मन्त्री झाँक्रीद्वारा सिंहदरवारभित्र बन्ने सेनाको नयाँ भवन शिलान्यास (फोटो फिचर)



मधुसूदन रायमाझी, काठमाडौं ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार परिसरभित्र निर्माण हुन लागेको नेपाली सेनाको नयाँ चण्डी दल भवनको शिलान्याश गर्नुभएको छ । सिंहदरवारको पश्चिम खण्डमा निर्माण हुन लागेको आधुनिक भवनको मन्त्री झाँक्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वानाथ पौडेलले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ४३ रोपनी ६ आना रोपनी क्षेत्रफलमा चण्डी दल गणको भवन निर्माणको काम अघि बढाएको हो ।

आगामी दुई बर्षभित्र भवन निर्माण सम्पन्न हुने लक्ष्य आयोजनाले लिएको छ । सिंहदरवारभित्र हाल संघीय संसद भवन निर्माण भइरहेको स्थलमा यसअघि चण्डी दल गण रहेको थियो । संसद भवन निर्माणसँग जोडिको क्षेत्रमा मन्त्रालयले आधुनिक र सुविधा सम्पन्न भवन निर्माणको काम सुरु गरेको छ ।

नयाँ भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले तोकिएको समयभित्र नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयको तर्फबाट समयसीमा अघि नै सम्पन्न गर्नको लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउदै उहाँले सिंहदरवारभित्र बन्न लागेको आयोजना ढिला सुस्ती भएको अवस्थामा निर्माणको क्षमता माथि नै प्रश्न उठने बताउनुभयो ।

भवनलाई समयमा नै सम्पन्न गर्न सबैले जिम्मेवारपूर्वक काम गरौ, यो महत्वपूर्ण आयोजना हो, शहरी विकास मन्त्रालयले नेपाली सेनासँग समन्वय गरेर काम गर्ने अवस्था सृजना भएको छ,उहाँले भन्नुभयो ।

सरकारी निकायहरुबीच समन्वयका अभाव रहेको उल्लेख गर्दै मन्त्री झाँक्रीले सबै पक्षसँग समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले चण्डी दल गणको नयाँ भवन आगामी २२ महिनाभित्र नै सम्पन्न हुने बताउनुभयो । शहरी विकास मन्त्रालय विभाग र आयोजनाबाट निर्माण व्यवसायीलाई पूर्ण रुपमा सहयोग हुने बताउदै उहाँले गुणस्तरीय ढंगले नयाँ भवन तोकिएकै समयभित्र सम्पन्न गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी रक्षा सचिव किरणराज शर्मा सुरक्षा विना विकास र शान्ति प्राप्त नहुने भएकाले समग्र सिंहदरवारको सुरक्षाको लागि चण्डी दल गणको नयाँ भवन निर्माण हुन सुखद विषय भएको बताउनुभयो ।

भुकम्पबाट पीडित नेपाली सेनाका जवानहरु अहिले रक्षा मन्त्रालयको छिडीमा बसिरहेको र समयमा नै नयाँ भवन निर्माण भएपछि बस्नको लागि सहज हुने उहाँले बताउनुभयो । देशको रक्षा गर्ने संस्थाको फाउण्डर पिलर बसोबास हो, शहरी विकास मन्त्रालयले उच्च प्राथमिकता दिएर भवन निर्माणको काम अगाडि बढाएको छ, समयमा नै सम्पन्न होस, शर्माले भन्नुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले २०८० साल पुस २५ गतेसम्म समय रहेपनि त्यस भन्दा अघि नै भवन निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । विभागको तर्फबाट निर्माणको क्रममा गर्नुपर्ने निर्णय समयमा नै हुने बताउदै मैनालीले समयमा सम्पन्न हुनेमा विभाग प्रतिबद्ध रहेकोजस्तै अरु स्टेक होल्डर पनि प्रतिबद्ध हुन जरुरी रहेको बताउनुभयो ।

नेपाली सेनासँग नयाँ भवन संहिताको बारेमा टेक्निकल कुरामा पनि सहकार्य गर्न तयार रहेको बताउदै उहाँले राष्ट्रिय भवन संहिता २०६० को कार्यान्वयन गर्ने निकाय पनि मन्त्रालय अन्तर्गतको विभाग रहेको बताउनुभयो । नयाँ भवन समयमा नै सम्पन्न गर्न समय–समयमा अनुगमन गरेर आवश्यक समन्वय र निर्देशन दिने काम विभागले गर्छ, उहाँले भन्नुभयो ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दीलिपशेखर श्रेष्ठले निर्माण हुन लागेको पाँच तले नयाँ भवनमा ७०२ जना नेपाली सेनाका जवान बस्ने गरी डिजाइन गरिएको बताउनुभयो । नेपाली सेनालाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार सहित डिजाइन गरिएको उल्लेख गर्दै उहाँले ४३ रोपनी ६ आना क्षेत्रफल मध्ये १० प्रतिशत भवन र बाँकी खुला क्षेत्रको रुपमा रहने जानकारी दिनुभयो ।

भवनलाई आधुनिक र प्रविधिमैत्री रुपमा निर्माण गर्न लागिएको बताउदै श्रेष्ठले समयसीमाभित्र नै सम्पन्न गर्न आयोजनाले विशेष ध्यान दिने बताउनुभयो । भवन निर्माणमा कुनै समस्या नआउने बताउदै उहाँले नयाँ भवन निर्माण सम्पन्न भएपछि नेपाली सेनालाई सहज हुने बताउनुभयो ।

भवन निर्माणको जिम्मेवारी संघीय संसद भवन निर्माणको जिम्मेवारी पाएको टुन्ड्री निर्माण सेवाले पाएको छ । टुन्ड्री/रसुवा/बिकोइ जेभीका आधिकारिक प्रतिनिधि सुमन सुवेदीले नयाँ भवन समयसीमा नै निर्माण गरिने बताउनुभयो ।

संघीय संसद भवनमा निर्माण गरिएको नयाँ टेक्नोलोजी प्रयोग गरेर चण्डी दल गणको भवन निर्माण गरिने बताउदै समयसीमा भित्र नै सम्पन्न गरेर हस्तान्तरण गरिने बताउनुभयो । विभाग र निर्माण व्यवसायीबीच भवन निर्माणको लागि ६५ करोड ९५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्