चुनावमा तालमेल हुँदैन : कोइराला



विराटनगर ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको बताउँदै आगामी तीन तहको निर्वाचनमा एक्लाएक्लै चुनावमा जाने बताउनुभएको छ । विराटनगरमा हिजो शनिबार आयोजित वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै कोइरालो यस्तो बताउनुभएको हो । ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्रै हो’, कोइरालाले भन्नुभयो– ‘जिल्ला जिल्लामा नेताहरू एक्लै लड्नुपर्छ भन्छन् । कांग्रेसको सिद्धान्त कम्युनिस्टहरूलाई भोट हाल्ने होइन । कांग्रेस प्रदेश, संघ वा स्थानीय चुनावमा एक्लै लड्छ ।’

उहाँले ३० वैशाखमा स्थानीय तहको निर्वाचन भएरै छाड्ने बताउनुभयो । ‘७५३ वटै पालिकामध्ये अधिकांशमा हामी जित्यौं भने प्रदेश र संघमा पनि जित्छौं’, कोइरालाले भन्नुभयो– ‘मोरङका सबै पालिका जित्ने अवस्थामा हामी छौं ।’ उपसभापति धनराज गुरुङले गठबन्धनका अन्य दलहरुलाई ‘हात्तीको कानमा झुन्डिएको चमेरो’ भन्दै निर्वाचनसम्म गठबन्धन गर्नुपर्छ भन्ने अन्य दलको चर्को आलोचना गर्नुभयो । ‘कांग्रेस हात्ती हो । कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ । हात्तीको ठूलो कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्’, गुरुङले भन्नुभयो– ‘हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ ।’

उहाँले चुनावमा कसैलाई हार्छु जस्तो लाग्नु उसको कमजोरी भएको र स्वार्थमा सवार भएर गठबन्धन गर्नु कांग्रेसका लागि हानिकारक भएको बताउनुभयो । ‘कसैलाई हार्छु कि भन्ने लाग्छ भने त्यो उसैको कमजोरी हो’, उहाँले माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै भन्नुभयो– ‘स्वार्थमा सवार भएर एकता वा गठबन्धन गर्नु आवश्यक छैन ।’

कांग्रेस महामन्त्री गगन थापाले पनि कम्युनिस्टहरुप्रति चर्को आलोचना गर्दै माले, मण्डले र मसाले एकै हुन् भन्दै लामो व्याख्या गर्नुभयो । ‘समाजमा माले, मण्डले र मसाले एकै हुन्’, थापाले भन्नुभयो– ‘कांग्रेस रक्षात्मक भएर होइन, ५ वर्ष शासन चलाउने भनेर दुई तिहाइ मत लिएको कम्युनिस्ट पार्टीले यसपटक धेरै जवाफ दिनुपर्नेछ ।’

पाँच वर्ष शासन गर्छु भनेर दुईतिहाइ नजिकको मत लिएर आएको नेकपाले शासन सत्ता चलाउन ढंग नपुर्याएको कारण २३ सिट जितेर पनि कांग्रेसले सत्ता चलाउनुपर्ने बाध्यात्मक अवस्था आइपरेको उहाँले बताउनुभयो । ‘पाँच वर्ष शासन गर्छु भन्ने तत्कालीन नेकपाले तीन वर्ष पुग्दानपुग्दै एक थरी घर पोलेर खरानी घस्दै नाच्न थाले, अर्को थरी हामीलाई घरबाट लखेटियो भन्दै लाइन लागेर सरकार चलाइदिनुप¥यो भन्दै कांग्रेसलाई अनुरोध गर्न आए । त्यही कारण २३ वटा सिट जितेको कांग्रेसले केन्द्र सरकार चलाउनुपरेको छ ।’

थापाले वैशाख ३० गतेको निर्वाचन १ दिन पनि तलमाथि नहुने बताउँदै संसद् चल्नै नसक्ने अवस्थामा वा बीचैमा संसद् विघटन भए पनि स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभयो । उहाँले चैत मसान्तसम्ममा कांग्रेसले सबै स्थानीय तहका उम्मेदवारको नामावली फाइनल गर्ने पनि दाबी गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. मीनेन्द्र रिजालले पनि गठबन्धन गरेर चुनावमा जान नहुने भन्दै माओवादी र नेकपा एसको तीव्र आलोचना गर्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो जहाजमा बसेर केही साथीहरू सवार गर्न खोजिरहनुभएको छ, निर्वाचन जित्ने अनि सत्तामा जाने कुरा कल्पना गरिरहेका होलान्, त्यस्तो कल्पना नगर्नुहोस् ।’ उहाँले कांग्रेसले आफूले मेहनत गर्ने र माओवादी, समाजवादी वा जसपाले पनि आफ्नो मेहनत गर्नुपर्नेमा जोड दिनुभयो । उद्यपि, उहाँले गठबन्धनले केही नेताको संवेदनशीलतालाई ख्याल गरेर केही ठाउँमा तालमेल हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीनै तहमा पूराका पूरा गठबन्धन हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्