सवारीसाधनको समस्या र बुद्धिको सदुपयोग



  • रमेशकेशरी वैद्य

एकपल्ट गल्ती भयो भने सहनु, आँखा चिम्लनु, माफ गर्नु हाम्रो दायित्व हो । तर बारम्बार मानिसले गल्ती दोहोर्याइरहन्छ भने त्यसको समाधान खोज्नु जरुरी हुन्छ । थाहा छैन, देश हाँक्नेहरु कुन उद्देश्य लिएर यो क्षेत्रमा आएका हुन् ? यहाँ हरसमय कुनै न कुनै बखेडा लिएर कलहमा नै दिन बितिराखेको छ । यी कारणहरुले गर्दा पनि सर्वसाधारणलाई नरमाइलो अनुभव हुन्छ । त्यसमाथि अखबार वा अन्य मिडियामा पनि सधैँ राजनीतिक लेख अनि राजनीतिक कलहले स्थान पाइरहेको देखिन्छ । कहिले त गफ मात्र वर्णन भइराखेको हुन्छ । यसको बदलामा सामाजिक समस्याका समाधानका बारेमा मिडियाले शिक्षाको रुपमा प्रस्तुत गर्नुपर्ने हो ।

अहिले मुलुकको हरेक क्षेत्रमा केही न केही विकास भई पनि राखेको छ । यो भन्दा बढी विकास हुनुपर्ने हो । राम्रो कानुन बन्नुपर्ने, सस्तो स्वास्थ्य उपचार र शिक्षा दिइनुपर्ने, रोजगार सृजना गर्नुपर्ने, महँगी नियन्त्रण अनि मनोरञ्जन स्थलको विकास हुनुपर्ने हो । साथै असुरक्षा र फोहोरमैला समाधान गर्नुपर्ने हो । तर हाम्रो मुलुकमा भगवान्को आशिर्वाद नभएको, सतीको सरापको करार नसिधिएको तथा स्वार्थी स्वभावका व्यक्तिहरु धेरै भएकाले सर्वसाधारणले आनन्दको अनुभूति गर्न पाएनन् । हाम्रो देशमा चित्त बनुझेका धेरै कुरा छन् । तीमध्ये सवारीसाधनको समस्या पनि एक हो । वास्तवमा हाम्रो देशको दुर्भाग्य भन्ने कि मानिसहरुको स्वार्थी सोच भन्ने, यसले गर्दा सबैलाई यो समस्याले सताइराखेको छ । यसमा ट्राफिकबाहेक सबै पक्षको दोष छ । जस्तै– सरकार, व्यक्ति आदिको सोच नबदलिनाले यस्तो भएको हो ।

किन सवारीसाधनको समस्या समाधान हुँदैन त ?

१) सर्वप्रथम हाम्रो देशको विडम्बना नै यहाँका सडकहरु सानो तथा साँघुरा छन् । पहिला–पहिलाका मानिसहरुले भविष्यको विचार नगरी स–सानो बाटो बनाएका कारण आज सर्वसाधारणले दुःख भोगिराखेका छन् । तर अब सबै पक्ष मिलेर यसको विकल्प खोज्नु जरुरी छ ।

२) हाम्रो देशमा जुन सरकार आए पनि किन पहिला आफ्नो फाइदा मात्र हेर्छन् ? अहिले बढ्दो जनसंख्याले सवारीसाधनको अत्यधिक चाप छ । यति धेरै सवारीसाधन हुँदा पनि सरकारले आयातमा बढावा दिइराखेको छ । अहिलेको ट्राफिक समस्यालाई हेर्दा यसको विकल्प खोज्नुपर्ने सरकारको दायित्व होइन र ? तर खोइ त ? सरकारमा रहेका व्यक्तिहरु कलहसिबाय यस्ता कुरामा ध्यान नै दिँदैनन्, जुन लाजमर्दो कुरा हो । अब भने सरकारले गाडी तथा मोटरसाइकलको आयातमा नियन्त्रण गर्नु जरुरी छ । यसबाहेक पुराना सवारीसाधनहरु चलाउन निषेध गर्नुपर्दछ । यसमा कडा कानुन तर्जुमा गर्ने हो भने यो समस्या बिस्तारै कम हुँदै जानेछ ।

३) अहिलेको परिप्रेक्ष्यमा सडक, बाटोघाटोको कुरा गर्दा ट्राफिक प्रहरीहरुको कार्य राम्रो भए तापनि त्यस्ता कार्यलाई निरन्तरता दिएको देखिँदैन । जस्तै– जथाभावी बाटो काट्नेहरुलाई विगतका समयमा एक घण्टा उठाएर राख्ने चलन थियो । त्यसपछि नियम उल्लंघन गरेर जथाभावी बाटो काट्नेहरुलाई रु. २०० जरिवाना कायम गरेर राम्रो सिस्टम बसाएको थियो । तर पछि यो प्रक्रिया बन्द भयो । यसले गर्दा अटेरी, अल्लारे व्यक्तिहरु झनै जथाभावी बाटो काटेर हैरान गर्न थालेका छन्, जसले गर्दा पनि दुर्घटना बढेको छ । त्यसै गरी मोटरसाइकल चालकलाई मापसे चेक गरिन्थ्यो । अहिले कहीँ यसरी चेक गरेको देखिँदैन । मोटरसाइकल चालकलाई हरेक एङ्गलले चेक गरी जथाभावी कुदाउन नियन्त्रण गर्नुपर्छ । त्यसकारण ट्राफिक प्रहरीहरु यसतर्फ फेरि कडा हुनु जरुरी छ ।

