भुवन म्याच प्लेको क्वार्टरफाइनलमा



काठमाडौं ।

भुवन नगरकोटी सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनलमा पुगेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत चौथो प्रतियोगितामा भुवनले पहिलो चरणमा १८ वरीयताका सचिन भट्टराईलाई हराएका हुन् । भुवनको अर्को खेलमा नवौं वरियताका दिनेश प्रजापतिस“ग हुनेछ । रोयल नेपाल गल्फ क्लब जारी प्रतियोगितामा दिनेशले १० औं वरीयताका सूर्यप्रसाद शर्मालाई हराएका थिए ।

उक्त प्रतियोगितामा नेपालका नम्बर २ गल्फर शिवराम श्रेष्ठले सहभागिता जनाएनन् । यस्तै १४औं वरीयताका दीपक आचार्यले पनि प्रतियोगितामा खेलेनन् । उनीहरूले नखेलेपछि १७औं र १८ औं वरयितामा रहेका क्रमशः शिवकुमार माझी र सचिन भट्टराईले खेल्न पाएका छन् । यो प्रतियोगितामा शीर्ष १६ व्यावसायिक गल्फरले खेल्ने प्रावधान रहेको छ ।

यसैगरी, प्रतियोगिताको अन्तिम आठमा पुग्ने तेस्रोदेखि सातौं वरियता प्राप्त खेलाडी क्रमशः विकास अधिकारी, सञ्जय लामा, धनबहादुर थापा, रामे मगर र जयराम श्रेष्ठ रहेका छन् । यस्तै, १०औं वरीयता प्राप्त दीपक मगर पनि अन्तिम आठमा प्रवेश गरे । विकासले शिवकुमारलाई, सञ्जयले रामकृष्ण श्रेष्ठ, धनले बलभद्र राई, रामेले भुवनकुमार रोक्कालाई र जयरामले कृष्णमान राजवाहकलाई पराजित गरेका थिए । दीपकले भने रवि खड्कालाई अतिरिक्त होलमा हराएका थिए ।

प्रतियोगिताका खेलहरू १८ होलमा खेलाइएको छ । तर, फाइनलमा भने ३६ होलको हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रहेको छ । जसमा शीर्ष चारमा आउने खेलाडीले क्रमशः ५० हजार, ३० हजार, २२ हजार र १८ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै, क्वार्टरफाइनलमा हार्नेले जनही १० हजार पाउनेछन् । पहिलो चरणमा हार्नेले जनही ५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्