नेपाली खेलकुदमा नारी दिवस मनाइयो



काठमाडौं ।

नेपाली खेलकुदमा मंगलबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो भवन परिसरमा नारी दिवसको अवसरमा एएफसी महिला फुटबल दिवस मनायो । उक्त कार्यक्रममा नेपाली महिला फुटबल टिमका पूर्व राष्ट्रिय खेलाडी मनमाया लिम्बुलाई सम्मान गरियो । उनलाई नेपाली फुटबलमा योगदान दिएकोमा एन्फाले सम्मान गरेको हो ।

यस्तै, नेपाल ओलम्पिक कमिटीअन्तर्गत्को वोमेन्स एन्ड स्पोर्टस् कमिसनले दुई महिला खेलकर्मीलाई सम्मान गर्यो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कमिसनले तेक्वान्दोकी पूर्व खेलाडी सुधा सेन मल्ल र राष्ट्रिय खेलकुद परिषद्की कर्मचारी जुलुम गिरीलाई नगदसहित सम्मान गरियो । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गिरी र मल्ललाई २५ हजारसहित सम्मान गरेका थिए ।

कमिसनले हरेक वर्ष नारी दिवसको अवसरमा प्राविधिक र कर्मचारीलाई सम्मान गर्दै आएको छ । यसपटक प्राविधिकतर्फ मल्ल र कर्मचारीतर्फ गिरीलाई सम्मान गरेको हो । मल्ल तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडीसमेत हुन् । हाल उनी वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत छिन् ।

चेसको आयोजना
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनामा दोश्रो हेरामाया श्रेष्ठ स्मृति महिला राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन भयो । सासा इभेन्ट भेन्यू विशाल बजारमा भइरहेको प्रतियोगितामा जम्मा सात चरण हुनेछ ।

प्रतियोगितामा विजेतालाई नगद २५ हजार पुरस्कार दिइनेछ । दोश्रोदेखि पाँचौं हुनेले क्रमशः १५ हजार, ८ हजार, ६ हजार र ४ हजार नगद प्राप्त गर्नेछन् । यसैगरी, यू १६, यू १४, यू १२, इएलओ १०००–१२९९, इएलओ १३००–१४९९ र अनरेटेड खेलाडी उत्कृष्ट खेलाडीले जनही २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बागमती प्रदेश बुद्धिचाल संघका प्रमुख सल्लाहकार अमृतचन्द्र श्रेष्ठकी आमाको नाममा यो प्रतियोगिता आयोजना भइरहेको हो । प्रतियोगितामा जम्मा २६ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।

काठमाडौंबाहिर दौड
यसैगरी, तनहुँ र हेटौडामा पनि नारी दिवसको अवसरमा महिला दौड आयोजना गरेको थियो । तनहुँमा आयोजित हाफ म्याराथनमा कान्छीमाया कोजुले पहिलो स्थान प्राप्त गरिन् । त्यस्तै, हेटौंडामा आयोजित ३ किलोमिटर महिला दौडमा अमृता मोक्तानले पहिलो स्थान हात पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्