रिब्दिकोटमा भ्रष्टाचार भएको दलहरूको आरोप



पाल्पा ।

पश्चिम पाल्पाको रिब्दिकोट गाउँपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) ले संयुक्त विज्ञप्ति जारी गर्दै सो आरोप लगाएका हुन् । ती दलको तर्फबाट जारी १५ बुँदे आरोपसहितको विज्ञप्तिमा गाउँबासीको जीवनस्तर सुधार्नुको साटो पालिकाले झै् कष्टकर बनाउँदै गएको जनाइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा भएको एक्सरे मेसिन सञ्चालन नगरी थन्काइएको, कोभिड अस्पताल व्यक्तिको घरमा लगानी गरी निर्माण गरिएको, ओषधि खरिदमा व्यापक भ्रष्टाचार भएको, हार्थोक–बतासे सडक जीर्ण हुँदा समेत मर्मतमा चासो नदिएको, भैरवनाथ मन्दिरको अनियमिततामा कुनै चासो नदिएको, खानेपानी योजनामा ढिलासुस्ती तथा बजेट कटौती गरेको जस्ता आरोप चार दलले लगाइएका छन् ।

विज्ञप्तिमा नेपाली कांग्रेस रिब्दीकोट गाउँपालिका अध्यक्ष रामचन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका नारायणबहादुर कार्की, राष्ट्रिय जनमोर्चा नेपालका तिलक गाहा र नेकपा एसका प्रतिनिधि हिमाल नेपालको हस्ताक्षर छ ।

त्यस्तै, कार्यालय समयमै कार्यकक्षभित्रै अधिवेशन गराउने र फरक विचार राख्ने कर्मचारीलाई आस्थाकै आधारमा जागिर धरापमा पर्ने स्थानीय सरकारले धम्की दिएको, पालिकामा बेरुजु बढेको, कृषि प्रयोजनका नाममा अनियमितता भएको, अनुदान दिँदा पार्टी प्रवेश गर्नुपर्ने–भोट दिनुपर्ने भनी दबाब दिएको, विपद् व्यवस्थानको रकम मनोमानी पार्टी कार्यकर्तालाई दिएको, पाइप खरिदमा मनोमानी तथा कार्यकर्तालाई बाँढेको, ५० लाख रकम खर्चेर गुणस्तरहीन शीत भण्डार निर्माण गरेको, हरेक वर्ष गरिने खर्च सार्वजनिककीकरणमा स्थानीय सरकार सम्बद्ध कार्यकर्ता मात्र उपस्थिति गराई औपचारिकता मात्र दिइएको र चुनावी घोषणापत्रअनुसार कुनै काम नगरेको जस्ता आरोप दलहरूले लगाएका छन् ।

गएको स्थानीय निर्वाचनमा सो गाउँपालिकाका आठवटा वडामध्ये सात वडाध्यक्षसहित अध्यक्ष उपाध्यक्षसमेत नेकपा एमालेले जितेको थियो । यस विषयमा गाउँपालिकाले आधिकारिक धारणा भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्