जाजरकोटमा ओखर खेती सम्बन्धी किसानलाई तालिम



जाजरकोट ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटले ओखर खेती सम्बन्धी तालिम सञ्चालन गरेको छ । पाँच वटा पालिकाका व्यवसायिक किसानलाई ओखर खेती सम्बन्धी तालिमको आयोजना गरेको हो ।

ओखर खेतीको सम्भाव्यता अध्ययन गरी पाँचवटा पालिकामा ओखर जोन सञ्चालन गरेको परियोजनाले नलगाड, छेडागाड नगरपालिका, बारेकोट,कुशे, जुनीचाँदे गाउँपालिकाका व्यवसायीक कृषक, कृषि अध्ययन गरेका विद्यार्थी लगायत कृषकको सहभागितामा ओखर खेती सम्बन्धी प्राविधिक ज्ञान दिने उद्देश्यले  सदरमुकाम खलङ्गामा तालिमको आयोजना गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटले जनाएको छ ।

आधुनिक खेती प्रविधिले किसान आत्मनिर्भर बन्ने भएपछि खेती गर्दा अपनाउनु पर्ने विधि र प्रक्रियाका बारेमा जानकारी दिन किसानलाई प्राविधिक ज्ञान, स्थान, जात, रोग किरा, व्यवस्थापन, मल माटो, बगैँचा, यान्त्रिकीकरण, सिचाई, फल टिप्ने, तरिका, सुकाउने, ओखरका प्रमुख जात छनौट, परिचय, स्वभाव, फूल फुल्ने स्वभाव, लगायत ओखर खेतीमा ध्यान दिनु पर्ने कुराको ज्ञान सिपको जानकारी दिन तालिम सञ्चालन गरेको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका  प्रमुख युवराज विकले बताउनु भयो ।

पाँच वटा पालिकाका ५० जना व्यवसायीक किसानलाई प्रधानमन्त्री आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालयका कृषि प्राविधिक, कृषि विज्ञले सहजीकरण गर्ने परियोजना प्रमुख विकले जानकारी दिनु भयो ।

कृषि पेसामा आत्मनिर्भर किसानको आयआर्जनमा सुधार ल्याउने फलफूल खेती भएकाले ओखरको सम्भाव्यता अध्ययन गरी हिमाली भेगका किसानको आयआर्जनमा सुधार ल्याउन   ओखर जोनको स्थापना गरिएको हो । छेडागाड, नलगाड नगरपालिका, बारेकोट, कुशे, जुनीचाँदे गाउँपालिकामा ओखर खेती सञ्चालनमा ल्याएको छ । व्यवसायीक खेतीले किसानको आयआर्जनमा सुधार ल्याउने भएपछि पछिल्लो समय फलफूल खेतीलाई प्राथमिकता दिएको परियोजनाका प्रमुख बि क को भनाई छ ।

प्रतिक्रिया दिनुहोस्