एमसीसी अनुमोदनमा तादात्म्यता

0
Shares

  • केशव अधिकारी

केपी ओली नेतृत्वको सरकार चल्दै गरेका बेला सर्वोच्च अदालतको सहयोगमा ओलीलाई सत्ताच्यूत गरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुनुको हेतु नै एमसीसी पास गराउने रहेको थियो । हेतु जुन बोकेर सत्तारोहण गरेका थिए देउवा, उनले त आफ्नो मिसन पूरा गर्न नखोज्ने कुरा भएन पनि । त्यही मिसन पूरा गर्न करोड जनताले विरोधका स्वर उराले पनि सफल बने देउवा । देउवाले उता अमेरिकाको दबाब पनि झेल्न सक्ने अवस्थामा थिएन । उनको मानसिकता यति धेरै एमसीसीकै बारेमा केन्द्रित भएको थियो कि लाखौँ–करोडौँ जनता अनि एमसीसीका घातक पक्षका बारेमा बोल्ने हजारौँ विज्ञजनको कुरालाई लत्याएर भए पनि उनले एमसीसी पास गराउनु नै थियो । आखिर गराएरै छोडे पनि । त्यसैले एमसीसी पास गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो र अहम् भूमिका रहेको थियो भन्न सकिन्छ । जिम्मेवार र पहिलो अहम् भूमिका खेल्नुपर्ने पात्रले आफ्नो विपक्षमा भएकोलाई चिल्लो घसेर हुन्छ कि, पैसा फ्याँकेर हुन्छ कि, भागवण्डा लाएर हुन्छ कि, जसरी हुन्छ आफ्नो पक्षमा ल्याएर आफ्नो मिसन पूरा गर्न उद्यत् नभई छोड्ने कुरो हुँदैन ।

एमसीसी पास गराउनको लागि दोहोरो भूमिकामा रहेका कमरेडहरुमध्ये कमरेड प्रचण्डको दोस्रो महत्वपूर्ण भूमिका रहेको देखियो । कमरेड प्रचण्डले एमसीसी पास गराउनको लागि केवल सीधै र दोहोरो भूमिका मात्र खेलेका थिएनन्, उनले त झन्डै पाँचतिरका भूमिकालाई चोचोमोचो मिलाई आफू मौनता साँधेर बसेका थिए । हिजोसम्म र आजै पनि बरु म मर्छु तर एमसीसी पास मात्र नभई टेबुलसमेत गर्न रोक्छु भनेर डिङ्ग्री हाँक्ने सभामुख कमरेडलाई लुरुलुरु अराएको काम गराउन बाध्यता सिर्जना गर्ने भूमिकासमेत कमरेड प्रचण्डले नै निभाएका थिए । कमरेडको खुरापाती भूमिकाको मार हजारौँ निर्दोष कमरेडका विश्वासपात्र कार्यकर्तालाई पर्यो । कमरेडको तत्कालको फेरिएको व्यवहारले ती विश्वासी हजारौँ कार्यकर्ताको मनमा कहिल्यै नमेटिने घाउ लाग्नुका साथै अथाह रुपमा विश्वासको सङ्कट बढेर गएको पाइयो । अरु खुरापाती व्यवहार जति गरे पनि यो भूमिका उनी स्वयंका लागि र उनको जीवनभरका लागि नमेटिने अविश्वासको खाडल बन्न पुग्यो । कमरेडको अर्को भूमिकामा आफ्ना कार्यकर्ता र आम जनताको साखिलो बन्नलाई बालकोट पुगेर केपी ओलीलाई शेरबहादुरको स्थानमा प्रधानमन्त्री बन्न आग्रह गरेकोजस्तो नाटकलाई लिन सकिन्छ । अझ अर्को भूमिकामा एमसीसी अनुमोदनका लागि तयार गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणीको ज्ञान पनि कमरेड प्रचण्डकै दिमागको उपज हो कि जस्तो लाग्छ । शरेबहादुर देउवा पदले प्रधानमन्त्री भए पनि उनलाई भन्दा कमरेड प्रचण्डलाई अधिक अक्कल लगाउन आउने रहेछ भन्ने कुरा आजसम्म उनले प्रस्तुत गरिसकेका नाटकबाट थाहा भइसकेको छ । यही कारणले गर्दा देउवाको तुलनामा कमरेडले अधिक भूमिका खेल्नुपरेको थियो ।

