् । म हुर्के–बढेको परिवेशमा पारिवारिक ममता थियो । मेरी आमाको हात समातेर म चतुर्मास पुराण सुन्न पशुपति डाँडामा रहेको पशुपति मन्दिर परिसरमा जान पाउँथेँ । म मामाले सुनाउने भूतको कथा र स्वस्थानी व्रत कथामा रमाउन पाउँथेँ अनि मधु–मालतीको कथामा उल्लिखित पात्रहरुसँगै वायुपंखी घोडामा उड्न पाउँथेँ । त्यही ममता, त्यही परिवेश र पात्रहरुको ढाडस पाएँ अनि लेख्न थालेँ ।