कांग्रेसभित्र काठमाडौं महानगरका दाबेदारहरू



काठमाडौं ।

स्थानीय तहको निर्वाचन हुने मिति नजिकिएसँगै राजधानीको मुटुमा रहेको काठमाडौं महानगरपालिकाको नेतृत्वमा कसको दाबी रहने भन्नेमा प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसभित्र चर्चा शुरू भएको छ ।

गत निर्वाचनमा कांग्रेसबाट प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्कीले उम्मेदवारी दिनुभएको थियो । प्रमुखमा राप्रपासँग तालमेल गरी निर्वाचनमा होमिएको एमालेका विद्यासुन्दर शाक्यले निर्वाचन जिते पनि उपप्रमुखमा भने खड्कीले विजयी हासिल गर्नुभएको थियो । अहिले ३२ वडामध्ये १४ वटा वडामा कांग्रेसको नेतृत्व छ ।

गत निर्वाचनमा उपप्रमुख मात्र जितेको कांग्रेसले यसपटक महानगरपालिकाको प्रमुख नै हत्याउने रणनीति बनाउँदै आन्तरिक एकताका साथ उम्मेदवार चयन गर्ने जनाएको छ । गुटउपगुटमा विभाजित कांग्रेसभित्र महानगरका लागि धेरै आकांक्षी छन् । पछिल्लो समय महानगरपालिकाको प्रमुखका लागि प्रगतिमान रञ्जित, हरिप्रभा खड्की, नीलकाजी शाक्य, तीर्थराम डंगोललगायत दाबेदारका रूपमा देखिएका छन् ।

यीमध्ये रञ्जित संस्थापन पक्षका हुन् भने खड्की र शाक्य प्रकाशमान सिंह पक्षका हुन् । डंगोल कृष्णप्रसाद सिटौला पक्षका भए पनि संस्थापन पक्षतिर पनि नजिक रहेका नेता हुन् । महानगरपालिकाको प्रमुख र उपप्रमुखको टिकट कांग्रेस केन्द्रीय संसदीय समितिले वितरण गर्ने हो । संसदीय समिति अहिलेसम्म बनेको छैन ।

आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको नेतृत्वका लागि सांसद भीमसेनदास प्रधानको चर्चा भए पनि उहाँले स्थानीय तहमा उम्मेदवार नहुने स्पष्ट पार्नुभएको छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रधानले भन्नुभयो– ‘काठमाडौं महानगरपालिकामा म उठे चुनाव जित्छ भनेर चर्चा भएको हो तर म क्षेत्र छोडेर नगरमा जाँदिनँ ।’ कांग्रेस जिल्ला सभापति सबुज बानियाँ प्रधान काठमाडौं महानगरपालिकामा पठाउन पाए काठमाडौं क्षेत्र नम्बर ६ को मैदान आफ्ना लागि खाली हुने भन्ने रणनीतिमा हुनुहुन्छ । रक्षामन्त्रीसमेत भइसकेका सांसद प्रधानले स्थानीय तहमा उम्मेदवारी नदिने स्पष्ट पारेसँगै अन्य चर्चामा रहेका अनुहारहरूको सम्भावना बढ्दै गएको छ ।

तीन लाखभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हाल्नु अन्य नगरको तुलनामा कम चुनौतीपूर्ण छैन । स्थायी बसोबास गर्नेको संख्या करिब १५ लाख रहेको काठमाडौंभित्र अस्थायीसमेत गरी ३० लाखभन्दा बढी मानिस बसोबास गर्ने अनुमान छ । आकांक्षी नेता प्रगतिमान रञ्जित अघिल्लो निर्वाचनमा तीन आकांक्षीमध्ये आफ्नो नाम पनि रहेको भन्दै यसपटक आफूले टिकट पाउनेमा ढुक्क रहेको बताउनुहुन्छ । २०४३ सालदेखि पार्टी संगठनमा क्रियाशील रञ्जित पार्टी संगठनभित्र आफूलाई इमानदार र सक्रिय नेताका रूपमा सबैले चिन्ने दाबी गर्नुहुन्छ ।

यसअघिको निर्वाचनमा ३२ वडामध्ये काठमाडौं महानगरभित्र कांग्रेसले नेतृत्व गरेको वडाहरूमा पनि प्यानल नै विजयी भएको छैन । अहिले बाँकी १८ वटा वडामा कांग्रेसको नेतृत्व नै छैन । आगामी निर्वाचनमा आन्तरिक एकताका साथ निर्वाचनमा जान नसके गुटउपगुटमा विभाजित कांग्रेसलाई काठमाडौं फलामको च्युरा हुने भन्दै कांग्रेस कार्यकर्ताले उम्मेदवारी चयनमा आन्तरिक एकतालाई जोड दिँदै आएका छन् ।

२०७४ सालको निर्वाचनमा काठमाडौं महानगरपालिकामा वडाध्यक्षहरूले प्राप्त गरेको मत यस्तो थियो


२०७४ सालको निवाचनमा काठमाडौं महानगरमा २ लाख ७९ हजार ५ सय ७५ मतदाता थिए । गत निर्वाचनको तुलनामा अहिले २१ हजार मतदाता थपिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्