स्वास्थ्य शिविरबाट ४ हजार ७ सय बालबालिका लाभान्वित



बैतडी ।

दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यसहित बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । जसमा ४ हजार ७ सय ३ बालबालिका लाभान्वित भएका छन् ।

स्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरबाट ४ हजार ७ सय ३ बालबालिका लाभान्वित भएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताउनुभयो । १० वटा पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहको एक/एक विद्यालयमा शिविर सञ्चालन गरिएकोमा उक्त संख्यामा बालबालिकाको स्वास्थ्य जाँच गरिएका उहाँको कथन छ ।

शिविर सञ्चालन गरिएका विद्यालयमा जिल्लाको शिवनाथ गाउँपालिकाको पीपलकोट मावि उदयदेव, सिगास गाउँपालिकाको शारदा मावि ढंगाड, पुर्चौडी नगरपालिकाको भूमिराज मावि गहताल, पाटन नगरपालिकाको त्रिपुरेश्वर मावि वसन्तपुर, सुर्नया गाउँपालिकाको रौलेश्वर मावि रौलेश्वर, डिलाशैनी गाउँपालिकाको सरस्वती मावि नानरा, दोगडाकेदार गाउँपालिकाको भगवती मावि सित्तड, दशरथचन्द नगरपालिकाको कालिका मावि थालिगडा, मेलौली नगरपालिकाको विजयपुर माविको तितावै र पञ्चेश्वर गाउँपालिकाको जयपुर मावि जेवलकट्टे रहेका छन् ।

शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । जसमा दाँतसम्बन्धी समस्या सबैभन्दा बढी देखिएको छ । दाँचसम्बन्धी १ हजार ६ सय २७, आँखासम्बन्धी १ हजार ५ सय ८४ र कानसम्बन्धी १ हजार ४ सय ९२ बालबालिकाको उपचार तथा चेकजाँच गरिएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रत्येक स्थानीय तहका एक/एक विद्यालयमा एकदिने शिविर सञ्चालन गरिएको हो । ‘दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यसहित शिविरको आयोजना गरेका हौं’, उहाँ भन्नुहुन्छ– ‘आवश्यकताअनुसार दर्गमका विद्यालयमा शिविर सञ्चालन गर्दै जान्छौं ।’

प्रतिक्रिया दिनुहोस्