वागमतीमा खोप अभियानको प्रधानमन्त्रीद्वारा प्रशंसा



हेटौंडा ।

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयको खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गर्नुभएको छ । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने प्रमुख लक्ष्य राख्नुभएका प्रधानमन्त्री देउवाले प्रदेश स्वास्थ्य मन्त्रालयले खोप अभियानमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीसँगको भेटमा प्रधानमन्त्री देउवाले वागमती प्रदेशले खोप अभियानलाई समुदाय तहसम्म पुर्याएर प्राप्त गरेको सफलताको प्रशंसा गर्नुभएको थियो ।

उहाँले प्रदेश स्वास्थ्य मन्त्रालयले अघि बढाएको विपन्न नागरिक र आकस्मिक उपचारमा निःशुल्क रक्तसञ्चार सेवा, प्रदेशस्तरीय स्वास्थ्य बीमा संयोजन समिति गठन प्रक्रिया, संघीय खोप अभियान दु्रत कार्यसञ्चालन टोलीसँगको समन्वय, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको कार्यविधि निर्माण, औषधि एवं उपकरणको उचित मौज्दात व्यवस्थापन र वितरण जस्ता कामको पनि प्रशंसा गर्नुभयो । प्रदेश सरकारले अघि सारेका कामलाई सहयोग एवं सहजीकरण गर्न संघीय सरकार तत्पर रहेको उहाँको प्रतिबद्धता थियो ।

भेटमा कांग्रेस प्रदेश संसदीय दलका नेता बानियाँले प्रदेश सरकार जनतालाई राहत र विकास दिने काममा अघि बढेको बताउनुभयो । उहाँले प्रदेश सरकारको सेवाप्रवाहलाई थप चुस्त र व्यवस्थित गर्दै लैजान आवश्यक नीतिगत सहजीकरणका लागि संघीय सरकारसँग आग्रह गर्नुभएको थियो ।

स्वास्थ्यमन्त्री लामा र राज्यमन्त्री नेपालीले स्वास्थ्य मन्त्रालयले गरिरहेको नीतिगत सुधार, नियमित कार्य, समस्या र समाधानका लागि संघीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा अवगत गराउनुभएको थियो ।

प्रदेशमा ९७ दशमलव ९ प्रतिशतले कोरोनाविरुद्ध पहिलो डोज खोप, ९६ दशमलव ८ प्रतिशतले दोस्रो डोज र ११ दशमलव ८ प्रतिशतले बुस्टर डोज खोप लगाएका छन् । १२–१७ उमेर समूहका ५० दशमलव १ प्रतिशतले पहिलो मात्रा र २८ दशमलव ६१ प्रतिशतले दोस्रो डोज खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्