ऐतिहासिक भोटे मेला शुरु



तुलसीपुर ।

तुलसीपुर–७ काला खोलामा ऐतिहासिक भोटे मेला आजदेखि शुरु भएको छ । मेलाको चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्तीले रानी केक काटेर उद्घाटन गर्नुभएको हो । मेलाको उद्घाटन गर्दै अध्यक्ष घर्तीले आर्थिक विकासका लागि ऐतिहासिक महत्त्व बोकेका स्थानीय मेलाको संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकेमा आर्थिक विकासको दिगो लक्ष्यलाई भेटाउन सहयोग पुग्ने बताउनुभयो ।

ऐतिहासिक महत्त्व बोकेको मेलाको महत्त्वलाई जोगाइराख्न स्थानीयले सक्रियता बढाउनुपर्ने बताउनुभयो । मेलाका संयोजक दीपक केसीको अध्यक्षता तथा चेम्बर अफ कमर्सका अध्यक्ष घर्तीको प्रमुख आतिथ्यराममा मेलाको शुभारम्भ गरिएको हो ।

शिव मन्दिर सञ्चालक समितिका अध्यक्ष एकराज ढकालको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर–७ का वडा सभापति ओमबहादुर वलीले मेलाको ऐतिहासिकतालाई जोगाइराख्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण आयोजक समितिका सांस्कृतिक सहसंयोजक प्रेम विवश घर्तीले गर्नुभएको हो ।

भोटे मेलाको महत्त्व के ?
पर्सेनीस्थित कालो खोलामा कुनै समय हिमाली भेग हुम्ला, जुम्लासम्मका मानिसहरू (भोटेहरू) घोडा लिएर मेलामा आउँथे । उनीहरू जाडो छल्न पुस माघमा दाङमा आउँथे । कालो खोलाको भोटे मेलामा भोटेहरू घोडा दौडाउँथे ।

सबभन्दा राम्रो दौडने घोडा खरिद गर्न साहु महाजन र जमिन्दार बीचमा  हानथाप चल्थ्यो । हिमाली भेगका मानिसहरू (जुम्ली, भोटेहरू) राडी, पाखीदेखि औषधीय गुण भएका जडिबुटीहरू ल्याएर बेच्ने गर्थे । भोटे मेला हिमाल, पहाड र तराईको संगम स्थल थियो । वर्ष दिनपछि बिछोडिएका मानिसहरू यही बेलामा भेटिन्थे ।

छिमेकी देश भारतको तुलसीपुरबाट व्यापारीहरू मेलामा सरसामान बेच्न आउँथे । मुख्य गरी उनीहरू नुन, तेल, मट्टितेलको व्यापार गर्थे । भेली (गुरु) मिठाइको पनि उत्तिकै व्यापार हुन्थ्यो । जेरी समोसा खुबै खपत हुन्थ्यो ।

दंगाली र आसपासका पहाडी जिल्लाहरू रोल्पा, सल्यान, रुकुमका मानिसहरू कृषि उपजहरू बेच्थे । ऐतिहासिक भोटे मेला पछिल्लो समय माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्दै गर्दा स्थानीय प्रहरी प्रशासनले नै सुरक्षाको कारण देखाउँदै २०५६ सालदेखि भोटे मेलामा प्रतिबन्ध लगायो ।

त्यसपछि फेरि केही वर्ष अघिदेखि मात्रै भोटे मेला ब्युँताउने प्रयास शुरु भएको हो । शिवरात्रिको अवसरमा भोटे मेला लाग्ने गर्दथ्यो तर यस वर्ष केही ढिला गरी शुरुवात भएको छ । सोमबारदेखि शुरु भएको मेला चैत ३ गतेसम्म सञ्चालन हुने मेला आयोजक शिव मन्दिर सञ्चालक समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्