४) अहिलेको घडीमा सरकारले देशमा पर्याप्त मात्रामा सर्वसाधारणका लागि व्यापक सिटी बसहरु सञ्चालन गरिदिनुपर्दछ । यसबाहेक सर्वसाधारणका लागि ब्याट्रीवाला सस्तो स्कुटी र साइकल प्रयोगमा ल्याउने व्यवस्था गर्नुपर्दछ । यसले गर्दा मोटर तथा मोटरसाइकलको प्रयोग कम हुँदै जानेछ । मुलुकमा जनसंख्या बढ्दै गएका कारण सवारीसाधन बढ्नु स्वाभाविक हो, साथै दुर्घटना पनि । त्यसकारण यस्तो अवस्थामा सरकार, ट्राफिक प्रहरी, व्यक्ति सबैले राम्रो मनसाय लिएर परिवर्तन हुनुपर्दछ । अन्यथा यो समस्या सबैको हो र आउने पुस्ताले सवारीका कारण झन् दुःख पाउन सक्छन् ।

५) अहिले राजधानीको कुरा गर्दा बढ्दो सवारीका कारण ट्राफिक व्यवस्थापनले राम्रा–राम्रा व्यक्तिलाई लिएर एकतर्फी, दुईतर्फी सवारी सञ्चालन गर्ने सिस्टम बसाउनुपर्छ, जुन अहिले राम्ररी कार्यान्वयन भएको छैन । यसमा ट्राफिक र अन्य व्यक्ति दुवै पक्ष दोषी छन् । ट्राफिक प्रहरीहरु चाहिने ठाउँमा बसिदिँदैनन् भने व्यक्तिहरु जथाभावी सवारीको नियम उल्लंघन गरिराखेका हुन्छन् । यस्तो अवस्थामा असन, इन्द्रचोक, भेडासिङ, बाङ्गेमुढा, टेंगल, नरदेवी आदी ठाउँमा पनि ट्राफिकहरु हरसमय हुनुपर्दछ । अब ट्राफिक प्रहरी व्यवस्थापनले यसतर्फ ध्यान दिनै पर्छ ।

६) अहिले देशको ठूलो ट्राफिक समस्यामा एउटा पार्किङ समस्या पनि हो । यसलाई कम गर्ने हो भने पहिला धेरै सवारीको आयातमा कम गर्नुपर्छ । अर्को कुरा व्यक्तिहरुले टाढाको गन्तव्य र अत्यावश्यक काममा बाहेक साइकलमा वा पैदल हिँड्ने बानी बसाउनुपर्छ । यसो गर्नाले सवारी जामको समस्यामा कमी, जीउको व्यायाम, दुर्घटनामा कमी, आर्थिक हिसाबले पनि फाइदा हुन्छ । यी कुराहरुलाई सवारी चालकहरुले ठण्डा दिमागले सोचेर प्रयास गरौं । संसारमा असम्भव भन्ने कुनै कुरा छैन ।

७) आजभोलि प्रायः शहरका सडकहरुमा सवारी जाम समस्या धेरै छ । किनकि साँघुरो सडकमा पार्किङ, सडक मिचेर घर निर्माण, चौपाया पशुहरु छोड्ने, फोहोर थुपार्ने, सडकमा खाल्टाखुल्टी हुने आदि कारणले ट्राफिक जाम हुने गर्दछ । यस्ता समस्याको समाधान गर्न सम्बन्धित निकाय र समाजले प्रयास गर्नुपर्दछ । सम्बन्धित निकाय कडा हुनुपर्दछ भने समाजमा राम्रो मानिसले ढिड स्वभावका मानिसलाई सिकाउने र सम्झाउने गर्नुपर्दछ ।

८) अहिले ट्राफिक सिग्नलहरु फेरि सञ्चालनमा आउन थालेका छन् । यो राम्रो कुरा हो तर यसलाई बेला–बेलामा मर्मत गरी निरन्तरता दिनु आवश्यक छ । यसबाहेक ट्राफिक प्रहरीले सवारी चालकहरुलाई बेला–बेलामा सवारीसम्बन्धी शिक्षा दिइराखेका छन्, जुन अपुग छ । समग्रमा भन्नुपर्दा, मुलुकमा आफैंले द्रुत विकास गर्नुपर्छ । यसका लागि समाज र बुद्धिजीवीहरु परिवर्तन हुनु जरुरी छ । अन्यथा मुलुकमा टाइम पासको हिसाबले समय बरबाद भइराखेको छ हाम्रो । देशको सुनौलो भविष्य कोर्ने हो भने समाज र यहाँका बुद्धिजीवीहरु तातिनु नै पर्छ । एक–अर्कालाई दोष दिने संस्कार त्याग्नुपर्दछ । अनि मात्र मुलुक राम्रो हुनेछ, हरेक दष्टिकोणले ।

प्रतिक्रिया दिनुहोस्