रापबोर्डमा बेथिति : एउटै पदमा १२ वर्ष



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डका उच्च अधिकारीको पेलाइमा परेका उप–सचिवहरू एउटै पदमा १२ वर्षसम्म जागिर खान बाध्य भएका छन् । बोर्डका अध्यक्ष र सदस्य सचिवले बढुवाको फाइल अघि नबढाउँदा उनीहरू बिचल्लीमा परेका हुन् ।

वर्षौंसम्म एउटै पदमा बसेर दिक्क भएका उनीहरूले मापदण्ड बनाएर बढुवा गर्न माग गरिरहेका छन् । तर बोर्डका सदस्य सचिव दुर्गा अर्यालले मन्त्रालयका कारण बढुवा गर्न नसकिएको बताउनुभएको छ । तर बोर्ड स्रोतले भने अध्यक्ष र सदस्य सचिवले तत्काल बढुवा गर्न नचाहेका कारण लामो समयदेखि बढुवाको प्रतीक्षामा रहेका सुब्बादेखि उप–सचिवसम्मका दर्जनांै कर्मचारी बढुवा हुनबाट वञ्चित भएको बताएको छ । एक उप–सचिवले भने– ‘आफूसँगै निजामती र प्रशासन सेवामा काम गरेका साथीहरू सहसचिव भइसकेका छन् । आफू भने १२ वर्षदेखि उप–सचिवमै बस्न बाध्य छु ।’

करिब ७ वर्षदेखि सदस्य सचिवको जिम्मेवारी सम्हालेका सहसचिव अर्याल हाल बढुवा हुन नसकेका उप–सचिव गोविन्द खनियासँगै २०५३ साल पुस २ गते तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को सेवामा प्रवेश गर्नुभएको हो । उहाँसँगैका कर्मचारी गोविन्द खनिया अहिले पनि उपसचिवमै थन्किनुभएको छ । एक उप–सचिवले नेपाल समाचारपत्रसँग गुनासो पोखे–‘हामी १२ देखि १७ वर्षसम्म एउटै पदमा काम गर्न बाध्य भएका छौं । न बढुवा हुन्छ न त काम गर्ने अवसर नै पाइन्छ ।’

यसअघिका रापबोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल र सदस्य सचिव अर्यालले केही उप–सचिवलाई सहसचिवमा बढुवा गर्ने आशा देखाउनुभएको थियो । तर बढुवाको विषयमा उहाँहरूबाटै पहल नभएको एक उपसचिवको भनाइ छ । सदस्य सचिवले मन्त्रालयसँग समन्वय नगरेकै कारण समस्या परेको अधिकांश पीडित कर्मचारीको गुनासो छ ।

ती कर्मचारी भन्छन्– ‘उहाँले कर्मचारीको पीडाको विषयमा जानकारी गराएको भए त हामी उहिल्यै बढुवा हुने थियौं ।’ बोर्डको तथ्यांकअनुसार उपसचिव खनिया १२ वर्षदेखि एउटै पदमा हुनुहुन्छ । बोर्डले सहसचिवको दरबन्दी भएको महाशाखामा उपसचिवलाई निमित्त सहसचिव सरह निमित्त प्रमुखको जिम्मेवारी दिएको छ ।

उपसचिव डम्बरकुमार बतास, भवराज कोइराला, वेदनाथ अधिकारी, उत्तमदेव विष्ट, भाष्करदत्त पन्त, जयन्ती सत्याल, रमाकान्त तिवारी र कृष्णप्रसाद शर्मामध्ये अधिकांश २०६६ सालमा अधिकृतबाट उप–सचिवमा बढुवा हुनुभएको हो । रापबोर्डमा वर्षौंसम्म बढुवा नभएका कर्मचारीको दुखेसो छ– ‘जागिर छाडौं, उमेर गइसक्यो, नछाडांै आफूसरहका साथीहरू सहसचिव भइसकेका छन् ।’

भर्खरै रापबोर्डको अध्यक्षमा नियुक्ति भएका अध्यक्ष डा. महाश्रम शर्माले लामो समयसम्म बढुवा हुन नसकेका कर्मचारीको विषयमा आफू गम्भीर रहेको बताउनुभएको छ । भेटका क्रममा उहाँले भन्ने गर्नुभएको छ– ‘तपाईंहरूको गुनासो सुनेर चाँडै समस्या समाधान गर्नेछौं ।’ चितवनमा सम्पन्न एक गोष्ठीमा अधिकांश वरिष्ठ कर्मचारीले तत्काल बढुवा हुनुपर्ने माग गरेका थिए ।

रापबोर्डको ६ दिनअघि अर्थात् फागुन १८ गते बसेको बैठकले रापबोर्डका कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी विनियम–२०७६ मा संशोधन गर्न समिति बनाउने निर्णय गरेको थियो । बोर्डको बैठकमा समिति बनाउने विषयमा छलफल भयो तर निर्णय हुन सकेको थिएन । कसको संयोजकत्वमा समिति बनाउने भन्ने विषयमा निर्णय हुन सकेको छैन ।

एक उपसचिवले दिए राजीनामा
पटकपटक बढुवा गर्ने आश्वासन पाएर दिक्क भएका राष्ट्रिय परीक्षा बोर्डका उपसचिव डा. रामचन्द्र पाण्डेले फागुन १९ गते राजीनामा दिनुभएको छ । उप–सचिवमध्ये तेस्रो नम्बरमा रहनुभएका डा. पाण्डे रापबोर्डको योजना अनुसन्धान तथा गुणस्तर तथा शासकीय सुधार महाशाखाको प्रमुखका रूपमा कार्यरत रहनुभएको थियो ।

करिब १५ वर्षअघि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्मा सेवा प्रवेश गरेका पाण्डेले रापबोर्डको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको थियो । बोर्डको काम कारबाहीप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएका पाण्डे रापबोर्डले सहसचिवमा बढुवा गर्नुपर्दा दोस्रो नम्बरमा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्