साहले दिए विद्यालयलाई जग्गा दान



सर्लाही, (नेस) ।

सर्लाहीको बरहथवा नगरपालिका–५ का जगरनाथ साहले मंगलबार विद्यालयलाई निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । गोडैता नगरपालिका–४ सोहवामा रहेको जगरनाथ राजकुमारी प्राथमिक विद्यालय रोहवालाई ८४ लाख मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।

गोडैता नगरपालिका–४ रोहुवामा आफ्नो नाममा रहेको ८ कठ्ठा १० धुर जग्गाको जग्गाधनी पुर्जा विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण यादवलाई नवनिर्मित विद्यालय भवन उद्घाटन समारोहमा उहाँले हस्तान्तरण गर्नुभएको थियो । नयाँ विद्यालय भवन निर्माणका लागि विद्यालयले जग्गादाताको खोजी गरेपछि साहले कात्तिक महिना जग्गा प्रदान गर्नुभएको थियो ।

उहाँले विद्यालयलाई निःशुल्क जग्गा प्रदान गर्नुभएपछि अहिले त्यस जग्गा नेपाल सरकारको ६० लाखको विशेष अनुदान चारकोठे पक्की विद्यालय भवन निर्माण भएको छ । विद्यालयलाई निःशुल्क जग्गा प्रदान गरेर सहयोग गरेको भन्दै मंगलबार उहाँ र उहाँकी धर्मपत्नी राजकुमारी साहलाई विद्यालयले उद्घाटन समारोहमा फूलमाला र दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण यादवले जानकारी दिनुभयो ।

जग्गादाता साहले पीछडिएको र दलित समुदाय भएको बस्तीमा शिक्षा सुधार र स्तरवृद्धिका लागि आउँदा दिनमा पनि थप सहयोग गर्दै जाने बताउनुभएको थियो । कार्यक्रममा गोडैता नगरपालिका नगर प्रमुख देवेन्द्रकुमार यादव, उपप्रमुख अञ्जना कुशवाहा, संविधानसदस्य शम्भु पासवानलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्