विश्वकै लामो मुक्तिनाथ केबलकारको स्थलगत सर्वेक्षण



पर्वत ।

पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि मुक्तिनाथसम्म निर्माण गरिने विश्वकै सबैभन्दा लामो दूरीको मुक्तिनाथ केवलकार परियोजनाको स्थलगत सर्वेक्षण शुरू भएको छ । मुक्तिनाथ दर्शन प्रालिले पर्वत, कास्की र म्याग्दी जिल्लामा सर्वेक्षण सकेर अहिले मुस्ताङमा थप सर्वेक्षण थालेको हो ।

कठिन भूगोल भएका कारण सर्वेक्षणमा ड्रोनको प्रयोग भइरहेको छ । मुक्तिनाथ दर्शन प्रालि र जिओ इन्फो इन्जिनियरिङ कन्सन्टेन्सीले संयुक्त रूपमा सर्वेक्षण गरिरहेको प्रालिका वरिष्ठ जनसम्पर्क अधिकृत नवीनकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घना वनक्षेत्र, उच्च पहाड, खोंच, नदीकिनार र केवलकार प्वाइन्ट राख्ने सर्वेक्षणका लागि अहिले ड्रोन क्यामेरामार्फत फोटो र भिडियो खिच्ने र फिल्ड सर्वेक्षणको काम भइरहेको छ । केही हप्ताभित्रै थप सर्वेक्षणको काम सक्ने लक्ष्य प्रालिको छ । केवलकारको हवाइमार्गबाट दुई वर्षअघि लाइडर सर्वे भएको थियो ।

लगानी बोर्डले मुक्तिनाथ केवलकार परियोजनालाई २०७५ साल साउन १ गते विस्तृत परियोजना प्रतिवेदन–डीपीआर र वातावरण प्रतिवेदन मूल्यांकन (ईआईए) गर्ने अनुमति प्रदान गरेको थियो । त्यसपछि अस्ट्रेलियन कम्पनी एएएम गु्रपले विशेष विमानबाट केवलकार परियोजनाको ‘लाइट डिटेक्सन एवं रेजिङ (लाइडर) सर्वे र विभिन्न अध्ययन पूरा गरी डीपीआरसमेत तयार गरेको थियो । तर, इआईएको अनुमति चालू वर्षको कात्तिक महिनामा वन तथा वातावरण मन्त्रालयले सहमति दिएको र त्यसको पनि प्रक्रिया अघि बढाइने वरिष्ठ जनसम्पर्क अधिकृत शाहीले बताउनुभयो ।

मुक्तिनाथ केवल परियोजनाको सबै काम सकिएपछि पीडिए, वित्तीय व्यवस्थापन र निर्माण सम्झौता गरी वैशाखमै केवलकारको शिलान्यास गर्ने कम्पनीको लक्ष्य राखेको छ । मुक्तिनाथ केवलकार परियोजना झन्डै ५५ अर्बमा निर्माण हुनेछ । परियोजनाका लागि ४५ अर्ब वित्तीय लगानी हुने र १० अर्ब कम्पनीको लगानी रहनेछ ।

झन्डै ८० दशमलव १५ किलोमिटर लामो केवलकार ४३ महिनामा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । केवलकारको कुल १९ वटा स्टेसनमा ७ सय ७० वटा यात्रु चढ्ने गोन्डुला हुनेछन् । केवलकारको ८ वटा अनिवार्य स्टेसन हुनेछ भने ५ वटा स्टेसनमा आवश्यक परेमा उक्लिने र ओर्लिन पाउने छन् । यस्तै, केवलकारको ११ वटा स्टेसनमा बास बसेर जान पाइनेछ । केवलकार सञ्चालनमा आएमा वार्षिक ३५ लाख पर्यटकले यात्रा गर्ने कम्पनीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्