कमरेड प्रचण्डपछिका अन्य भूमिका निभाउनेहरुमा रामशरण महत, प्रकाशरण महत, गगन थापा आदि पात्रहरुको भूमिकालाई लिन सकिन्छ । तर अन्त्यमा निष्कर्ष के निस्कन्छ भने, कमरेड प्रचण्डले आम कार्यकर्ता र देशपे्रमी जनतामाथि घात नगरी एमसीसी अनुमोदनको विपक्षमा आफू लागेर माओवादी केन्द्रका सबैलाई रोक्न सकेका भए अनुमोदन हुन सक्ने थिएन । कमरेडको यो खोक्रो देशवाद उदाङ्गो भएर जाँदा आम कार्यकर्तामा निराशा छाउनु त सामान्य कुरा होला तर त्यो निराशाले उत्पादन गर्ने बीउको टुसो कसरी पलाएर फैलने हो भन्ने कुरो निकट भविष्यको गर्भमा रहेको छ ।

अबको अहं प्रश्न भनेको के हो भने, के एमसीसी पास गराउने र एमसीसी अनुमोदनको पक्षमा बोल्ने नेताहरुले भनेजस्तै हाम्रो देशको उन्नतिका लागि अमेरिकाले स्वच्छ मनले काम गरेर देखाऊला त ? उसले एमसीसी पाँच वर्षभरिमा लागू भइसकेर त्यसले गर्ने कामसमेत त्यही समयमा गरिसक्ने भन्ने प्रावधान रहेको छ । एमसीसी पास गरेपछिका पाँच वर्षपछि तोकिएका क्षेत्रको उन्नति गरेर अमेरिका एमसीसी पूरै सकेर स्वदेश फर्कला कि एमसीसी लागू भइसकेर काम पनि सकिएका धेरै वर्षसम्म हामीलाई हप्काउँदै र भिडाउँदै यतै बसिरहला भन्ने कुरो महत्वको विषय हो । अनि एमसीसी अनुमोदनपछि अनुमोदन गराउन सफल बनेकाहरुले धेरै खुशीयाली मनाए होलान् पनि । तर त्यो खुशी उनीहरु र आम नेपालीका लागि दीर्घायुको होला त ? अबका पाँच वर्षसम्म हामी पूर्ववत् रुपमा निर्धक्क भएर हाम्रा व्यवहारहरु क्रमशः अगाडि लैजान सकौँला त ? हाम्रा र हाम्रा आफन्तका छोरीचेलीहरु आजको जस्तै वातावरणमा रमाउन पाऊलान् त ?

एमसीसी पास गरेको पाँच वर्षको अवधिभर आज हामीले सुनेजस्तै अमेरिकी सेना नेपाल आउने र हामी सबैले उनीहरुको निगरानीमा बस्नुपर्ने सर्तहरु रहेको कुरा विज्ञ जनले बताइरहँदा नेपाली कङ्गे्रसका महामन्त्री गगन थापाले गर्जन गर्दै भनेका थिए, ‘यदि अहिले भनेजस्तै खराब कुराहरु भएछन् भने आफूलाई चार पाटा मुडेर डाँडो कटाउनू ।’ यदि अमेरिकाले हामीले सोचेजस्तै वा ठानेजस्तै व्यवहार देखाए पनि गगन थापालाई डाँडो कटाउँदा साम्य हुने होइन, एउटा बिचरो मगन्ते दिमागको युवाले बोलेको कुरो नहुन पनि सक्छ ।

एमसीसी अनुमोदन भएपछि धेरै खुशी भएको अमेरिकाले विज्ञ जनहरुले भनेजस्तै अबका केही वर्षमा नै हामीलाई दास बनाउने र हाम्रो देशको स्वाभिमानलाई छिन्नभिन्न पार्ने होला कि भन्ने कुराले धेरै नेपालीको मन अत्तिएको अवस्थामा छ । त्यति मात्र होइन कि अमेरिका नेपालमा घुसेर दक्षिण एसियाका उदयीमान मुलुकलाई अगाडि बढ्नबाट रोक्नको लागि कदम चाल्ने सङ्केत हो भनेर पनि विश्लेषण गरिएको पाइन्छ । देशको भौतिक विकास वा उन्नतिको नाममा अबका पाँच वर्ष अर्थात् एमसीसी अनुमोदन भएर लागू भएदेखिका पाँच वर्षभित्रमा हाम्रो मुलुकको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल कुदाउने बाटो बनिसकोस्, देशमा विभिन्न प्रकार र क्षमताका हजारौँ उद्योगधन्दाहरु खुल्नुपर्छ, तिनबाट हजारौँ नेपाली युवाले रोजगारीका अवसर स्वदेशमै पाएर विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको देख्न र भोग्न पाउनुपर्दछ ।

