महिला दौड अमृताले जितिन्



हेटौंडा, (नेस) ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको खुला महिला दौड प्रतियोगिता अमृता मुक्तानले जितेकी छन् । निर्धारित दूरी १२ मिनेट ४३ सेकेन्डमा पार गर्दै अमृता विजेता बनेकी हुन् । उनले १० हजार नगद पुरस्कार प्राप्त गरेकी हुन् । प्रतियोगितामा ऋतिका तिमल्सिना द्वितीय र लक्ष्मी थिङ तृतीय भए । उनीहरूले क्रमशः १२ मिनेट ५४ सेकेन्ड र १३ मिनेट २३ सेकेन्डमा दूरी पार गरेका थिए ।

नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरको आयोजनामा ३ किलोमिटर महिला खुला दौड प्रतियोगिता भएको हो । ‘समानताका लागि दौड’ भन्ने मूल नारासाथ आयोजना भएको प्रतियोगितामा द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार र ४ हजार नगदका साथै खेल सामग्री प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्