महिला विश्वकपमा अस्ट्रेलियाको दोस्रो जित



लन्डन, (एजेन्सी) ।

एलीसा हीलीको सहयोगमा अस्ट्रेलियाली टिमले आईसीसी महिला विश्वकपमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । बिस्माह मारूफको ७८ रनको योगदानमा पाकिस्तानले ६ विकेटको क्षतिमा १ सय ९० रन जोडेको थियो । अन्य खेलाडीमा आलिया रियाजले ५३ रन बनाएकी थिइन् ।

जवाफमा हिलीले ७९ बलमा ७२ रन जोडेपछि जितको आधार तयार भएको थियो । राचेल हाय्नेस र मेग लेनिङले क्रमशः ३४ र ३५ रन जोडेपछि अस्ट्रेलियाले खेल १५.२ ओभर बा“की राखेर जित्यो ।

न्युजिल्यान्डमा जारी महिला विश्वकपमा यो अस्ट्रेलियाको लगातार दोस्रो जित हो । यसअघि, पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई हराएको थियो । पाकिस्तानी टिमको भने यो दोस्रो हार थियो । पहिलो खेलमा पाकिस्तानलाई भारतले हराएको थियो । पाकिस्तानको अर्को खेल दक्षिण अफ्रिकाविरुद्ध मार्च ११ मा हुनेछ भने अस्ट्रेलियाले मार्च १३ मा आयोजक टिम न्युजिल्यान्डसँग खेल्नेछ ।

आमा खेलाडी बिस्माहको खुसी
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पाकिस्तानी टिमकी कप्तान बिस्माह मारूफले सानदार खेल देखाइन् । अस्ट्रेलियाविरुद्ध उनले अर्धशतक प्रहार गरिन् तर, टिमलाई जित भने दिलाउन सकिनन् । उनले विश्वकपमा अर्धशतक लगाएपछि ७ महिनाकी छोरी फातिमा सँग खुसी साटेकी थिइन् । उनी बच्चालाई जन्माएको ६ महिनापछि क्रिकेट खेलेकी हुन् ।

बिस्माहले १ सय २२ बलको सामना गर्दै ८ चौका प्रहार गरेकी थिइन् । उनले अर्धशतक बनाएपछि पभेलियनतर्फ संकेत गरिन्, जहाँ उनकी छोरी थिइन् । उनी विश्वकपमा अस्ट्रेलियाविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो पाकिस्तानी ब्याटर पनि बनिन् ।

पाकिस्तानका चार विकेट ४४ रनमा गुमाएपछि बिस्माह र आलियाले सम्हालेका थिए । उनीहरूले ९९ रनको साझेदारी गरेको महिला विश्वकपमा पाकिस्तानको लागि सबैभन्दा ठूलो साझेदारी समेत हो ।

प्रतिक्रिया दिनुहोस्