पाँच दिनपछि सुरक्षित बासस्थानमा फर्क्यो भालु



ताप्लेजुङ ।

ताप्लेजुङ जिल्ला अस्पतालमा बसेको भालु सोबार पाँच दिनपछि आफ्नो सुरक्षित बासस्थानमा फर्केको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने (बेहोस बनाउने) सुई लगाई नियन्त्रणमा लिएर भालुको उद्धार गरेर सुरक्षित स्थानमा फर्काएको हो ।

चितवनबाट आएको राष्ट्रिय प्राकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरणराज रिजाल नेतृत्वको टोलीले भालुलाई डार्ट गरेको (लठ्याएको) हो । अस्पतालमा चार दिन र डिभिजन वन कार्यालय ताप्लेजुङ एक दिन बसाइपछि भालुलाई उसको बासस्थानमा फकाएको डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी ललित यादवले बताउनुभयो । भालुलाई बेहोस बनाई फलामे खोरमा राखेर डिभिजन वन कार्यालय ताप्लेजुङमा एक रात राखिएको थियो । भेटेरिनरी प्राविधिक रिजालले वयश्क पोथी हिमाली कालो भालु भएको बताउनुभयो ।

भालुको तौल करिब ७० किलोग्राम अनुमान गरिएको छ भने पाँच फिट लम्बाइ रहेको छ । तीन प्रकारको औषधि मिश्रण गरी भालुलाई बेहोस बनाएर दुई घण्टापछि पुनः होसमा आएसँगै जंगलमा छोडेको उहाँको भनाइ छ । भालु गएको बिहीबार राति जिल्ला अस्पतालको प्रसूति गृहभित्र पसेको थियो । भालु एक्कासि आएर अस्पताल भवनभित्र पसेपछि अस्पतालको सुरक्षार्थ खटेका प्रहरी र त्यहाँका कर्मचारीसमेतले भित्रै थुनिदिएका थिए । अस्पतालको प्रसूति कक्षमा कोही पनि सेवाग्राही वा प्रसूति सेवा लिनेहरु नभएको समयमा भालु भित्र पसेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले बताउनुभयो ।

जिल्ला अस्पतालभित्र थुनेर नियन्त्रणमा राखिएको भालुलाई उद्धार तथा व्यवस्थापन गर्न प्राविधिकको उपस्थितिबिना सम्भव नभएपछि चार दिन अस्पतालमा थुनेर राख्नुपरेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । यादवका अनुसार भालुलाई मासु र विभिन्न फलफूल खुवाएर राखिएको थियो । बजार क्षेत्रमै हिमाली भालु प्रवेश गरेपछि सर्वसाधारण भने आतङ्कित बनेका थिए । जिल्ला अस्पतालमा भालु हेर्नेको भीड नै लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्