फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा



काठमाडौं (नेस) ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोविघाटका दुईमध्ये एउटा फोहोरपानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोर पानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यस केन्द्रबाट फोहोरपानी प्रशोधनको परीक्षण कार्य आगामी साउन महिनाभित्रमा शुरु गर्ने कार्यक्रम रहेको छ ।

धोविघाटस्थित यो केन्द्र र यहाँ नै निर्माणका क्रममा रहेको अर्को फोहोरपानी प्रशोधन केन्द्रको क्षमता प्रति केन्द्र प्रतिदिन ३ करोड ७० लाख लिटर रहेको छ । यसैगरी, कोड्कु (बालकुमारी) मा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको क्षमता प्रतिदिन १ करोड ७५ लाख लिटर फोहारपानी प्रशोधन गर्ने रहेको छ । भक्तपुरको सल्लाघारीमा पनि प्रतिदिन १ करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन क्षमता भएको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य जारी रहेको छ । यसअघि, गुहेश्वरीमा निर्माण सम्पन्न भएको दैनिक ३ करोड २४ लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्र हाल संचालनमा रहेको छ ।

डिजाइन, निर्माण र संचालनको अवधारणाअन्तर्गत निर्माण सम्पन्न भएको र निर्माणाधीन केन्द्रहरूको कूल क्षमता प्रतिदिन १० करोड ५७ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने रहेको छ । जसअनुसार, गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ भने सल्लाघारी फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक १ करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन गरी हनुमन्ते नदीमा, कोड्कु (बालकुमारी) केन्द्रबाट १ करोड ७५ लाख लिटर फोहारपानी प्रशोधन गरी मनोहरा नदीमा र धोबिघाट फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक ७ करोड ४० लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह गरिनेछ ।

यस्तै, गोकर्णमा ३० लाख लिटर क्षमता र हनुमानघाटमा १० लाख लिटर क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माणका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । काठमाडौं उपत्यकाका घरपरिवारबाट खानेपानीको उपभोगपछि झण्डै ८० प्रतिशत पानी फोहोरपानीका रूपमा उत्सर्जन भई नदी तथा खोलामा मिसिन जाने भएकाले नदी तथा खोलाको मुहानदेखि नै फोहारपानी मिसिन नदिई नदी तथा खोलाहरूमा स्वच्छ एवम् सफापानीको बहावलाई निरन्तरता दिनका लागि ठूला तथा साना क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो ।

मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि भित्रिने दैनिक १७ करोड लिटर र त्यसपछि याङ्ग्री तथा लार्के खोलाबाट दैनिकरूपमा भित्रिने १७/१७ करोड लिटर गरी कूल ५१ करोड लिटर तथा स्थानीय स्रोतबाट उत्पादित उल्लेख्य परिमाणको खानेपानी उपभोग एवम् प्रयोगपछि झण्डै ८० प्रतिशत फोहोरपानीका रूपमा बिसर्जन हुने भएकाले थप फोहोरपानी प्रशोधन केन्द्रहरू निर्माण गर्नु आवश्यक रहेको आयोजनाले जनाएको छ ।

साथै, ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा गरी करिब ८ किलोमिटर ढल सञ्जाल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । आगामी सन् २०३० सम्ममा काठमाडौं उपत्यकामा वृद्धि हुने जनसंख्या र बढ्दो खानेपानीको मागका आधारमा प्रतिदिन करिब ४९ करोड लिटर फोहोरपानी उत्सर्जन हुने अनुमान गरिएको छ । हाल काठमाडौं उपत्यकामा दैनिकरुपमा करिब २३ करोड लिटर फोहोरपानी उत्सर्जन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्