अधिकार प्रयोगमा ल्याउन क्षमता विकास गर्नुपर्छ : तिमिल्सिना



पर्वत ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानुनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिनुभएको छ । ११२औं नारी दिवसका अवसरमा सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेको ‘नेपालको संविधानमा महिलाका हक अधिकारको व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

महिलालाई धेरै वर्षअघि कानुनमा समेत विभेद गरिएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले अहिले संविधान र कानुनमै अधिकारको ग्यारेन्टी भएको बताउनुभयो । यस्ता अधिकार र आरक्षणबाट माथि उठेर महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्ने क्षमताको विकास गर्दै जानुपर्ने उहाँले कथन छ । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखमै प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले घरबाट नै विभेदको शुरुआत हुने भएकाले महिलाले छोराछोरीलाई सानैबाट समान व्यवहार गर्दै जान सके उनीहरुले पनि विभेदको महसुस नगर्ने तर्फ जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीले नेपालको संविधान र कानुनमा महिला अधिकारका पक्षमा प्रशस्त कानुन बने पनि त्यसको कार्यान्वयनको अवस्था कमजोर भएको बताउनुभयो । अहिले महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको सुनिश्चितता गरेको बताउँदै त्यसलाई बढाउँदै लैजान आवश्यक रहेको उहाँको भनाइ थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले दुर्गमका महिला सुत्केरी हुन नसक्ने अवस्थामा हेलिकोप्टरबाट उद्धार गर्ने, न्यून तलबमानमा काम गर्दै आएका बाल विकास सहजकर्ता महिलालाई तलब सुविधा बढाउने, महिला स्वास्थ्य स्वयंसेविकाहरुको तलब बढाउने लगायतका काम गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा एमाले पर्वतका अध्यक्ष राजु पौडेल, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईं लगायतका वक्ताले बोल्नुभएको थियो । सोही कार्यक्रममा पर्वत जिल्लामा कार्यरत महिला कार्यालय प्रमुखहरु प्रजिअ पाण्डे, कृषि ज्ञान केन्द्रकी प्रमुख मनीता थापा, घरेलु तथा साना उद्योग विकास कार्यालयकी प्रमुख मुना लामिछाने, जिल्ला नापी कार्यालयकी प्रमुख निशा अधिकारी र जिल्ला हुलाक कार्यालयकी प्रमुख सरिता अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्