नगरप्रमुख बगडीया पार्टीबाट निष्कासित

0
Shares

विराटनगर, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश–१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले एक विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हितविपरीत गतिविधि गरेको र व्यवसायीक हितलाई मात्रै ध्यान दिएको भन्दै कारबाहीका लागि आयोगलाई सिफारिस गरेको जनाएका हुन् ।

‘पार्टीको चुनाव चिन्हबाट नगरप्रमुखमा निर्वाचित भएकाले नगर प्रमुख पदबाट निष्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरिएको व्यहोरा अवगत गराउँदछौं ।’ –जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधरण सदस्यबाट उहाँलाई निष्कासन गरेको पनि उल्लेख छ ।

‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारीमा समेत रहेका अग्रवाल आफ्नै पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वर्थमा प्रयोग गर्न खोजेपछि जिल्ला पार्टी कमिटी मोरङले २०७८ वैशाखमा निजलाई पार्टीको विधान धारा ५७ (२) बमोजिम रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गरी अनुशासनको स्पष्टीकरणसमेत सोधेर पार्टी सदस्यता खारेजीका लागि प्रदेश कमिटीलाई सिफारिस गरिएको थियो’, जारी विज्ञप्तिमा भनिएको छ– ‘स्पष्टीकरणमा निजले पालिकाको कामले पार्टीमा समय दिन नसकेको र पार्टी हितविपरीत जाने आफ्नो मनशाय नरहेको भनी जवाफ दिए तापनि आजसम्मको राजनीतिक गतिविधिमा पार्टी गोपनीयता भंग गरेको, पार्टी अनुशासन नमानेको र वर्ग विरोधी क्रियाकलापमा लिप्त भएका कारण २०७८/११/१५ बाट लागू हुने गरी नगर पार्टी कमिटीको सिफारिस अुनसार दिली कुमार अग्रवाल नेकपा (माओवादी केद्र) पार्टीको साधरण सदस्य समेत खारेजी गरी पार्टीको कुनै आधिकारिक व्यक्ति नरहेको व्यहोरा सबैमा अवगत गराउँदछौं ।’

मेयर बगडिया नेकपा एमालेमा प्रवेश गर्ने बताइएको छ । उहाँलाई पार्टी प्रवेश गराउनकै लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेलीमा आउने कार्यक्रम रहेको स्रोतके दाबी छ ।