हामीसँग छ भनिएको युरेनियम भरसक नेपालीलाई नै खोजी गर्न लगाएर फारु गर्दै उपयुक्त तरिकाले उपभोग गर्ने अवसर मिल्दै जानुपर्छ, एमसीसीका कारण आम नेपाली जनताको मानसिकता र गौरवका काममा कुनै खालको खलल नपुग्ने गरी काम गर्न सक्ने हो भने मात्रै एमसीसी अनुमोदनको औचित्य पुष्टि भएर जान सक्ला । तर यसको विपरीत अहिले एमसीसीको विरोध गर्ने विरोधीहरुले भनेजस्तै हाम्रा आफन्त महिलाहरु विदेशीको बलात्कारको सिकार बने भने, हामीलाई हाम्रा अधिकारको उपयोगमा कुनै बाधा उत्पन्न हुन पुगेको खण्डमा होस् कि अमेरिकालाई त्यस्ता अनैतिक काम गर्नबाट कसले रोक्ने, कसरी रोेक्ने ? भन्ने कुरा निकै महत्वको विषय हुन्छ । आजका दिनमा एमसीसी पास गराएर खुशीका साथ घर फर्कने नेताहरुलाई आजका दिनमा झन्डै ९० प्रतिशत नेपाली जनताले निकै ब्यग्रताका साथ अब एमसीसी परियोजना लागू भएपछिका दिनहरु, क्षणहरु, मिनेट, घन्टा र सेकेन्डको समेत हिसाबकिताब गरेर अमेरिकाले गर्दै गरेको एमसीसी परियोजनाको कामको निकै गहिरो तरिकाले विश्लेषण गरिरहेका छन् । यदि गगन थापाले प्रतिज्ञा गरेको भनाइको विपरीतको अमेरिकी व्यवहार देखिए अमेरिकालाई त्यो काम गर्नबाट दबाब दिएर रोक्न लगाउन सक्नको लागि कुन राजनीतिक दलको कुन नेता अग्रसर भएर बाटो देखाऊला ?

पाँच वर्षको परियोजना भनेर हस्ताक्षर गरिएको भनिए तापनि अमेरिकाले ५० वर्ष शासन जमाउन खोज्यो भने अमेरिकाले सम्झौता विपरीतको काम गर्यो भनेर कसले भन्न सक्ने क्षमता राख्ला र खै ?

हाम्रो देशमा चुनावको लहर क्रमशः आउँदै छ । यही आगामीमा स्थानीय तहको चुनाव हुने घोषणा भइसकेको अवस्था छ । एमसीसी पास गराउनको लागि जुन–जुन नेताले अहं भूमिका खेलेका छन्, तिनलाई अबका दिनमा आफ्नै असन्तुष्ट कार्यकर्ता हुन् कि अन्य सर्वसाधारण जन किन नहुन्, नेताहरुको विश्वासघातले गर्दा उनीहरूलाई आजित बनाएको छ । आउँदा दिनमा आम कार्यकर्ता र सर्वसाधारणमा रहेको त्यो आक्रोश कसरी प्रकट हुने हो ? प्रकट नभएर वा नगरेर पनि नहुने अवस्था रहेको छ । हाम्रा नेता भनाउँदाहरुका लागि एमसीसी अनुमोदनको षिषय धेरै नै महत्वपूर्ण थियो । यदि जनमतको आदर गर्न सकेको र एमसीसी अनुमोदन नगरेर अमेरिकातिरै पठाउन सकेका भए आजका र भोलिका दिनमा आज एमसीसी पास गराउने यिनै नेता नेपालका महान् राजनेताको सम्बोधनका साथ तदनुसारकै स्थानमा विराजमान बन्न पुग्ने थिए । तर अबको पछुतो केवल अरण्यरोदनभन्दा बाहेक केही हुनेछैन । अब त आ–आफ्ना ज्यान सुरक्षित पारेर बस्न र बाँच्न सकेको खण्डमा त्यही महान् कर्म हुनेछ ।

एमसीसी अनुमोदनको पक्षमा प्रमदेखि लिएर अन्य समर्थकहरु जसरी लगनशील बन्न पुगे, एमसीसी अनुमोदनको विपक्षमा रहनेहरुले रोस्टममा उभिएर यसो र उसो गर्छौं भन्ने भाषण गर्नुभन्दा अरु एउटै पनि प्रभावकारी प्रयास हुन नसकेको हो कि भनेजस्तो अनुमान लगाउन कुनै गाह्रो छैन । त्यसैले कतै तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु भन्ने नाटक पो मञ्चन भइराखेको छ कि जस्तो लाग्नु स्वाभाविक नै हो । हुन पनि त्यस्तै भयो ।

आखिर जे भए पनि अमेरिकाले सकारात्मक सोच बनाएर हाम्रो देशको सबै क्षेत्रको उन्नतिको लागि चाहिनेजति रकम सहयोग गरी हामीले चाहेजस्तै उन्नति अबका पाँच वर्षभित्रमा गरेर देखाउन सकेछ भने राम्रो हुने थियो । आज एमसीसी पास गराउँदै गरेको अवस्थामा लाखौँ जनताले शान्तिपूर्ण रुपमा गरेको विरोधलाई पुलिसको सहयोगमा दमन गरेर धाक जमाउने सरकारले सही नै काम गरेछ भनी प्रशंसा गर्ने दिन आए नागरिक खुशी हुने थिए ।