नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा केसी



म्याग्दी ।

‘सङ्घीयता सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनीतिक अधिकारसहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने नारासहित नेपाल निजामती कर्मचारी सङ्गठन म्याग्दीको ११औँ अधिवेशन सम्पन्न भएको छ । मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले सोमबहादुर केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा भोलानाथ आचार्य, महिला उपाध्यक्षमा तेजकुमारी थापा, सचिवमा सागर सुवेदी, कोषाध्यक्षमा प्रकाश सुवेदी र सहसचिवमा कलादेवी शर्मा रिजाल चयन हुनुभएको छ । यसै गरी सदस्यहरूमा लक्ष्मी बानियाँ, गणेश अधिकारी, विशु खत्री, रुचेन्द्र अधिकारी, छविलाल उपाध्याय, एककुमार रिजाल, लीला थापामगर, प्रभा शर्मालगायत चयन भएको सङ्गठनका निवर्तमान अध्यक्ष चित्रनाथ शर्माले जानकारी दिनुभयो । त्यस्तै अधिवेशनले केन्द्रीय प्रतिनिधिमा लीला गौतम, राजेन्द्र आचार्य, चित्रनाथ शर्मा र चन्द्रमणि सापकोटा लगायतलाई चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले निजामती कर्मचारी सङ्गठन कर्मचारीहरूको हकहितका लागि काम गर्ने एक मात्र सङ्गठन भएको बताउनुभयो । उहाँले निजामती अस्पताल निर्माण, कर्मचारी पोसाक/भत्ता उपलब्ध गराउने, दुर्गम भेगका कर्मचारीलाई थप भत्ताको व्यवस्था गर्ने लगायतका एजेन्डा यही सङ्गठनले अघि सारेर सफल बनाएको बताउनुभयो । कार्यक्रममा निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य तेजप्रसाद निउरेले कर्मचारीको कार्य अवधि निश्चित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा नेकपा एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, निजामती कर्मचारी सङ्गठनका पूर्व जिल्ला अध्यक्ष यामबहादुर चोखाल, बागलुङका निवर्तमान अध्यक्ष रामप्रसाद उपाध्याय, मुस्ताङका सचिव रविन चोखाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष लेखबहादुर हमाल, नेपाल शिक्षक महासंघका अध्यक्ष जयराम सुवेदी, निजामती कर्मचारी सङ्गठन मंगला गाउँपालिकाका अध्यक्ष राजेन्द्र आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्