सम्झना कपसँग नेपाली घर



काठमाडौं ।

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रूपमा नेपाली घर अनुबन्ध भएको छ । सोसम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरे । सो वापत नेपाली घरले खेलाडीका लागि प्रतियोगिता अवधिभर १२ कोठा उपलब्ध गराउने छ ।

प्रतियोगिता चैत १५ देखि १९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुँदै छ । यसअघि, प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म हुने भनिएको थियो । कोभिड– १९ को तेश्रो लहर ओमिक्रोनका कारण स्थगित भएको थियो ।

प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ । पुरुष/महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिलामा ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने छ ।

सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ । अनुमानित २१ लाख ५० हजार बजेट रुपैयाँ रहेकोमा मुख्य प्रायोजक सम्झनाले ५० प्रतिशत रकम प्रायोजन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्