महिला सशक्तीकरणका लागि अन्तर्क्रिया



काभ्रे ।

दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) काभ्रेको सहयोगमा धुलिखेलमा सरोकारवाला निकाय तथा स्थानीय सरकारका प्रतिनिधिबीच अन्तक्र्रिया कार्यक्रम भएको छ । सोमबार ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कार्यक्रम गरेको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कार्यक्रममा महिला सशक्तीकरणका लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको थियो । ‘महिला सशक्तीकरणको पहिलो सर्त आत्मनिर्भर हो’, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो– ‘आत्मनिर्भरका लागि आयआर्जन तथा उद्यमशीलतातर्फ उन्मुख हुन जरुरी छ ।’

सीप सिकेर, आफूले गर्ने र गर्न सक्ने तथा जान्ने कामका बारेमा जानकारी गराउँदै समाजमा सचेतना फैलाउन सशक्तीकरणको जरुरी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । महिलामाथि हुने विभेद तथा हिंसा न्यूनीकरणका लागि समाजका सबै पक्ष सचेत रहनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आयआर्जन हुने खालका उद्यमहरु सञ्चालन गर्न, घरायशी कामका अलावा व्यक्तिहरु सक्षम बन्न सीप सिक्न, वैदेशिक रोजगारमा जाने भए विस्तृत बुझेर मात्रै जान अनुरोध गर्नुभयो ।

जिल्लाका विभिन्न स्थानमा विभिन्न संघ–संस्थाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेका छन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले महिला सशक्तीकरणका आयाम, चुनौती र अवसरहरुका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महिला सशक्तीकरण र उद्यमशीलताका बारेमा क्षेत्रीय होटल संघका महासचिव ज्योत्सना सैंजुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । धुलिखेलमा मात्रै १ सय ५० जना महिला उद्यमीहरु सक्रिय रहेको बताउँदै सैजुले ८० वटा होटलमा ४ सय महिला कामदार कार्यरत रहेको जानकारी दिनुभयो । सिविक फोरमका कार्यकारी अधिकृत वसन्त कुँवरले वैदेशिक रोजगार र महिला कामदारको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

महिला कामदारहरु वैदेशिक रोजगारीमा जाने क्रममा ध्यान दिनुपर्ने कुराहरु, श्रम स्वीकृति तथा अन्य विषयमा ध्यान दिन अनुरोध गर्नुभयो । घरेलु तथा साना उद्योग महासंघ काभ्रेकी अध्यक्ष सुवासना श्रेष्ठले महिला घरेलु उद्योगमा सहभागी भए पनि राज्यले असहयोग गरेको बताउनुभयो । बजारको अभाव तथा घरेलु सामान महँगो हुने भएकाले प्रयोगमा समेत समस्या झेलिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेल उपप्रमुख विमला शर्मा, नमोबुद्ध उपप्रमुख रामदेवी तामाङ, बेथाञ्चोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तोला, प्रहरी प्रमुख एसपी चक्रराज जोशीलगायतले नारी दिवसको अवसरमा लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाला निकायको दायित्व र भूमिकाका बारेमा धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरीका एसपी सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धानका प्रमुख एसपी नगेन्द्र दाहाल, विभिन्न कार्यालयका महिला कर्मचारीहरु, सहकारीका महिला सञ्चालक तथा कर्मचारीहरु, उद्योगी, व्यवसायीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्