वडाध्यक्षले गरे सार्वजनिक सुनुवाइ



मुगु ।

मुगुको छायाँनाथ रारा नगरपालिका–४ का वडाध्यक्ष विष्णुकुमार भामले आफूले गरेका जनसेवामुखी कार्य सार्वजनिक गर्नुभएको छ । आफ्नो ५ वर्षे कार्यकालमा गरेका कार्यको पत्रकार सम्मेलन गर्दै उहाँले सार्वजनिक गर्नुभएको हो ।

२०७४ सालमा निर्वाचित भएसँगै राज्यबाट प्राप्त हुने सेवा–सुविधा जनताको सेवामा खर्चको वडाध्यक्ष भामको भनाइ छ । वडाध्यक्ष पद सम्हालेदेखि हालसम्म नगरसभा बैठक भत्ता ७० हजार, वार्षिक तलब ३१ महिनाको प्रतिमहिना २२ हजारका दरले ६ लाख ८२ हजार, वडा कार्यालय बैठक भत्ता ६० हजार, नगर कार्यपालिका बैठक भत्ता ९० हजार ५ सय २५, दैनिक भ्रमण भत्ताबाट ७५ हजार, विभिन्न कार्यालयका बैठक, गोष्टी, तालिमबाट प्राप्त १ लाख ७५ हजार गरी कुल ११ लाख ५२ हजार ५ सय २५ रुपियाँ नगद आफूले प्राप्त गरेको उहाँको कथन छ । सो रकमबाट आफूले छायाँनाथ रारा नगरपालिका–१ देखि १४ का विभिन्न बस्तीमा रहेका असाय, गरिब, दलित, विपन्न व्यक्ति तथा परिवारहरुलाई विभिन्न राहत सामान सहयोग गरेको वडा अध्यक्ष भामले बताउनुभयो ।

व्यक्ति तथा घर–परिवारलाई मात्र नभएर अध्यक्ष भामले आफूले पाएको सेवा–सुविधाबाट विभिन्न खोलाहरुमा काठेपुल, सार्वजनिक शौचालय, विद्यालयहरुलाई शैक्षिक सामग्री, बाटो, धारा पनि निर्माण गर्नुभएको छ ।

७ सय ५३ वटा स्थानीय तहमा कार्यरत जनप्रतिनिधिमध्ये कान्छा जनप्रतिनिधि भामले आफूले पाएको सेवा–सुविधा व्यक्तिगत लाभमा प्रयोग नगरेर सामाजिक काममा खर्च गर्दा नगरपालिका भित्रका २ हजार ७ सय २४ जना व्यक्ति प्रत्यक्ष र २० हजारभन्दा बढी जनता अप्रत्यक्ष लाभान्वित भएका छन् ।

कोरोना कहरको बेलामा नगरपालिकाले जिल्ला बाहिरबाट उद्घार गरी ल्याएका स्थानीयमध्ये करिब १२ जनालाई अध्यक्ष भामले मिनरल वाटर र चाउचाउ उपलब्ध गराउनुभएको थियो भने विभिन्न बस्तीमा पुगी स्वास्थ्य जनचेतना जगाउने र स्वास्थ्य सामग्री वितरण गर्ने गर्नुभएको थियो ।

सधैं जनताको काम र जनसेवामा व्यस्त रहने उहाँ आफ्नो वडामा हुने विकासी काममा समेत अन्य गाउँले सँगसँगै आफैं सरिक हुने गर्नुहुन्छ, जसका कारण सबैको सहभागिता र गुणात्मक काम हुने गरेको छ । सार्वजनिक कार्यक्रममा आफूले गरेका कामको सार्वजनिक गर्दै अध्यक्ष भामले आफू र आफ्नो परिवारलाई पालिन पुग्ने सम्पत्ति बाबुबाजेले कमाइदिएकाले आफूमा धनी बन्ने, सम्पत्ति कमाउने लोेभ लालच नभएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्