हारे पनि लिभरपुल क्वार्टरफाइनलमा



लन्डन, (एजेन्सी) ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा हारे पनि लिभरपुल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा लिभरपुल इटालियन सिरी ‘ए’ लिग क्लब इन्टर मिलानसँग पराजित भएको थियो । तर, यो हारका बावजदु पनि एग्रीगेटमा जित निकाल्दै लिभरपुलले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

आफ्नो घरमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग १–० गोलअन्तरले हारे पनि समग्रमा २–१ ले विजयी भयो । यसअघि इन्टरको घरमा भएको पहिलो लेगको खेल लिभरपुलले २–० ले जितेको थियो । सोही नतिजाको आधारमा लिभरपुल आफ्नै घरमा दोस्रो लेगमा १–० ले पराजित भए पनि दुवै लेगको नतिजापछि २–१ को जितका साथमा प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरेको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्ड रंगशालामा भएको दोस्रो लेगको खेलमा लिभरपुलले खेल पकडमा राखे पनि गोल गर्न सकेन । पाहुना टोली इन्टर खेलको ६३औं मिनेटमा १० खेलाडीमा समेटिए पनि लिभरपुलले त्यसको फाइदा लिन सकेन । इन्टरका चिलियन फरवार्ड एलेक्सिस सान्चेजले दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड पाएर मैदान छाडेका थिए । तर, त्यसअघि नै इन्टरले ६३औं मिनेटमा एक गोल गरेको थियो ।

मार्टिनेजले च्याम्पियन्स लिगमा १० खेलसम्म लगातार गोलविहीन बनेपछि ११औं खेलमा मंगलबार राति लिभरपुलविरुद्ध खेल्ने क्रममा पहिलो गोल गरेका हुन् । यसअघिका १० खेलमा उनले एक गोल पनि गर्न सकेका थिए । तर, उनको उक्त एक गोलले टिमलाई सुखद नतिजा दिलाउन भने पर्याप्त भएन । अन्तिम १६ का दोस्रो लेगका दुई खेलबाट दुई टिमले अन्तिम आठमा स्थान तय गरेका छन् । जसमा एक खेलबाट लिभरपुल र अर्को खेलबाट जर्मन क्लब बार्यन म्युनिख पनि अन्तिम आठमा प्रवेश गरेको छ ।

मंगलबार राति नै भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा बार्यनले अस्ट्रियन क्लब रेड बुल साल्वर्गमाथि ७–१ को फराकिलो जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो । दोस्रो लेगको खेल सकि”दा बार्यनले एग्रिगेटमा ८–२ को फराकिलो जित निकालेको हो ।

स्मरण रहोस्, दुई वर्षअघि बार्यनले स्पेनिस क्लब बार्सिलोनालाई क्वार्टरफाइनलमा ८–२ कै अन्तरमा हराएको थियो । सो खेल पोर्चुगलमा भएको थियो । त्यो बेला एक लेगको मात्रै खेल भएको थियो । यसपटक बार्यनले होम एन्ड अवे लेग गरी दुई लेगमा रेड बुलविरुद्ध आठ गोल गरेर बार्सिलोनाविरुद्धकै जस्तो खेलको कहानी पुनः दोहोर्याउन सफल भयो । यो जित पनि बार्यनका लागि च्याम्पियन्स लिगमा अर्को कीर्तिमानी जित बनेको छ । बार्सिलोनालाई ८–२ ले हराउँदा त्यो नकआउट चरणको सबैभन्दा फराकिलो नतिजा बनेको थियो ।

म्युनिखस्थित एलियान्ज रंगशालामा बार्यनलाई सात गोल गरेर जिताउने क्रममा पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने एक गोलमा असिस्ट पनि गरे । उनले सोझै चार गोलमा योगदान दिए । उनले मात्रै ११ मिनेटको बीचमा ह्याट्रिक पूरा गरेका थिए, जसमा दुई गोल भने पेनाल्टीबाट थिए । त्यसैगरी, जर्मन प्लेमेकर थोमस मुलरले पनि दुई गोल गरेर टिमलाई सघाए भने लिरोए सानेले पनि दुई गोलमा असिस्ट प्रदान गरेर टिमको जितमा योगदान दिए ।

बार्यनले खेलको १२औं मिनेटमै पहिलो पेनाल्टी पायो । जहाँ लेवान्डोस्कीले प्रहार गर्दै गोलको खाता खोल्न सफल भए । फेरि खेलको २१औं मिनेटमा बार्यनले दोस्रो पेनाल्टी पनि पायो । यसपटक पनि लेवान्डोस्की आफैंले पेनाल्टी हान्दै गोल गरेर अग्रता दोब्बर बनाए । दोस्रो गोल गरेको दुई मिनेटमै लेवान्डोस्कीले अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । उनले मात्रै ११ मिनेटभित्र तीन गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् ।

लेवान्डोस्कीको ह्याट्रिकपछि ३१औं मिनेटमा बार्यनका लागि सर्जी गेनाब्रीले अर्को गोल गरेर खेल पहिलो हाफसम्म ४–० बनाए । त्यसपछि दोस्रो हाफमा बार्यनले तीन गोल थप्यो भने विपक्षीबाट एक गोल बहोर्यो । ५४औं मिनेटमा थोमस मुलरले गोल गरेर अग्रता बढाए । बार्यन त्यत्तिमै अडिएन । ८३औं मिनेटमा फेरि मुलर आफैंले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको दुई मिनेटमै लिरोए सानेले अर्को गोल थपे । उता, पराजित पाहुना टोली रेड बुलका लागि ७०औं मिनेटमा माउरिट्सले गोल गरेपछि बार्यनले खेल ७–१ ले जित्यो ।

प्रतिक्रिया दिनुहोस्